बिहिबार, बैशाख ०६, २०८१

राखेपको सदस्य सचिवमा पुनः सिलवाल नियुक्त

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिवमा रमेशकुमार सिलवाल पुनः नियुक्त भएका छन् ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सिलवाललाई सदस्यसचिवमा नियुक्त गरेको हो । तीन सदस्यीय सिफारिस समितिले सिफारिस गरेका तीन जनामध्येबाटै मन्त्रिपरिषद्ले सिलवाललाई छनोट गरेको हो । यसअघि पनि उनी नै राखेपको सदस्यसचिव थिए ।

समितिले सदस्यसचिवका लागि सिफारिस सिलवालसँगै लीलबहादुर थापामगर र अन्जु श्रेष्ठको नाम युवा तथा खेलकुद मन्त्रालयमा सिफारिस गरेको थियो । केशवकुमार विष्टको कार्यकाल गत वर्ष असार ९ गते सकिएपछि सिलवाल सदस्यसचिवमा नियुक्त भएका थिए । तर, यसै वर्षको असारमा नयाँ खेलकुद विकास ऐन २०७७ कार्यान्वयनमा आएपछि उनको कार्यकाल एक वर्ष नबित्दै सकिएको थियो ।

त्यसपछि नयाँ ऐनअनुसार मन्त्रालयले सचिव रामप्रसाद थपलियाको नेतृत्वमा रिम रानाभाट र इन्दिरा निरौलासहितको तीन सदस्यीय छनोट समिति गठन गरेको थियो । समितिले २७ जनाबाट तीनजनाको नाम मन्त्रालयमा पेस गरेको थियो । मन्त्रिपरिषद्ले राखेपको उपाध्यक्षमा शिव कोइरालालाई नियुक्त गरेको छ ।