शुक्रबार, चैत १६, २०८०

कोरोना संक्रमणबाट १८ देशमा २ सय ८१ गैरआवासीय नेपालीको मृत्यु

लन्डन । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट विदेशमा थप १७ जना नेपालीको ज्यान गएको छ । गैरआवासीय नेपाली संघका अनुसार शनिवार साँझ सम्म युएईमा १ जना र साउदी अरबमा १६ जना थप नेपालीको कोरोना संक्रमणका कारण निधन भएको हो ।

गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका संयोजक डा. संजीव सापकोटाका विदेशमा विगत ९ महिनामा नेपाल बाहेक १८ देशका २ सय ८१ जना नेपालीको कोरोना संक्रमणका कारण निधन भएको छ । संघका अनुसार यो साता बेल्जियम, स्पेन, नेदरल्याण्ड, भारत, ओमान, कतार र साउदी अरबमा रहेका नेपालीहरुमा थप कोरोना संक्रमण देखिएको हो ।

गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार विदेशमा शनिवार साँझ सम्म ४२ देशका ४० हजार ७ सय ३५ नेपाली कोरोना संक्रमित भएका छन् । ती मध्ये ३६ हजार ६ सय ७३ जना नेपालीहरु कोरोना भाइरसबाट मुक्त भएका छन् । संक्रमित नेपाली मध्य ८९ प्रतिशत कोरोना मुक्त भएको गैरआवासीय नेपाली संघले जनाएको छ ।
कोरोना महामारी नियन्त्रणको नेतृत्व विज्ञलाई दिन सुझाव
गैरआवासीय नेपाली संघको जारी दोस्रो विज्ञ सम्मेलनमा बोल्ने वक्ताहरुले सरकारले समयमा गम्भिर नहुदाँ कोरोना संक्रमणमा बृद्धि भएको विचार व्यक्त गरेका छन् । सत्तासीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं पूर्वशिक्षामन्त्री डा गंगालाल तुलाधारले कोभिड–१९ विरुद्ध सरकारी तयारी ग्राउन्ड जिरोमा गइसकेको टिप्पणी गरेका छन् ।

‘सरकार होपलेस देखियो। पूर्वतयारी र न्यूनीकरणको कामै भएन। सरकारसँग स्रोत पनि केही पनि छैन भन्नुपर्ने भो,’ गैरआवासिय नेपाली संघ (एनआरएनए) द्वारा आयोजित दोस्रो विश्व ज्ञान सम्मेलनमा डा तुलाधारले भने ।

शनिबार भएको ‘महामारी र प्राकृतिक विपद् न्यूनीकरणका लागि पूर्वतयारी र न्यूनीकरण’ सत्रमा विपद् व्यवस्थापन विज्ञ तुलाधारले विपद् व्यवस्थापन तीनवटै तहका सरकारको साझा अधिकार भए पनि समन्वय नै हुन नसक्दा कोभिड–१९ का कारण ६ सय जनाको ज्यान गएको र संक्रमितको संख्या एक लाख नाघेको बताए ।

‘विपद् र महामारी नियन्त्रणका लागि तीनवटै सरकारका भूमिकाबारे संविधानमै स्पष्ट छ। जिम्मेवार नेतालाई थाहा छ। तर हामी इमान्दार छैनौं,’ उनले भने । विपद् व्यवस्थापन विज्ञ तुलाधारले एनआरएनएलाई पनि विपद् तथा महामारीसँग जुध्न स्थायी प्रकृतिको संरचना बनाउन आग्रह गरे ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता एवं पूर्वस्वास्थ्यमन्त्री गगन थापाले काठमाडौंमा आइसियु बेड पाउन नसकिने अवस्था आइलागेको बताए । उनले विपद् तथा महामारीविरुद्ध स्थायी संरचना पर्याप्त कानुन रहे पनि राजनीतिक नेतृत्वमा बुझाइको कमी रहेको बताए ।

विपदको बेला राजनीतिक नेतृत्वले नियमितभन्दा बाहिरको स्रोत परिचालन गर्नसने भए पनि सरकार यो विषयमा चुकेको थापाले टिप्पणी गरे । पूर्वस्वास्थ्य सचिव डा सुधा शर्माले राजनीतिक नेतृत्वले महामारी नियन्त्रणको नेतृत्व लिँदा सफल नभएको बताए ।

एनआरएनए, आईसिसी उपाध्यक्ष डा बद्री केसीले एनआरएनलेले जहिल्यै पनि सहयोग गर्दै आएको बताए । एनआरएनए, स्वास्थ्य समिति संयोजक डा सन्जीव सापकोटाले पूर्वतयारीबिना महामारी नियन्त्रणको काम गर्न नसकिने बताए