प्रवासी नेपालीहरुलाई ओलीको सन्देश: पार्टी विभाजन भएको छैन

जापान । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजन नभएको र विभाजन हुन नदिने बताएका छन् । आज शुक्रबार नेकपा सम्बद्ध प्रवासी नेपाली एकता मञ्च ओली समुहको भर्चुअल संवादमा ओलीले भने– पार्टी विभाजन भएको छैन । यो पार्टी विभाजन हुन दिइन्न । केही मान्छे मैले रोकेर राख्न सकिन । केही मान्छे पद नपाएर सडकमा गएका हुन् । उनीहरुको पदको हतारो मैले सम्बोधन गर्न सकिन ।

ओलीले पार्टी विभाजन नभएको भन्दै प्रथम अध्यक्षको हैसियतले बैठक बोलाएको र केही व्यक्ति बैठकमा नआएको बताए । महासचिव र अध्यक्षले बोलाएको बैठक नै आधिकारिक भएको भन्दै ओलीले अझै पनि प्रचण्ड–माधव नेपालहरु अर्को बैठकमा आउन सक्ने बताए ।

ओलीले भने– अहिले पनि पार्टीमा बैठकमा आउन सक्नुहुन्छ । फेरि बैठक बोलाउँछु, उहाँहरु आउनुस्, बसौं, छलफल गरौं, उहाँहरुको जस्तो प्रथम अध्यक्षलाई सदस्यबाट निकाल्यौं भन्ने जगहँसाइ हामी गर्दैनौं । हामीले कसैलाई हटाएका छैनौं ।

पार्टीको वैधानिकता विवादका सन्दर्भमा पनि ओलीले पहिलो पटक मुख खोलेका छन् । प्रवासी नेपालीहरुसँग कुरा गर्दै ओलीले पार्टीको वैधानिकता दाबी गर्दै निवेदन बोकेर आफूहरु निर्वाचन आयोग र अदालत नजाने बताएका छन् ।

ओलीले भने कसैले निवेदनको चिर्कटो निर्वाचन आयोगमा पुर्याउँदैमा वैधानिकता प्राप्त हुँदैन । हामी वैधानिक नेकपा हौं । अदालत र आयोगमा उहाँहरु जानुभएको छ । हामी यहाँ छौं भनेर छातीमा कागज टाँसेर बस्नुपर्ने अवस्था हाम्रो होइन । दुनियाँलाई थाहा छ हामी कहाँ छौं ।

ओलीले प्रचण्ड माधव पक्षले संवैधानिक प्रक्रिया अवरुद्ध गरेपछि संविधान कार्यान्वयन तथा रक्षाका लागि ताजा जनादेशमा जानु परेको र त्यो अधिकार संविधानले दिएको दाबी गरे ।

ओलीले संविधान र प्रणालीको रक्षाका लागि ताजा जनादेशमा जानुपर्ने अवस्था आएको बताएका छन् । ‘संविधानको रक्षाका लागि, प्रणालीको रक्षाका लागि ताजा जनादेशमा जानुपर्ने अवस्था आएके बताए ।

ओलीले विघटन भएको सांसदको हस्ताक्षरको कुरा गरेर प्रचण्ड–माधव पक्षले लोकतन्त्र र प्रणालीको मजाक उडाइरहेको समेत आरोप लगाए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया