आइतबार, असोज १८, २०८३

बैतडीमा उपनिर्वाचनका लागि नेकपाले उम्मेदवारको टुङ्गो लगायो

बैतडी । अगामी मङ्सिरमा हुने उपनिर्वाचनका लागि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले बैतडीको दोगडाकेदार–४ मा उम्मेदवारको टुङ्गो लगाएको छ।

नरेन्द्रप्रसाद भट्टलाई दोगडाकेदार गाउँपालिका–४ मा वडाध्यक्ष पदको उम्मेदवारमा सर्वसम्मत छनोट गरेको नेकपा बैतडीका जिल्ला कमिटी सदस्य नरेन्द्रसिंह कार्कीले जानकारी दिए।

पीपलकोटमा सम्पन्न नेकपा दोगडाकेदार गाउँपालिका कमिटीको बैठकबाट भट्टलाई उम्मेदवारका लागि सिफारिस गरेको उनले बताए ।

छनोट भएका उम्मेदवार नेकपा दोगडाकेदार–४ का प्रस्तावित वडा कमिटी अध्यक्ष हुन्। उनी यसअघि पूर्वएमाले रहेका थिए।

यस्तै बैठकले यही कात्तिक २० गते पीपलकोटमा चुनावी आमसभाको आयोजना गर्नेसमेत निर्णय गरेको छ। बैतडीको दोगडाकेदार गाउँपालिका–४ का वडाध्यक्ष मानबहादुर विष्टको मृत्यु भएपछि उक्त वडामा उपनिर्वाचन हुन लागेको हो।

वडाध्यक्ष रिक्त रहेका बैतडीका ३ वडामा आगामी मङ्सिर १४ मा उपनिर्वाचन हुँदैछ । दोगडाकेदार गाउँपालिका–४, सुर्नया गाउँपालिका–१ र पुर्चौडी नगरपालिका–४ मा उपनिर्वाचन हुन लागेको हो।

अन्य वडाहरुमा कुनै पनि पार्टीले उम्मेदवारको टुङ्गो लगाउन सकेका छैनन् । उम्मेदवार छनोटका लागि विभिन्न पार्टीले आन्तरिक तयारी गरिरहेका छन्।