सोमबार, असोज १९, २०८३

सिता लम्साल बचाउन जापानबाट डेढ लाख सहयोग

जापान । दुवै मृगौला काम नलाग्ने भएकी सिता लम्साललाई बचाउन जापानबाट गोर्खाली युवाहरुले रकम जुटाइदिएका छन् ।

गत जेठदेखि दुवै मृगौलाले काम गर्न छोडेपछि उनको उपचारमा आर्थिक संकट भएको भन्दै परिवारले सहयोगका लागि याचना गरेका थिए । गोरखा समाज जापानको अगुवाईमा डेढ लाख रकम संकलन भएको हो । समाजले ‘सिता बचाउ अभियान’ नै चलाएर करिब दुई हप्तामा संकलन गरेको १ लाख ४८ हजार रुपैया बिहिबार भिमसेन थापा गाउँपालिकाका अध्यक्ष इश्वर पाण्डेले सिताका श्रीमान बुद्धिबहादुर लम्साललाई घरमै गएर हस्तान्तरण गरे । हस्तान्तरण कार्यक्रममा लम्साललाई गाउँपालिकाका तर्फबाट समेत सहयोग गर्ने पाण्डेले आश्वासन दिएका छन् ।

लम्सालको मृगौला प्रत्यारोपण तथा डायलासिस गर्न आर्थिक क्षमता नभएपछि सहयोगको याचना गर्नुपरेको उनकी छोरी अम्बिका लम्सालले बताइन् । गत जेठमा दुवै मृगौला फेल भएपछि उनलाई काठमाण्डौ स्थित मनमोहन अस्पतालमा लगिएको थियो । त्याहा उपचार सम्भव नभएपछि उनलाई भारत लगियो । त्यहा २ महिना राख्दा भएको रकम सकिएपछि उनलाई नेपाल फर्काइएको थियो । लम्सालको शारिरिक अवस्था नाजुक भएपछि हाल पोखरा स्थित फिस्टेल अस्पताल राखिएको छ ।

यसअघि भारतमै रोजगारीमा रहेका लम्सालका श्रीमान बुद्धि बहादुर पनि हाल घर फर्केका छन् । श्रीमतीको अवस्था नाजुक भएपछि उनको रेखदेख र उपचारका लागि जागिर छोडेर घर फर्किएका उनको अन्य आर्थिक स्रोत पनि छैन । हालसम्म झण्डै १० लाख रुपैया भन्दा बढी रकम श्रीमतीको उपचारमा लगाइसकेको उनि बताउछन् ।