रामेछाप। रामेछाप आफैमा निकै विकट जिल्ला मानिन्छ । त्यसमा पनि उत्तरी भेग निकै पछाडि परेको क्षेत्र हो । स्वास्थ्य, शिक्षा क्षेत्रमा यो क्षेत्रको पहुँच निकै कमजोर छ । तर, पछिल्लो समय सोही क्षेत्रका समाजसेवीहरुको पहलमा विदेशीहरुसमेतले सहयोग गर्ने क्रम बढेको छ।
भूकम्पले समेत अस्तव्यस्त बनाएको यस क्षेत्रका स्वास्थ्य संस्था र विद्यालयमा विदेशीहरुको सहयोगमा सुविधासम्पन्न भवन निर्माण हुने क्रम बढ्दै गएको छ । सोही क्रममा विभिन्न समाजसेवीहरुको पहलमा रामेछपको उमाकुण्ड गाउँपालिकाको गुम्देलमा स्वास्थ्य चौकी भवन निर्माण भएको छ।
उमाकुण्ड गाउँपालिकको उपाध्यक्ष उर्मिला कार्की बस्नेतको पहल तथा अस्ट्रिया निवासी बुद्धि माया शेर्पा र रामेछापकै ठोसे निवासी नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि शिव श्रेष्ठको अर्थिक तथा प्रविधिक सहयोगमा सुबिधा सम्पन्न स्वास्थ्य चौकी भवन निर्माण पूरा भएको हो ।
सुविधायुक्त भवन एक कार्यक्रमका बिच अस्ट्रियन दाताहरुसहितको उपस्थितिमा बुधबार एक भव्य कार्यक्रमका बिच गाउँपालिका उपप्रमुख बस्नेतलाई हस्तान्तरण गरिएको छ ।
करिब ५५ लाख लागतमा बनेको सुविधासम्पन्न पाँच कोठे भवन स्थानीय तहलाई हस्तान्तरण गरिएको हो । विदेशीहरुको यो समूहले यसअघि गुम्देलमै विद्यालय भवनसमेत निर्माण गरिदिएको थियो ।

