Nepali date


सोमवार, जेष्ठ १२, २०७७

मुलुकभर फोरजी सेवा प्रयोग गर्ने ग्राहक संख्या साढे ४६ लाख पुगे

काठमाडौं । मुलुकभर फोरजी सेवा प्रयोग गर्ने ग्राहक संख्या साढे ४६ लाख पुगेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको एमआईएस प्रतिवेदनमा मुलुकभर फोरजी प्रयोगकर्ता ४६ लाख ६४ हजार ६६१ रहेको उल्लेख छ ।

दूरसञ्चार प्राधिकरणले २०७६ माघसम्मको एक वर्षको तथ्यांकका आधारमा प्रतिवेदन सार्वजनिक गरेको हो । २०७५ सालको माघसम्म अर्थात् एक वर्ष अघिसम्म २५ लाख तीन हजार ७२८ फोरजी प्रयोगकर्ता थिए । एक वर्षको अवधिमा ८६.३० प्रतिशतले फोरजी ग्राहकको संख्यामा वृद्धि भएको छ ।सो अवधिमा दूरसञ्चार सेवाप्रदायक कम्पनीमध्ये एनसेलका ग्राहक अधिक बढेको देखिएको छ । दोस्रो स्थानमा स्मार्ट र तेस्रोमा नेपाल टेलिकम छ । निजी क्षेत्रका सेवाप्रदायकले शतप्रतिशतले भन्दा धेरै ग्राहक बढाउँदा सरकारी स्वामित्वको नेपाल टेलिकमको ग्राहक जम्मा १८ प्रतिशतले बढेको छ ।२०७५ माघसम्म एनसेलको फोरजी ग्राहक १६ लाख ७२ हजार ८९१ थिए । २०७६ माघमा एनसेलको ग्राहक संख्या ११२ प्रतिशतले बढेर ३५ लाख ४५ हजार २८६ पुगेको छ । २०७५ माघसम्म स्मार्टको फोरजी ग्राहक एक लाख १९ हजार ६८० को संख्यामा थियो। २०७६ माघमा स्मार्टको ग्राहक संख्या १३१.३१ प्रतिशतले बढेर दुई लाख ७६ हजार ८३२ पुगेको छ ।

२०७५ माघसम्म सरकारी स्वामित्वको नेपाल टेलिकमको फोरजी ग्राहक ७ लाख ११ हजार १५७ को संख्यामा थियो । २०७६ माघमा नेपाल टेलिकमको ग्राहक संख्या १८.४७ प्रतिशतले बढेर ८ लाख ४२ लाख ५४३ को संख्यामा पुगेको छ ।दूरसञ्चार सेवाप्रदायकमध्ये नेपाल टेलिकमले २०७३ पुस १७ गते काठमाडौं उपत्यका र पोखरामा फोरजी विस्तार गरेको थियो । एनसेलले २०७४ जेठबाट काठमाडौं उपत्यकालगायत नगरकोट, बनेपा तथा धुलिखेलमा सेवा सुरु गरेको थियो । स्मार्ट सेलले २०७४ कात्तिकबाट काठमाडौं र पोखराबाट सेवा सुरु गरेको थियो ।

टेन्डर र आन्तरिक विवादका कारण टेलिकमको फोरजी सेवा सञ्चालनमा आएको एक वर्ष गति लिन सकेको थिएन । २०७४ माघबाट भने टेलिकमले फोरजी सेवा विस्तारलाई आक्रामकता साथ अघि बढाएको थियो । २०७५ असोज ५९ वटा साना तथा ठूला सहरमा टेलिकमले फोरजी सेवा सुरु र्गयो। २०७५ माघदेखि टेलिकमले ७७ जिल्लामा फोरजी सेवा विस्तार गरिसकेको छ । ७७ जिल्ला फोरजी सेवा विस्तार गर्न नेपाल टेलिकमले १८ अर्ब रुपैयाँ खर्च गरेको छ । नेपाल टेलिकमका सह-प्रवक्ता कृष्णप्रसाद भण्डारी पुराना सिम प्रयोगकर्ता धेरै भएकाले फोरजी प्रयोगकर्ता अपेक्षाकृत रूपमा बढ्न नसकेको बताउँछन् ।

‘सुरुवाती दिनमा सिम अटोमेटिक फोरजीमा अपग्रेड हुने व्यवस्था थिएन’, भण्डारीले भने, ‘अहिले फोरजी सपोर्ट गर्ने सेट र सिम भएका ग्राहकको अटोमेटिक अपग्रेड हुन्छ ।अहिले टेलिकमको सेवा ७७ जिल्लामै पुगेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: