‘मपछि अब अर्को कोही कम्युनिष्ट प्रधानमन्त्री नबनोस् भन्ने ओलीको आशय’

नारायण गाउँले ।

तटस्थ भएर हेर्दा नेकपाको बहुमतमा तीन वटा फ्याक्टर मुख्य थिए !
१-ओलीले नाकाबन्दी ताका बोलेर कमाएको छवि
२-बाम-एकताले कम्युनिस्टहरू बीच ल्याएको अद्भुत उत्साह
३-स्थायी र स्थिर सरकार तथा समृद्धिको जनचाहना
बहुमत आएपछि पूरा गर्नुपर्ने म्यान्डेट पनि यिनै थिए !

१-ओलीले भारतलाई रिझाउने र संवैधानिक निकायलाई तर्साउने रणनीति लिएर उपेन्द्र यादवलाई गठबन्धनको हिस्सा माओवादीभन्दा माथि राखेर उपप्रधानमन्त्री बनाए ! उपेन्द्र यादव घोषित रूपमैं नाकाबन्दीका मुख्य नाइके थिए । जनमतको यो ठूलो अपमान थियो । कुनै औचित्य र प्रसङ्गबिनै मोदीको नागरिक अभिनन्दन गर्न कुर्तासुरवाल लगाएर जनकपुर झरे ।

२-बाम-एकताको स्पिरिट अनुसार काम गरेको भए शायद उपेन्द्र यादव होइन, पूर्व माओवादी पक्षबाट कोही उपप्रधानमन्त्री हुन्थ्यो । आलोपालो प्रधानमन्त्री पनि मानेनन्, अर्को पक्षलाई समान हैसियतको अध्यक्ष मान्न पनि तयार भएनन् । बहुमत ओलीको निजी हो भन्ने भाष्य स्थापनाको प्रयास भयो । अरू छोड़म्, गत भदौको विवादपछि एकलौटी गर्न छोडेर नक्कली सुकुम्बासीको ठाउँमा नेपाल गुटको कसैलाई अर्थमन्त्री बनाएको भए पनि यो विग्रह रोकिने थियो ।

३-संविधान लेख्दै गर्दा स्थिरताका लागि टुट-फुट, षड्यन्त्र र अनावश्यक चुनाब रोक्न तीन वटा व्यवस्था गरिएका थिए;
-केही नेता र सांसदको सनकमा पार्टी फुटाउन नसकियोस् र विदेशी शक्तिले पार्टी नै फुटाएर चलखेल गर्न नसकून् भनेर संसदीय दल र केन्द्रीय कमिटी दुबैमा चालीस प्रतिशत पुऱ्याउनुपर्ने संवैधानिक व्यवस्था,

-यसअघि झैँ अविश्वास प्रस्तावले ६ महिनामैं ढाल्ने कमजोर सरकार नहोस् र संसदमा अविश्वास प्रस्ताव नै ल्याउन नपाइने निरङ्कुश सरकार पनि नहोस् भनेर कम्तिमा दुई वर्ष अविश्वास प्रस्ताव ल्याउन नपाइने व्यवस्था, र,

-यसअघि प्रधानमन्त्रीले विशेषाधिकारको नाममा सार्वभौम संसदलाई नै मनचाहे भङ्ग गर्न सक्ने अवस्था रहेकोमा बहुमतले बनेको सरकारले संसद भङ्ग गर्न नसक्ने संवैधानिक व्यवस्था ।

ओलीले स्थायित्वको यही प्रावधानमाथि प्रहार गरे । पहिलो पार्टी फुटाउने अध्यादेश ल्याएर । दोस्रो आफ्नै दलको स्पष्ट बहुमत हुँदाहुँदै मबाहेक अर्कोलाई हुन दिन्न भन्ने ईगो र अहं देखाएर संसद नै भङ्ग गरिदिएर । अहिले भारत र चीनको सतहमैं देखिने गरी भइरहेको चलखेल त सबैले देखेकै कुरो भयो । अब प्रधानमन्त्रीले चाहेको बेला संसद भङ्ग गर्न सक्ने नजिर फेरि बस्यो भने स्थायित्वको टन्टो सधैँलाई सकियो !
गहिरो गरी हेर्दा मपछि अब अर्को कोही कम्युनिष्ट प्रधानमन्त्री नबनोस् भन्ने उनको आशय देखिन्छ । नत्र स्पष्ट कम्युनिस्ट बहुमत भएको संसद गैरसंवैधानिक ढङ्गले भङ्ग गर्नुपर्ने आवश्यकता थिएन । जो बन्थ्यो, पार्टीकै बन्थ्यो । संसदले उनैलाई समर्थन गर्न पनि सक्थ्यो ।
बाहिरबाट हेर्दा यस्तो देखिन्छ । भित्रबाट हेर्दा आफ्नो कोठाको रङ्ग अनुसार फरक-फरक देखिएला !

फेसबुकबाट तपाइको प्रतिक्रिया