Nepali date


बुधबार, कार्तिक २७, २०७६

काठमाडौंमा कार्तिक ४ देखि ६ गतेसम्म अन्तर्राष्ट्रिय युवा सम्मेलन हुने

काठमाडौं । काठमाडौंमा अन्तर्राष्ट्रिय युवा सम्मेलनको आयोजना गरिने भएको छ । विज्ञान तथा प्रविधि क्षेत्रको विकासका लागि छलफल गर्न आयोजना गरिने सम्मेलनमा एसिया, युरोप, अष्ट्रेलिया तथा अमेरिकाका सहित १२ मुलुकका युवा वैज्ञानिक सहभागी हुने भएका छन् ।

कार्तिक ४ देखि ६ गतेसम्म सञ्चालन हुने सम्मेलन शिक्षा, विज्ञान तथा प्रविधी मन्त्रालय, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) र राष्ट्रिय युवा परिषदले संयुक्त रुपमा आयोजना गर्न लागेका हुन् ।

विशिष्टकृत ज्ञान, सीप, प्रविधी र नविनतम विचारमार्फत मुलुकको विकास कसरी गर्न सकिन्छ भन्ने विषयमा सम्मेनमा छलफल गरिने जानकारी दिइएको छ।

मुलुकभित्र रहेका युवालाई नविनतम कामका लागि अभिप्रेरित गर्न र नीति निर्माण तहमा समेत सुझाव प्राप्त हुने अपेक्षा गरिएको नास्टका उपकुलपति डा. सुनीलबाबु श्रेष्ठले जानकारी दिए ।

सम्मेलनमा  स्वदेशभित्र तथा बाहिर रहेका उत्कृष्ट नेपाली तथा विदेशी वैज्ञानिक तथा प्राविधिज्ञ, प्राध्यापक, पेशागत समूहका प्रतिनिधि, उद्योगी, वयवसायी, नीति निर्माता, सरकारी अधिकारीको सहभागिता रहनेछ ।

सम्मेलन अवधिभर ६५ वटा कार्यपत्र प्रस्तुत हुनेछ । ५० वटा पोस्टर प्रस्तुति, १८ वटा विषयगत प्रस्तुति रहनेछन् । भारत, बेलायत, जापान, दक्षिण अफ्रिका, थाइल्याण्ड, जर्मनी, चिन, नर्वे, कोरिया, सिंगापुर, अमरिका लगायतका मुलुकबाट सहभागी आउनेछन् ।

राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुंगेलका अनुसार गैर आवासीय नेपालीको तर्फबाट २५ जना वक्ता सहभागी हुनेछन् । सम्मेलनबाट प्राप्त भएका निष्कर्ष सरकारलाई बुझाउने योजना रहेको आयोजकले जनाएको छ।

फेसबुकबाट तपाइको प्रतिक्रिया