शुक्रबार, चैत १६, २०८०

म्यानमारसँगको सम्बन्ध अझ प्रगाढ हुने राष्ट्रपति भण्डारीको विश्वास

काठमाडौं । म्यानमारका राष्ट्रपति विन मिन्तले नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको ऐतिहासिक म्यानमार भ्रमणले दुई देशबीचको सम्बन्धलाई अझ माथि उठाउने बताएका छन्।

राष्ट्रपति भण्डारी र प्रतिनिधिमण्डलको सम्मानमा आज राजधानी नेपितस्थित प्रिन्सिडेन्सियल हाउसमा आयोजित राजकीय भोजमा म्यान्माली राष्ट्रपतिले यस भ्रमणबाट आपसी विश्वास, समझदारी तथा धार्मिक सांस्कृतिक सामिप्यता झन् बढ्ने विश्वास व्यक्त गरे।

दुई देशबीचको निकट ऐतिहासिक पृष्ठभूमि, सांस्कृतिक समानता र आपसी समझदारीले दुई देशबीचको मित्रताको परम्परागत सम्बन्ध कायम राखिरहेको पनि उनले बताए।

उनले आफूले सन् २०१८ को राजकीय भ्रमण र गौतम बुद्धको जन्मभूमि भ्रमण गरेको पनि स्मरण गरे।

आफूहरुको संयुक्त प्रयासले व्यापार, लगानी, पर्यटन, यातायात, उद्योग र संस्कृतिका क्षेत्रमा उपलब्धि हासिल गर्ने विश्वास व्यक्त गरे।

क्षेत्रीय तथा बहुपक्षीय क्षेत्र जस्तै बिम्स्टेक, द एशिया कोअपरेशन डायलग, संयुक्त राष्ट्र सङ्घका क्षेत्रमा निकट समन्वय र सहयोग बढिरहेको बताउँदै उनले नेपालसँग क्षेत्रीय र अन्तरराष्ट्रिय मञ्चमा मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

उनले नेपाली मूलका बर्मेलीहरु स्थानीय समुदायसँग मिलेर बसेको तथा सामाजिक आर्थिक विकासमा योगदान गरिरहेको बताए।

उनले म्यानमारको बगानका प्राचीन मन्दिर र यङ्गोनको आकर्षक स्वेदागोन पेगोडाले नेपाली प्रतिनिधिमण्डललाई म्यान्मा र नेपालका लुम्बिनी जस्ता बौद्ध तीर्थस्थलहरुबीच सम्बन्ध गाँस्न नयाँ विचार उत्पन्न हुने विश्वास गरे।

नेपाल र म्यानमारबीचको सम्बन्धको ६० औँ वार्षिकोत्सव र नेपाल भ्रमण वर्ष २०२०को सफलताको कामना पनि उनले गरे।

राष्ट्रपति भण्डारीले प्रत्युत्तर मन्तव्यका क्रममा आफूले गौतम बुद्धको जन्मभूमिबाट न्यानो माया र शुभकामना लिएर आएको बताउँदै बुद्धका सन्देशले मानिसको जीवन पद्धतिलाई नै मार्गनिर्देशन गरेको स्पष्ट गरे।

बौद्धदर्शनको उद्गमस्थल लुम्बिनीको विकासमा संयुक्त राष्ट्र सङ्घका महासचिव ऊ थान्त (म्यान्मा) को योगदानको प्रशंसा गर्दै उनले लुम्बिनीप्रति म्यानमारको सहयोग र सद्भाव रहने विश्वास राष्ट्रपति भण्डारीले व्यक्त गरिन्।

राष्ट्रपति भण्डारीले दुई देशका विकासका आकाङ्क्षा र चुनौती समान रहेकाले दुई देशबीच सहयोग आदानप्रदान हुनुपर्नेमा जोड दिइन्।

उनले व्यापार, पर्यटन, लगानी र संस्कृतिका क्षेत्रमा सहकार्य गरेमा महत्वपूर्ण उपलब्धि हासिल हुने विश्वास व्यक्त गर्दै बिम्स्टेकमा अझ बढी सहकार्य गर्न सकिने बताइन्।

उनले जलवायु परिवर्तनमा अनुकूलन प्राप्त गर्न दुवै देशले काम गर्नुपर्ने बताउँदै सन् २०२० अप्रिलमा नेपालमा हुने सगरमाथा संवादमा म्यानमारबाट उच्चस्तरीय सहभागिताको आशा व्यक्त गरिन्।

राष्ट्रपति भण्डारीले नेपाली मूलका म्यान्मालीको योगदानप्रति प्रशंसा गर्दै तिनको संरक्षण गरेकामा म्यान्मा सरकारप्रति कृतज्ञता व्यक्त गरिन्।

सो अवसरमा दुवै राष्ट्रपतिबीच उपहार आदानप्रदान गरिनाका साथै सांस्कृतिक कार्यक्रम पनि प्रदर्शन गरिएको थियो।

दुवै राष्ट्रपतिले प्रदर्शनमा सहभागीलाई फूलको माला दिएर सम्मान गरेका थिए। रासस