बिहिबार, चैत १५, २०८०

‘सरकार,आफू अघाएपछि तिमीले हात उठाउन मिल्छ भने जनताले पनि हात उठाउन किन मिल्दैन ?’

-करोड़पति ओलीले उपचारका लागि राज्यबाट बारम्बार करोडौं रुपियाँ लिनुभो – जनताले हात उठाएनन् !
-सर्प पाल्ने नाममा झलनाथ खनालले नगरपालिकादेखि केन्द्र सरकारसम्मबाट बारम्बार करोडौं रुपियाँ लिँदै आउनुभएको छ- जनताले हात उठाएका छैनन् ।

-सिङ्गो विश्व, देश र जनता महामारीसँग जुध्दै गर्दा तपाईंहरू पार्टी फुटाउने अध्यादेशदेखि सांसद अपहरण र आफ्नै सरकारमाथि अविश्वासको प्रस्ताव ल्याउन व्यस्त देखिनुभो – जनताले हात उठाएनन् ।

-आजसम्म बालुवाटारदेखि शीतलनिवाससम्मका गतिविधि, खर्च या बैठक पार्टीका भागबण्डा र कसले कसलाई सिध्याउने भन्नेमैं सीमित रहे । सधैँ कोभिड़भन्दा ठूलो मुद्दा बामदेव रहे – र पनि जनताले हात उठाएका छैनन् ।

-मच्छिन्द्रनाथको रथ जात्रालगायतका धेरै धार्मिक-सांस्कृतिक कार्यक्रममाथि रोक लागे पनि सयौंको भीड़ जम्मा गरेर पार्टी प्रवेश गर्न, उद्घाटन गर्न, राष्ट्रपति भवनमा पार्टीका नेतालाई भोज दिन कुनै कानुनले छेकेको छैन – तर जनताको हात यहाँ पनि उठेको छैन ।

-नक्कली सुकुम्बासी बनेर राज्यकोष चुस्ने विष्णु पौडेलहरूलाई नै कारबाहीको साटो निर्लज्ज रूपमा राज्यकोषको चाबी थमाइएको छ – फेरि पनि जनताले हात उठाएका छैनन् ।

-विदेशी माटोमा अलपत्र मजदुरलाई बीस हजारको हवाइ भाड़ा सत्तरी हजारमा बेचियो, कवारेन्टीनको नाममा होटेलसँग कमिशनको डिल भयो र ती निमुखाको रगत चुस्ने काम भयो । अझै पनि कति धेरै नागरिक बेख़र्ची भएर अलपत्र छन् – खै कतै कसैले हात उठाएका छैनन् ।

-सेनाको नाम बेचेर ओम्नीकै सामान ल्याइएपछि सेना मेडिकल सामग्री आयातबाट पछि हट्न बाध्य भयो । अरबौं ख़र्चेर ल्याइएका सामग्री नक्कली निस्किए । रक्षामन्त्री नै फेर्नुपर्ने अवस्था आयो – तर पनि जनताको हात उठेको छैन ।

-किसानले मल पाएनन् । उत्पादन गरेर जीविका चलाउनेले बजार पाएनन् । दैनिक ज्यालामजदूरी गरेर पेट पाल्नेहरू सड़कमा एक छाक खानाका लागि लाइन लागे । कति धेरै नागरिकले उपचार पाएनन् र एम्बुलेन्समैं हस्पिटल चहार्दै ज्यान गुमाए । बोर्डरमा आएर पनि आमाको किरिया बस्न देश छिर्न पाएनन् । अहिले भेन्टिलेटर कहीँ कतै खाली छैन, दिनहुँ कतिले ज्यान गुमाउँदै छन् । न आर्थिक सहयोग, न कर छुट, न कुनै सुविधा । सक्ने बाँच, नसक्ने जति मर जस्तो अवस्था छ । खै त जनताको हात उठेको छैन !

ए सरकार !
आज आएर कसरी अचानक तिम्रो मात्र हात उठ्यो ? महामारी व्यक्तिगत समस्या होइन । यो देशको जिम्मेबारी हो । चरम पूँजीवादी देशले समेत हात उठाउन सकेका छैनन् भने आफूलाई समाजवादी दाबी गर्ने तिम्रो हात एक्कासि कसरी उठ्यो ?

राजश्वले धानेन भनेर मन्त्री, सांसद, सल्लाहकार या कर्मचारीको सङ्ख्या घटेको छैन । तिनको तलबभत्ता, तामझाम र भ्रष्टाचार घटेको छैन । भूकम्प गए सबैभन्दा पहिले त्रिपाल तिनैले पाउँछन्, कोभिड़मा हप्तामैं दुई पल्ट तिनले पिसीआर गर्न पाउँछन् । भान्जाभान्जीलाई जागीर चाहिए तत्काल नयाँ आयोग बन्छ, नियुक्ति हुन्छ ।

आफू मात्रै चुस्ने, मोटाउने र डकार्ने तर आम जनताको जीवनमरणको सवाल आउँदा हात उठाउने तिमीलाई म मेरो सरकार कसरी भनूँ ? तिम्रा ओम्नीदेखि यति ग्रुपसम्म पाल्नकै लागि मैले पेट काटेर कर किन तिरूँ ?

भन त सरकार, आफू अघाएपछि तिमीले हात उठाउन मिल्छ भने जनताले पनि हात उठाउन किन मिल्दैन ?