Nepali date


बुधबार, फाल्गुन १४, २०७६

ओभरसियरको जागिर छोडेका तमोट भाषासंस्कृतिका ज्ञाता

काठमाडौँ । भोजपुरका अगुवा भाषासंस्कृति तथा इतिहासविद् काशीनाथ तमोट भोजपुरको टक्सारमा जन्मेर भोजपुरकै विद्योदय माविबाट एसएलसी उत्तीर्ण गरी छात्रवृत्ति पाएर इञ्जिनीयरिङ पढ्न काठमाडौँ हानिए ।

तत्कालीन समयमा जाउलाखेलको स्टाफ कलेजमा रहेको इञ्जिनीयरिङ कलेज (पछि पुल्चोक क्याम्पस)बाट ओभरसियर पास गरी कामका सिलसिलामा सुदूरपश्चिम पुगे पनि प्राविधिक क्षेत्रतिर त्यति रुचि नभएकाले नेपाली विषयमा स्नातकोत्तर गरी प्राध्यापनतिर लागे। नेपाली विषय पढे तर स्वअध्ययनले पाटन क्याम्पसमा नेपाल भाषा पढाउने जिम्मेवारी पाए। भाषा, संस्कृति, साहित्यतिर झुकाव भएका तमोटले यी क्षेत्रमै प्राध्यापन, स्वअध्ययन, अनुसन्धान गरी नेपाल भाषाकै विज्ञ पनि बने।

विसं २०२० मा काठमाडाैं आएका तमोटको त्यो अध्ययन अनुसन्धानको क्रम विसं २०६४ मा पाटन क्याम्पसको सहप्राध्यापकबाट अवकाश प्राप्त गरेपछि पनि रोकिएको छैन। उनै अध्ययनशील तमोटसँग भोजपुरको पुरानो इतिहास, संस्कृतिलगायत देशकै इतिहास, नेवारी संस्कृतिबारे हालै राससका प्रमुख समाचारदाता तीर्थ भट्टराईले उनकै निवास शान्तिनगर, काठमाडौँमा गरेको कुराकानीको सम्पादित अंश :

यहाँको जन्म र पारिवारिक स्थितिबारे बताइदिनुहुन्छ कि ?

म विसं २००१ पुस १९ गते भोजपुरको टक्सार खिकामाछामा जन्मेको हुँ । यो प्रदेश नं १ को भोजपुर नगरपालिका वडा नं ९ मा पर्दछ । मेरा पिता सुकदेव तमोट र आमा हर्कमाया तमोट हुनुहुन्छ । हाम्रा पुर्खा लगभग १५० वर्षअघि पाटनबाटै गएका हुन् । त्यो बेलै भोजपुरमा धातु उद्योगको विकास भएकाले त्यहाँ गएका थिए।

विसं २००७ अगाडि नेपालको पूर्वमा भोजपुर र पश्चिममा पाल्पामा मात्र धातु उद्योगको विकास भएको थियो। यो एक औद्योगिक केन्द्रजस्तै थियो । विसं २०१७ सम्मै यस्तै थियो । पछि तराईमा औलो उन्मूलन भएपछि र भोजपुरमा यातायातको अभाव र बसाँइसराइले गर्दा भने यो स्थिति रहेन ।

यहाँले कहाँबाट शिक्षा हासिल गर्नुभयो ? के विषय अध्ययन गर्नुभयो ?

मैले भोजपुर टक्सारको विद्याधरी प्राइमरी स्कूल र विद्योदय माविमा पढेर एसएलसी पास गरेँ । त्यसपछि छात्रवृत्ति पाएर काठमाडौँ आई जाउलाखेलस्थित इन्जिनियरिङ कलेजमा ओभरसियर पढेँ । त्यसपछि कञ्चनपुर र डडेल्धुरामा चार वर्ष ओभरसियरको काम गरेँ । कामको सिलसिलामा बैतडी र दार्चुलामा पनि गएँ । त्यसपछि काठमाडौँ आएर प्राइभेट पढेरै आइएदेखि एमएसम्म पास गरेँ । नेपाली विषयमा एमएको रिजल्ट हुँदा साहित्यकार बालकृष्ण पोखरेलपछि दोस्रोमा मेरै नाम थियो । तर उहाँसँग भेट र सङ्गत भने त्यत्ति भएन ।

यहाँले बाल्यकालमा देख्नुभएको भोजपुर कस्तो थियो ?

दशवर्षसम्म त खेलेरै बित्यो । एघार वर्षमा बल्ल अक्षर चिनेँ । चाडपर्वमा रमाइलो हुन्थ्यो । कक्षा १ देखि ३ सम्म राम्ररी पढेँ । परीक्षामा पहिलो–पहिलो नै हुन्थेँ । विसं २०१९ मा द्वितीय श्रेणीमा एसएलसी पास गरेपछि काठमाडौँ आइहालेँ । अरु त्यति अनुभव गर्न पाइएन ।

भोजपुरमा राजनीतिक जागरण कस्तो थियो ?

राजनीतिक जागरण एकदमै राम्रो थियो । यहाँ विसं २००४÷०५ देखि नै राजनीतिक गतिविधि हुन्थे । दानबहादुर शाक्य, खड्गबहादुर कार्की, दानबहादुर कार्की आदि सक्रिय थिए । शाक्य कालीगढ सङ्घका अध्यक्ष थिए । यो कालीगढ सङ्घले सहकारीकै जस्तो काम गथ्र्यो र यो नेपालकै पहिलो सहकारी पनि हुनसक्छ । यसको लिखित प्रमाण म खोजिरहेको छु ।

दानबहादुर शाक्यपछि अञ्चलाधीशसम्म भए । टक्सारका केदारनाथ श्रेष्ठ वामपन्थी आन्दोलनका अगुवा थिए । उनी किसान सङ्गठनमा थिए । त्यस्तै, त्यही बेला यहाँ महिला सङ्गठन पनि थियो । केदारनाथ र मेरी फूपू बालकुमारी ताम्राकारको विसं २०१० मा जनवादी विवाह भएको थियो। यो सम्भवतः नेपालकै पहिलो जनवादी विवाह पनि हुनसक्छ ।

त्यसबखत मनमोहन पनि हुनसक्ने मेरो अनुमान छ । किनकि त्यसबखत मनमोहन अधिकारी, पुष्पलाल श्रेष्ठ पनि टक्सारमा आउने जाने गर्नुहुन्थ्यो । मेरा दाजु सूर्यलाल प्रधान राजनीतिकरूपमा सचेत भएकाले मनमोहन पनि मेरो घरमा आउनुहुन्थ्यो । तर पछि राजनीतिक कारणले नै उहाँ विदेशिनुभयो । सिक्किमको रिनाकमा घरजम गरी पछि जोरथाङमा सर्नुभएको थियो । उहाँ हालै उतै बित्नुभयो । केदारनाथ पनि इलाममा छोरीको घरमा बित्नुभयो ।

टक्सारमा किसान सङ्घर्ष पनि हुन्थे । भोजपुर बजारको तुलनामा टक्सारमा सरकारको आँखा नपर्ने हुनाले यहाँ विभिन्न गतिविधि हुन्थे । खड्गबहादुर कार्की भने विसं २०१५ को निर्वाचनमा भोजपुरबाट निर्वाचित भएका थिए । दानबहादुर कार्की अर्का सक्रिय नेता थिए । उनीहरु दाजुभाइ ‘दाख’ भनिने जोडीजस्तै थिए । विसं २०१५ को आम निर्वाचनमा भने भोजपुरबाट उत्तरी क्षेत्रबाट नेपाली कांग्रेसका देवानसिंह राई, मध्यक्षेत्रबाट खडगबहादुर कार्की र दक्षिणी क्षेत्रबाट भुइँदल राई निर्वाचित भएका थिए ।

भोजपुरको शिक्षाको स्तर कस्तो थियो ?

भोजपुरमा शिक्षाको लहर विसं २००७ अघि नै पुगेको थियो । राणाकालमै टक्सारमा भाषा पाठशाला आदि खुलिसकेका थिए । दानबहादुर, खड्गबहादुर कार्कीले टक्सारमा विद्याधरी प्राइमरी स्कूल खोलेका थिए । भोजपुर बजारमा उदय प्राइमरी स्कूल खुलेको थियो । दुइवटै मिलाएर विसं २००८ मा विद्योदय मावि स्थापना भएको थियो, भोजपुर बजार र टक्सारको बीचमा । टक्सारमा विद्याधरी पुस्तकालय पनि स्थापना भएको थियो । टक्सारमा रणध्वज कार्कीले पशुपतिजस्तै रणेश्वर महादेव मन्दिर बनाउने र धेरै समाज सेवाको काम गर्नुभएको थियो । त्यो मन्दिर बनाएको यस वर्षको शिवरात्रिमा १०० वर्ष पुग्दैछ ।

भोजपुरमा पढेलेखेका मान्छे धेरै थिए । पूर्वाञ्चलमै राम्रो स्थिति थियो । दिड्लामा त विसं १९३२ देखि नै षडाननले संस्कृत पाठशाला स्थापना गर्नु भएकाले चेतनाको स्तर माथि थियो । टक्सारमा केदारनाथ श्रेष्ठले भोजपुरकै पहिलो हस्तलिखित पत्रिका ‘विद्यार्थी’ विसं २००८ मा निकाल्नुभएको थियो । त्यसमा उहाँका विद्रोही खालका रचना प्रकाशित हुन्थे ।

प्रजातान्त्रिक आन्दोलनमा नेपालभरमै सर्वप्रथम भोजपुर कब्जा भएको थियो भनिन्छ, त्यसमा को–को सक्रिय थिए ?

त्यो बखत आफू सानै भएकाले त्यति थाहा भएन तर रामप्रसाद राई, नारदमुनि थुलुङ आदि सक्रिय थिए । पछि कृष्णप्रसाद भटृराई, बिपीहरु पनि टक्सार आउने गरेको थाहा छ ।

रामप्रसाद राई कस्तो व्यक्तित्व हुनुहुन्थ्यो, उहाँका योगदान के–के हुन् ? उहाँ कसरी बेपत्ता हुनुभयो ?

उहाँले के कस्ता गतिविधि गर्नुभयो भन्ने आफ्नो उमेरले थाहा पाउने स्थिति थिएन । पछि मात्र उहाँको योगदान धेरै थियो भन्ने बुझियो ।

प्रजातान्त्रिक आन्दोलनमा नारदमुनी थुलुङको के कस्तो योगदान रहेको छ ?

उहाँले हरेकसँग सम्पर्क गर्ने, विद्यालय खोल्ने आदि गतिविधि गर्नुहुन्थ्यो । भोजपुर बजारको उदय प्रावि उहाँले नै खोल्नुभएको थियो । राजनीतिक गतिविधि भने त्यति थाहा भएन ।

विगतमा टक्सार बजार कसरी समुन्नत भएको थियो ? र हाल किन उजाडिँदै गयो ?

राणाकालमा पहाडमा नै धेरै चेतना थियो, तराईमा केही पनि थिएन । भोजपुर पूर्वकै केन्द्र थियो । उद्योग, कलकारखानामा भोजपुर पूर्वी नेपालकै केन्द्र थियो । भोजपुर, खोटाङ, ओखलढुङ्गा आदिका लाहुरे हिँड्ने बाटो र फर्कँदा टक्सारमा भाँडाकुँडा किनेर फर्कने व्यापारिक केन्द्र नै थियो । त्यसबखतमा धरान विराटनगरमा केही पनि थिएन । सबैका लागि भाडावर्तन महत्वपूर्ण हुन्थ्यो, सोलु, ओखलढुङ्गा आदिबाट पनि टक्सारमा भाँडाकँुडा किन्न आउँथे । किमाथाङ्का, ओलाङचुङगोलातरबाट पनि घोडा लिएर आउँथे । यहाँका भाँडाकुँडा पूर्वमा सिक्किम दार्जिलङसम्म र पश्चिममा धुलिखेलसम्म पुग्थे । विनिमय व्यापार हुन्थ्यो ।

विराटनगरमा औलो उन्मूलनपछि भने भोजपुर उजाडियो । पछि भने यहाँका उद्योगी मानिस अन्यत्र सरे । देवबहादुर हलुवाईले धरानमा गएर नेपालकै पहिलो धातु उद्योग खोले । यसको नामा डिके मेटल इन्डस्ट्री थियो । यो बन्नुभन्दा अघि तामा, पित्तल आदि धातु कलकत्ताबाट आउथ्यो । यो देवबहादुर र कृष्णबहादुर हलुवाइले खोलेका थिए । त्यहीँकै पूर्णबहादुर ताम्राकारले काठमाडौँमा हाँडीगाउँ नजीक गुह्येश्वरी मेटल इन्डस्ट्री खोले । उनी नेपाली काङ्ग्रेस नेता रामकृष्ण ताम्राकारका पिता हुन् । सिद्विबहादुर ताम्राकारले पाटनमा धातु उद्योग खोले । धरानमा विसं २०१०/१२ तिर खोलेको डिके इन्डस्ट्री अहिले भने छैन ।

आवाल ब्रम्हचारी षडाननको जन्मस्थल र विगतमा राजनीतिक र शैक्षिक जागरणको केन्द्र रहेको भोजपुर पछि कसरी पिछडिँदै गयो ?

भोजपुर र टक्सारमा अलग्गै र दिङ्लामा अलग्गै संस्कृतप्रधान शिक्षाको विकास भएको थियो । पछि तराईतिर पनि विकास हुन थालेपछि बसाँइसराइ भयो । भोजपुरकै मानिसले अन्यत्र मौका पाए । यसपछि भोजपुर पिछडिन थाल्यो ।

भोजपुरलाई सगरमाथा अंचलबाट कोशी अंचलमा गाभिनुको कारण के थियो ?

सगरमाथामा हुँदा अञ्चलस्तरीय कार्यालय भएकाले घरेलु उद्योगको विकास भएको थियो । पछि पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका कारण पनि केही कार्यालय, उद्योग धनकुटा गए भने केही खोटाङमा गए । सगरमाथामा हुँदा भोजपुर नै मुख्य स्थान थियो ।

यहाँ कहिले काठमाडौँ आउनुभएको थियो र के पेशा लिनुभयो ?

म २०२० सालमा काठमाडौँ आएर ओभरसियर पढेर चार वर्ष सुदूरपश्चिममा काम गरेँ । पछि प्राइभेटबाट नेपालीमा एमए पास गरी नेवारी भाषा जान्ने भएकाले पाटन क्याम्पसमै नेपाल भाषा पढाउन थालेँ । विसं २०३२ देखि पढाउन थालेर २०६४ मा अवकास हुँदासम्मै पढाएँ । यही बीचमा भाषा साहित्यको गतिविधिमा लागेँ । नेवारी भाषाको शब्दकोष पनि बनाएँ र नेपाल भाषाको विज्ञ बनेँ ।

विदूषी योगमाया भोजपुरकै गौरव हुनुहुँदोरहेछ, उहाँ जिल्लामा कत्तिको चर्चित हुनुहुन्थ्यो ?

जिल्लामा उहाँको चर्चा नै थिएन । पछि एक विदेशी लेखिकाले लेखेपछि मात्र उहाँको योगदानबारे थाहा भयो ।

यहाँ नेपाल भाषाको प्राध्यापक पनि हुनुहुन्छ, भोजपुर र टक्सारमा बोलिने नेपाल भाषा काठमाडौँसँग कत्तिको मेल खान्छ ?

काठमाडौँ र पाटनको भाषा खासै छुट्याउन सकिँदैन । टक्सारको पनि त्यही नै हो । तर भक्तपुर, धुलिखेल र दोलखाको फरक छ । टक्सारमा पाटनकै संस्कृतिअनुसार गरिन्छ ।

काठमाडौँ र भोजपुरको नेवारी संस्कृतिमा कत्तिको समानता छ ?

जात्रापर्व पाटनकै मनाइन्छ । तर इन्द्रजात्राको ठाउँमा भीमसेनजात्रा मनाइन्छ । टक्सारमा बौद्व देवता विद्याधरीको स्थापना गरिएको छ । नेवार जहाँ गए पनि भीमसेन स्थापना गरेकै हुन्छन् । थेरवादी बौद्व धर्मावलम्बीको नेपालमै पहिलो विहार पनि टक्सारमै छ । यो विसं १९९३ मा स्थापना भएको हो । शाक्यमुनि विहार भनिने यो विहार महाप्रज्ञाले स्थापना गर्नुभएको हो ।

महाप्रज्ञा आफ्ना शिष्य अमृतानन्द महास्थवीरको घर टक्सारमा आइरहनुहुन्थ्यो । टक्सार भोजपुरको करुवा नेपालमै प्रसिद्व भएकाले यसको प्रतिकस्वरुप टक्सारमा विश्वकै सवैभन्दा ठूलो करुवा स्थापना गरिएको छ । यसलाई खिकामाछा टक्सार महोत्सवका बेला २०७२ मा सो बखतका प्रमुख अतिथि उपप्रधानमन्त्री भीम रावलले उद्घाटन गर्नुभएको थियो । यो ३५० किलो तौल र छ फिट छ इन्च.उचाइको रहेको छ । यसैगरी महोत्सवकै क्रममा तत्कालीन सूचना तथा सञ्चार प्रविधिमन्त्री शेरधन राईले टक अर्थात् पैसाको स्तम्भ पनि उद्घाटन गर्नुभएको थियो ।

टक्सार र भोजपुरको नाम कसरी रहन गएको हो ?

टक्सारमा श्री ५ गिर्वाण युद्घविक्रम शाहका पालादेखि नै टक अर्थात् पैसा काटिने भएकाले टक्सार भनिएको हो । यसको कार्यालय विसंं १८७२ मा खानी अड्डा स्थापना भएको थियो । धोद्लेखानीलगायतका गाउँबाट तामा उत्खनन गरी ल्याएर पैसा काटिन्थ्यो । यहाँ प्रशासनिक, धातुसम्बन्धी, अलैँचीको व्यापार गर्ने र भन्सार आदि कार्यालय थिए । पछि धेरै कार्यालय भोजपुर बजार सरे । भोजपुर भने पृथ्वीनारायणका सेनाले विजय गरेपछि भोजपुरस्थित डवलीमा ठूलो भोज खाएकाले भोजपुर भनिएको हो भनिन्छ ।

यहाँका कृतिहरु के के रहेका छन्, ती के विषयमा छन् ?

मैले भाषा, पुराना ग्रन्थ र साहित्य आदिबारे लेखेको छु । मैले लेखेका महत्वपूर्ण किताबमा शङ्खधरकृत नेपाल संवत्, नेपाल मण्डल आदि हुन्। नेपाल मण्डलमा १२ जिल्ला पर्दछन् । अहिलेको प्रदेश नं ३ मा यी बाहेक चितवन पनि थपिएको छ । हामीले २० वर्ष अगाडि नेपाल मण्डलको आन्दोलन शुरु गरेका थियौँ । म नेपाल मण्डल अनुसन्धान गुठीको अध्यक्ष पनि छु । मैले नेपाल भाषाको शब्दकोष पनि बनाएको छु । म नेपाली बृहद शब्दकोष निर्माण गर्ने समितिमा पनि सदस्य थिएँ भने त्रिविको नेपाल भाषा विषय समितिको अध्यक्षको रुपमा पनि काम गरेको छु ।

हाम्रो लिखित इतिहास कहिलेदेखि शुरु हुन्छ, यहाँको अध्ययन के छ ?

इसं १८५ को जयवर्मा कालको मालिगाउँमा प्राप्त कुसान व्राम्ही लिपिको शिलालेखले नेपालको इतिहासलाई मानदेवभन्दा पहिले दोस्रो शताब्दीमा पुर्याएको थियो भने इश्वी पूर्व तेस्रो शताब्दीको अशोक व्राम्ही लिपिको चावहिलमै प्राप्त शिलालेखले ५०० वर्ष अगाडि पु¥याएको छ । यो भनेको किराँतकाल नै हो । यसमा ‘चारुवती थुप’ लेखिएको छ । यसको अर्थ चारुमती स्तूप हो ।

नेपाल संवत् कसरी स्थापना भएको हो ? के नदीबाट सुन बटुलेर ऋण तिर्न सम्भव छ ?

शंकुदत्त साहुले पैसा कमाएर ऋणमोचन गरेको कुरा बालुवासँग जोडिएको छ । यो कथा भए पनि तिब्बतको तन्जुर ग्रन्थमा रेकर्ड भेटिएको छ। तिब्बतमा यस्तै अर्को कन्जुर ग्रन्थ पनि छ । नेसं २५१ मा श्रीसेनले ८४ सिद्घको जीवनी लेखे । त्यसलाई ऋणमोचन भएको २५१ वर्षमा भएको भनिएको छ । शंकुदत्तलाई संखुवा, शंखधर पनि भनिएको छ । पशुपतिमा पनि नेसं ७६६ को शिलापत्र पाइएको छ । यसैले प्रामाणिक नै मानिएको छ ।

नेपालको इतिहासमा अध्ययन हुन बाँकी कुराहरु के होलान् जस्तो लाग्छ ?

अध्ययन भइरहेकै छ । समग्ररुपमा जोड्न भने बाँकी छ । पहिले वंशावलीको रुपमा मात्र थियो भने अब तथ्य–तथ्याङ्कको रुपमा आइसकेको छ । तर अहिलेको शिक्षा भने यसलाई उपयोग गर्न र अनुसन्धान लेखनतिर जान सकेको छैन । रासस

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: