Nepali date


मङ्लबार, जेष्ठ २०, २०७७

कोभिड–१९ पछिको आर्थिक पुनरुत्थान ज्यादै चुनौतीपूर्ण छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोभिड–१९ पछिको आर्थिक पुनरुत्थान ज्यादै चुनौतीपूर्ण रहेको भन्दै चुनौतीलाई सामना गर्न सबै क्षेत्रबाट सहयोग हुनुपर्नेमा जोड दिएका छन् ।

नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आईक्यान)को आयोजानमा भएको ‘कोभिड–१९ महामारीपछि जोखिम व्यवस्थापन र व्यवसायिक निरन्तरताको लागि प्रोफेशनल एकाउन्टेन्टहरको भूमिका (रोल अफ प्रोफेसनल एकाउन्टेन्ट्स इन बिजनेस कन्टिन्युटी, क्राइसिस म्यानेजमेन्ट एन्ड फाइनान्सिएल रिपोर्टिङः पोस्ट कोभिड १९ प्यान्डेमिक) विषयक छलफलमा गभर्नर अधिकारीले यो महामारीपछि व्यवसायिक क्षेत्रमा ऋणको भुक्तानीमा ठूलो समस्या आउनसक्ने र यसले बैंकिङ क्षेत्रलाई समेत प्रभावमा पार्नसक्ने भन्दै चार्टर्ड एकाउन्टेन्टहरुले ऋणीको सम्पत्ति र धितोको पुनमुल्यांकन गर्न सहयोग गर्नुपर्ने समेत बताए । उनले श्रम बजार साँघुरो बन्दै गएको भन्दै नेपालमा औपचारिक र अनौपचारिक क्षेत्रका ४४ लाख मानिसहरु पनि यसको प्रभावमा परिसकेको बताए ।वैदेशिक रोजगारीमा रहेकाहरु फर्कने सक्ने भएकाले यसले यो समस्या थप बढ्नसक्ने उनको भनाइ थियो ।

यसले रेमिट्यान्स घटाउने भएकोले बाह्य क्षेत्रको सन्तुलन प्रभावित हुनसक्ने उनको भनाइ थियो । हालसम्म यो महामारीले नेपालको कुल ग्राहस्र्थ उत्पादनको ४.३ प्रतिशत बराबरको नोक्सानी भएको प्रक्षेपण गरिएको बताए ।

नेपाल राष्ट्र बैंकले यो महामारीको प्रभावको न्यूनीकरणका लागि पटकपटक विभिन्न कार्यक्रम ल्याइसकेको भन्दै अबका दिनहरूमा बैंक दर घटाउने, ब्याजको पुँजीकरण गर्ने, ऋणको सीमा बढाउने जस्ता कार्यक्रमहरु ल्याउने बताए ।  उनले राष्ट्र बैंकले बैंकिङ कारोबार र बासेल थ्रीको कार्यान्वयन गर्दै दैनिक बैंकिङ कारोबार, पुनरकर्जाको कार्यान्वयन लगायतका विषयहरुको सुक्ष्म निगरानी गरिरहेको भन्दै आवश्यक समयमा उपयुक्त नियामकीय निर्णय लिन नेपाल राष्ट्र बैंक तयार रहेको बताए ।

कार्यक्रममा अध्यक्ष कृष्णप्रसाद आचार्यले कोरोना भाइरसका कारण विश्व अर्थतन्त्रका महत्वपूर्ण पक्षमा नराम्रो प्रभाव परेको अवस्थामा उद्योग प्रतिष्ठान बन्द हुने अवस्थामा पुगेको ठूलो रोजगारी गुम्ने अवस्थामा अर्थतन्त्रको पुनरुत्थानका लागि चार्टर्ड एकाउन्टेन्टको महत्वपूर्ण भूमिका हुनुपर्ने बताए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया