दाङ । दाङ देउखुरीको राप्ती नदीमा नेपालकै दोस्रो लामो पुल बनेको छ । राप्ती गाउँपालिकाको छोट्की सिसहनियाँ र गढवा गाउँपालिकाको महदेवा जोड्ने पुल पूर्वनिर्धारित समयभन्दा चार महिना अगाडि नै निर्माण सम्पन्न भएको हो ।
यो पुलको लम्बाइ ८६० मिटर र चौडाइ साढे १० मिटर छ । यो पुल नेपालकै दोस्रो लामो हो । नेपालको सबैभन्दा लामो पुल बर्दियाको कोठियाघाटस्थित कर्णाली नदीमा छ । गेरुवा पुल भनिने त्यसको लम्बाइ १ हजार १५ मिटर छ ।
गेरुवा पुल बनाएकै कम्पनी एएनके लुम्बिनी वाइपी जेभीले दाङको राप्ती नदीको पुल बनाउने जिम्मा पाएको थियो । गेरुवा पुल तोकिएको अवधिभन्दा अघि नै सम्पन्न गरेर यो कम्पनी नेपाल सरकारबाट पुरस्कृत भएको थियो ।
तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०७३ मंसिर २२ गते राप्ती नदीको बगरमा पुल शिलान्यास गरेका थिए । करिब एक अर्ब रुपैयाँ लागतको यो पुल चार वर्षभित्र बनाइसक्ने सम्झौता भएको थियो ।
तोकिएको समयभन्दा चार महिना अगाडि नै पुल निर्माण कार्य पूरा भएको योजना प्रमुख सुनिलबाबु पन्तले जानकारी दिए ।

