बिहिबार, बैशाख १३, २०८१

चीन-अमेरिका दुई देश व्यापार सम्झौताबारे छलफल गर्दै

एजेन्सी । काेराेना महामारीबीच पनि चीन र अमेरिकाबीच व्यापार सम्झाैताबारे छलफल हुने भएको छ । व्यापार वार्ताकाे पूर्व सहमति अनुसार शनिबार पहिलो चरणको व्यापार सम्झौताबारे छलफल हुन लागेकाे बताइएको छ ।
कोरोनाले विश्व अर्थतन्त्रलाई प्रभावित पार्नु पहिले दुई आर्थिक शक्ति राष्ट्रबीचको सम्बन्धमा समस्या देखिइरहेका समय पूर्व सहमति अनुसार छलफललाई अगाडि बढाउन लागिएको हो । विश्वका दुई आर्थिक शक्ति राष्ट्रबीच सन् २०२० मा उल्लेख्य व्यापार वार्ता तथा सम्झौता हुने अनुमान गरिएको थियो तर अपेक्षा अनुसार वार्ता अघि बढ्न सकिरहेको थिएन ।
वार्ताबारे अमेरिकी तथा चिनियाँ सरकार दुवैले एएफपीसँग पुष्टि गरेका छैनन् । तर सम्झौताले हरेक ६ महिनामा बैठक बस्ने प्रावधान अनुसार शनिबार वार्ता हुनेछ । यद्यपि यो वार्ताले खासै महत्वपूर्ण सहमति गरिहाल्ने विश्वास विश्लेषकहरूले लिएका छैनन् ।
महामारीले विश्वव्यापी वृद्धि र व्यापारमा ऐतिहासिक संकुचन निम्त्याएको छ । विश्लेषकहरूले सम्झौतामा ठूला परिवर्तनलाई नकारे पनि सम्झौताका लागि वाशिङ्गटन उत्प्रेरक हुनेछ भनेका छन् । ‘अहिलेसम्म चीन अपेक्षाकृत निष्क्रिय छ र अमेरिका तुलनात्मक रूपमा सक्रिय भएको छ, ‘एएनजेड बैंकका प्रमुख अर्थशास्त्री रेमण्ड येउङले भन्नुभयो । ‘मेरो विचारमा चीनबाट व्यापार, सहयोग वा बजार खोल्ने सन्दर्भमा धेरै परिवर्तन हुँदैन, मुख्य कुरा अझै पनि अमेरिकाको पक्षमा छ ।’
वासिङटन र बेइजिङको जनवरी सम्झौताले महिनौँ लामो व्यापार विवादलाई आंशिक सहमतिमा पुर्‍याएको थियो । सम्झौता अनुसार आगामी दुई वर्षभित्र बेइजिङले थप दुई खर्ब अमेरिकी डलर बराबरको अमेरिकी उत्पादन आयात गर्ने सहमति भएको थियो । ती अमेरिकी उत्पादनमा कार तथा मेसिनरी समान, तेल र कृषिलगायत छन् ।
तर पछिल्ला केही महिना यता अमेरिका र चीनबीचको विवादका कारण चीनले अमेरिकाबाट प्रतिवद्धता अनुसार सामान खरिद गर्न सकेको छैन । अमेरिकामा आगामी नोभेम्बरमा हुने राष्ट्रपतीय चुनावमा आउने नेतृत्वले अहिले हुने सम्झौतालाई सहज नस्वीकार्नसक्ने अनुमानसहित चीनले वार्ता गर्न खासै उत्साह नदेखाएको देखिन्छ ।
त्यस्तै अमेरिकी स्वेतहरूको मतले राष्ट्रपति बनेका डोनाल्ड ट्रम्पलाई चीनसँगको सम्बन्ध सुधारमा जति कडा बन्यो त्यतिफाइदा हुनसक्ने देखेर ट्रम्पले चीनसँगको वार्तालाई थाति राखेर अघि बढेको अमेरिकी राजनीतिक जानकारहरूले बेलाबेलामा विचार व्यक्त गर्ने गरेका छन् ।
शनिबार सुरू हुने व्यापार वार्ताले के दुबै पक्ष अहिले पनि सम्झौता अनुरूप अघि बढ्न तयार रहने छन् वा सम्बन्ध थप विग्रिने छ भन्ने देखाउने छ, समृद्ध चीनका लागि वित्तीय सेवाहरू प्रदान गर्ने आइएनजीका प्रमुख अर्थशास्त्री आरिस पाङले बताउनुभयो । @रासस