गोरखा । गैरआवासीय नेपाली संघ एनआरएनएका अध्यक्ष कुमार पन्तले गोरखाको धार्चे गाउँपालिका–४ लाप्राकस्थित गुप्सीपाखामा निर्माणाधीन एकीकृत नमुना बस्तीको काम दुई महिनाभित्र सकेर हस्तान्तरणको तयारी भइरहेको बताउनु भएको छ ।
गृहजिल्ला गोरखा पुगेर पन्तले पत्रकारसँगै संक्षिप्त कुराकानी गर्दै बस्तीको काम अन्तिम चरणमा पुगेको बताउदै गैरआवासीय नेपालीको त्यत्रो पैसा परेको छ त्यतिकै छाड्न मिल्दैन गाउँपालिकासँग मिलेर कसरी संरक्षणको काम गर्न सकिन्छ भन्ने विषयमा छलफल गरिरहेको बताउनु भयो ।
केही पुनर्निर्माण प्राधिकरणसँग समन्वय गरेर गर्नुपर्ने काम छन, अब बाँकी काम के–के छन्, एक हप्ताभित्र पहिचान गर्छौं, दुई महिनामा पूरै कम्प्लीट गरेर बस्ती हस्तान्तरण हुन्छ,’ पन्तले भन्नुभयो । पाँच सय ७३ मध्ये ७० घरको शौचालयको काम सकिएको उहाँको भनाई छ । तीन सय शौचालय खाल्डो खनेर ढलान भएको छ, केही घरमा मात्र शौचालयका काम बाँकी छ, बाँकी काम कसरी पूरा गर्ने छलफलमा छौ पन्तले भन्नुभयो ।
एनआरएनए व्यवस्थापन पक्षबाट पछि नहटेको जानकारी पनि उहाँले दिनभयो । पन्तका अनुसार बस्ती भित्रको सडक, घेराबार लगायतका संरचनाको निर्माणका लागि पुनर्निर्माण प्राधिकरणसँग समन्वय गरेर काम अघि बढाइने छ ।
लाप्राकको पुरानो बस्ती जोखिममा परेपछि स्थानीयका लागि एनआरएनएले गुप्सीपाखामा बस्ती निर्माण गरिरहेको छ ।

