काठमाडौं । जुवा अपरेशनमा पक्राउ परेका ६ जना जुवाडेलाई नछाड्न अदालतले आदेश दिएको छ ।
सर्वोच्च अदालतका न्यायाधीश पुरुषोत्तम भण्डारीको इजलासले बुधबार उनीहरुलाई ‘साथमै राख्न’ आदेश दिएको हो । महानगरीय प्रहरी वृत्त महाराजगञ्जले चलाएको अपरेशनमा पक्राउ परेका इन्द्रबहादुर श्रेष्ठ, शम्भुबहादुर बुढाथोकी लगायतले पनि बुधबार बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए । जसमा भएको सुनुवाइमा विपक्षीलाई २४ घन्टाभित्र उपस्थित गराउन आदेश भएको छ उनीहरुसँगै ६ जुवाडेलाई पनि बुधबार पनि उपस्थित गराउन भनिएको छ ।
आदेशमा भनिएको छ, ‘बन्दीप्रत्यक्षीकरणका निवेदनहरु साथै राखि एकैपटक हेर्नुपर्ने देखिएकाले प्रस्तुत निवेदन समेत सो निवेदनहरुसँग साथै राखि बन्दीहरुलाई समेत उपस्थित गराई नियमानुसार गरी पेश गर्नू । पक्राउ परेका मध्ये ६ जना भीआईपी जुवाडेको तर्फबाट आइतबार अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट परेको थियो ।
रिट दायर गर्नेमा क्यासिनो किङका रुपमा चिनिने गुण्डा बलराम सापकोटा उर्फ बले, ठेकदार पवनकुमार गुप्ता, उद्योगी श्रवणकुमार गोयल, एयर डाइनेस्ट्रीका सञ्चालक पवित्रकुमार कार्की, जुवा खेलाउने विक्रम गौतम र मुक्ति लामा थिए ।
उनीहरुको साथबाट दुई करोड ६७ लाख नगद बैंक अफ काठमाडौंको ३ लाख रुपैयाँको चेक, ३२ थान कौडा र ४ बुक तास बरामद भएको थियो ।

