सोमबार, बैशाख ०७, २०८३

राई विद्यार्थी संघले अनलाइन बक्तृत्वकला प्रतियोगिता गर्ने

काठमाडौं । किरात राई विद्यार्थी संघ केन्दीय समितिले अनलाइन बक्तृत्वकला प्रतियोगिता गर्ने तयारी गरेको छ । आगामी भदौ १७ गते पर्ने आफ्नो २२ औं स्थापना दिवसको अवसर पारेर संघले ‘मातृभाषामा शिक्षा’ विषयमा अनलाइन बक्तृत्वकला प्रतियोगिता गर्ने भएको हो। साउन २६ गते बसेको केन्द्रीय सचिवालयको भर्चुअल बैठकले स्थापना दिवसको अवसरमा ‘अनलाइन बक्तृत्वकला’ प्रतियोगिता गर्ने निर्णय गरिएको किरात राई विद्यार्थी संघले विज्ञाप्तीमार्फत जानकारी दिएको छ।
‘अनलाइन’ मार्फत हुने प्रतियोगितामा प्रथम, दोश्रो, तेश्रो र सान्त्वना स्थान प्राप्त सहभागीलाई क्रमशः ३० हजार, २० हजार, १० हजार र ५ हजार प्रदान गरिने किरात राई विद्यार्थी संघका महासचिव रविन राईले बताए। कोराना भाइरस (कोभिड–१९)को महामारीका कारण भेला, बैठक, छलफल गर्ने अवस्था नभएका कारण यसपल्ट अनलाइन बक्तृत्कला प्रतियोगिता गर्न लागिएको हो।

संघका अनुसार प्रतियोगितामा सहभागी हुने विद्यार्थीले दिइएको शिर्षकमा आफ्नो धारणालाई भिडियो रेकर्ड गरेर पठाउनुपर्ने छ। भिडियो १ टेकमा खिचिएको (सम्पादित नगरिएको) र बढीमा ५ मिनेटको हुनुपर्ने मापदण्ड निर्धारण गरिएको महासचिव राईले बताए। प्रतिष्पर्धीले इमेल वा फेसबुकमार्फत पठाएको भिडियोको विषयवस्तु र प्रस्तुतिकरणका आधारमा मूल्याकंन गरिने संघले जनाएको छ। ‘अनलाइन बक्तृत्वकला’मा सहभागी हुनेले भिडियो आगामी भदौ १३ गतेभित्र पठाइसक्नुपर्ने छ। कोरोनाको महामारीका कारण संघले भर्चुअल कार्यक्रम गरी स्थापना दिवस मनाउने व्यवस्थाका लागि जिल्ला कार्य समितिलाई पत्राचार गरेको जनाएको छ।

हाल किरात राई विद्यार्थी संघले ‘मातृभाषामा शिक्षा अभियान’ सञ्चाल गरिरहेको छ । मातृभाषामा पठनपाठन गर्ने अधिकार संविधानमा व्यवस्था भए पनि कार्यन्वयनको अवस्था फितलो देखिएको संघका अध्यक्ष जीतेन राईले बताए।