शुक्रबार, बैशाख ०७, २०८१

गुन्मा केनका गभर्नर र नेपाली साँझा समाज जापानका पदाधिकारीबिच भेटवार्ता,बुद्धको प्रतिमा प्रदान

जापान । गुन्मा केनका गभर्नर यामामोतो इचिता र नेपाली साँझा समाज,जापानका पदाधिकारीबीच गत शुक्रबार गुन्मा केन मुख्यालयमा भेटबार्ता सम्पन भएको छ ।

केनकोतर्फबाट गभर्नर र २ उप गभर्नर तथा अन्य मुख्य कर्मचारीहरु उपस्थित थिए । नेपाली साँझा समाज, जापानबाट अध्यक्ष बुद्धि शेरचन ,सल्लाहकार रन्जय अमात्य र महासचिब निरज गुरुङ उपस्थित उक्त भेटबार्तामा गभर्नरले कोरोना नियन्त्रणमा समाजले खेलेको भूमिका प्रति धन्यबाद ज्ञापन गर्दै कोरोनाको सवालमा मात्रै नभई अन्य बिबिध बिषयहरुमा आउने दिनमा कसरी समाजसँग अझ सम्बन्ध मजबुत बनाएर अघि बढ्न सकिन्छ भन्ने बारे आफ्नो योजना विचारहरु प्रस्तुत गर्दै समाजको रायसुझाब प्रस्तुत गर्न अनुरोध गर्नुभएको नेपाली साझा समाज जापानका अध्यक्ष बुद्धि शेरचनले जानकारी दिनुभयो ।

समाजको तर्फबाट स्थानीय सरकारसँग हातेमालो गर्दै अघि बढ्न हरपल तयार रहेको अवगत गराउदै समाज स्थापनाको उद्धेश्य,कार्यहरु र भबिश्यको योजनाबारे तथा हाल गुन्मा केनमा बिदेशीहरु मुख्य गरि नेपालीहरुले भोगिरहेको समस्याहरु बारे लिखित र मौखिक दुवै रुपमा गभर्नरलाई अवगत गराईएको थियो ।

गभर्नरले नेपाल र नेपालीबारे संयुक्त रास्ट्रसंघीय संस्था यूएनडिपीमा काम गर्दा धेरै ज्ञान बटुलेको बताउदै आगामी दिनमा नेपाल र नेपालीसँग अझ बढी नजिक भएर काम गर्न चाहेको जनाउदै छिटै जापानस्थित नेपाली राजदुतसँग भेट गर्न टोकियो जाने र राजदुतलाई गुन्मा केनमा निमन्त्रणा गर्ने बताउनुभएको थियो ।
जनसंख्याको हिसाबले नेपाली गुन्मा केनमा छैटौ नम्बरमा रहेको भए पनि गभर्नरले नेपालीलाई पहिलो प्राथमिकता दिदै गुन्मा केनमा सक्रिय बिदेशी संघ संस्थासँग पहिलो भेट भएको बताउदै स्थानीय सरकार र बिदेशी संस्था बीच सहकार्यको एक नमुनाको रुपमा यसलाई विकास गर्ने र आगामी दिनमा अरु देशका संघसंस्थाहरुसँग पनि यस्तै सम्बन्ध कायम गर्दै जाने बताउनुभएको थियो ।

गुन्मा केनको गभर्नरले केनलाई थप बिदेशी मैत्री बनाउन बिभिन्न भाषामा जुनसुकै समस्या परामर्श गर्न सकिने वानस्टप परामर्श केन्द्र खोलिएको र बिदेशी मैत्री स्थानीय कानुन लागु गर्ने योजना लगायत थप कदम चाल्ने योजना रहेको बताउनुभएको थियो ।

नेपालीहरुको तर्फबाट समाजका अध्यक्ष बुद्धि शेरचनले गभर्नरलाई बुद्धको जन्मस्थल नेपाल उल्लेख गरिएको बुद्धको प्रतिमा प्रदान गरिएको थियो ।