शुक्रबार, बैशाख १४, २०८१

प्रधानमन्त्रीलाई पत्र : एसिड आक्रमणकारीलाई फाँसी दिन माग गरिन्

काठमाडौं । एसिड आक्रमणमा परेर उपचार गराइरहेकी किशोरी मुस्कान अन्सारीले प्रधानमन्त्रीसँग आक्रमणकारीलाई फाँसी दिन माग गरेकी छिन् । मुस्कानको अहिले कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ । कक्षा ९ मा अध्ययरत वीरगञ्जकी खातुनमाथि स्कुल जाने क्रममा २० भदौमा एसिड आक्रमण भएको थियो ।

एसिड आक्रमण गर्ने माजिद मियाँ र सम्साद मियाँलाई पक्राउ गरी ज्यान मार्ने नियत तथा तेजाबलगायत अन्य रासायनिक, जैविक वा विषालु पदार्थ प्रयोग गरी कुरूप पारेको मुद्दा दर्ता गरेको थियो । अदालतका अभियोग पक्षले माजिदलाई १० वर्ष कैद र १ लाख जरिवाना तथा सम्सादलाई ५ देखि ८ वर्ष कैद र १ लाखदेखि ५ लाखसम्म जरिवाना मागदाबीसहित मुद्दा दर्ता गरेको भए पनि जिल्ला अदालतले दुवै नाबालिग रहेको भन्दै सुधार गृहमा पठाइएको छ ।

प्रधानमन्त्रीलाई लेखेको चिठ्ठीमा खातुनले त्यसप्रति असन्तुष्टि जनाएकी छन् । उनले भनेकी छन्, प्रधानमन्त्रीज्यू हजुरको दुई तिहाई सरकारको ठाउँमा म भइदिएको भए तेजाब हान्ने अपराधीलाई फाँसी दिन्थे होला ।’ उनले केही वर्ष पहिले सीमा बस्नेत र संगीता खड्कामाथि एसिड आक्रमण भएको बेला नै कडा कानुन बनाइदिएको भए आफू अहिले यो अवस्थामा नै आउने थिइन होला समेत भनेकी छन् ।
यस्तो छ उनको पत्र –

मिति :२०७६/७/५

माननीय प्रधानमन्त्रीज्यू
म मुस्कान खातुन अन्सारी

मेरो तर्फबाट नमस्ते । म एउटा तेजाब आक्रमणको नानी । हजुरलाई एउटा सानो चिठी । यो घटना मसँग घट्यो । यो घटनाको पीडा भनेको ठुलो पीडा हो । पहिले सीमा बस्नेत र संगीता खड्कालाई एसिड आक्रमण भएको बेला कडाभन्दा कडा कानुन भइदिएको भए आज म यो अस्पतालको बेडमा हुने थिइन होला । प्रधानमन्त्रीज्यू हजुरको दुई तिहाई सरकारको ठाउँमा म भइदिएको भए तेजाब हान्ने अपराधीलाई फाँसी दिन्थे होला ।

यसपाली एसिड आक्रमणकारीले ठुलो भन्दा ठुलो सजाए पाओस् ता कि म जस्तो एउटा बलिकामाथि या चेलीबेटी कसैमाथि तेजाव आक्रमण नहोस् । मैले जति पीडा खपेको छु, त्यो पीडा अरु कोही माथि पनि नहोस् । यो पीडा भनेको सानो पीडा होइन । एउटा देशको ठूलो पीडा हो । आमा र बुवाको पनि पीडा धेरै ठुलो पीडा हो । यो पीडा कसैको आमा र बुवाले खप्नु नपरोस् । त्यो दोषीलाई यसपालि ठूलो भन्दा ठुलो सजाय होस् । मेरो हजुरसँग बिन्ती र अपेक्षा छ । हजुरसँग मेरो एउटा अनुरोध छ कि मेरो पीडा बुझिदिनु होस्। यो घटना कसैमाथि नहोस् र कोही पनि तेजाब आक्रमण भएको चेलीबेटी अस्पताल नआओस् भन्ने अनुरोध छ ।

धन्यवाद