आइतबार, असोज १८, २०८३

सानेपामा कांग्रेसको चियापान समारोह,शुभकामना आदानप्रदान

काठमाडौं । नेपाली कांग्रेसले आईतबार सानेपास्थित पार्टी कार्यालयमाचियापान समारोहमा बिजया दशमी, दिपावली तथा छठको शुभकामना कार्यक्रम सम्पन्न गरेको छ ।

सो समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांस्कृतिक परम्पराहरुले समाजमा अनुशासन कायम राख्दै सबैको सम्मान र सत्यको जितको सन्देश बोकेकाले राम्रा कुरालाई निरन्तरता दिनुपर्ने बताएका छन् ।

उनले समाजको सुसम्बन्ध र सुव्यवस्था बनाई राख्न तथा सत्यको जीत र असत्य पराजीत हुन्छ भन्ने सन्देश हाम्रा परम्परा र संस्कृतिले दिने गरेको भन्दै उहाँले राम्रा कुरालाई निरन्तरता दिने अभ्यासमा जुट्नुपर्ने बताए। उनले कांग्रेस सभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेलसंगको सम्बन्ध ४५ वर्ष देखिको भएको उल्लेख गर्दे चाडपर्वले सम्बन्धलाई अझै राम्रो बनाउने बताए ।

नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमणलाई कांग्रेसले स्वागत गरेको बताए । उनले भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप घनिष्ट बनाउने विश्वास आफुले लिएको बताए। उनले राष्ट्रपति सीले आफुलाई चीन भ्रमणको निम्तो दिएको र आफुले मिलाएर आउँछु भनेको पनि जानकारी गराए।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसले स्थापित गरेको चियापान कार्यक्रम राष्ट्रिय राजनीतिक संस्कृति जसरी स्थापित भएको बताए । उनले परिर्वतनको सहयात्रीहरुको बीचको शुभकामनाको रुपमा आफुले चियापान कार्यक्रमलाई लिएको र सहयात्रीकै बीचमा आएको अनुभव आफुले गरेको बताए। उनले भने ‘नेपाली कांग्रेसको यो शुभकामना आदान प्रदान कार्यक्रममा आउँदा मलाई सहयात्रीहरुकै बीचमा आएको महसुस हुन्छ। तपाईहरुसँग आउँदा सहयात्रीहरुसँग कै भेटघाटमा आएको महसुस हुन्छ। हेर्दै जाऊ आउने दिनमा राजनीतिले कसरी कोल्टो फेर्दै जान्छ। मलाई विश्वास छ हाम्रो सहयात्रा जारी रहने छ।

दुई तिहाईको सरकार छ कस्तो सहयात्राको कुरा हो भन्ने संचारकर्मीको प्रश्नमा उनले भने ‘अहिले दुई तिहाइको कुरा नगरौ।

नेकपाका वरिष्ठ नेता एवं पुर्व प्रधानमन्त्री माधवकुमार नेपालले सत्ता र प्रतिपक्षीहरु सामाजिक कार्यक्रममा सहभागी हुने संस्कृति नेपाली राजनीतिको ‘ब्युटी’ भएको टिप्पणी गरे। विदेशमा सत्तापक्ष र प्रतिपक्षी दलका नेताहरुबीच बोलचाल पनि नहुने भन्दै उहाँले नेपालमा भने सांस्कृतिक कार्यक्रमहरुमा एकसाथ भेला हुने संस्कृति नेपाली राजनीतिको राम्रो पक्ष भएको बताए। उनले चिनिया राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण भव्य र शानदार भएको दाबी गरे। भ्रमणका क्रममा पर्यटन र उर्जाको विकास गर्ने सम्बन्धमा भएको सम्झौता  दुवै देशको हितमा रहेको टिप्पणी उनले गरे। नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले मुलुकमा राजनीतिक परिर्वतन ल्याउने समयमा भएको दलहरुबीचको सहकार्य र एकतालाई अहिले पनि निरन्तरता दिनुपर्ने बताए। उनले प्रतिपक्षी दलले राष्ट्रिय मुद्धाहरुमा सरकारसँग सहकार्य र एकता गरेर आर्थिक सम्मृद्धिको लक्षय हासिल गर्ने मार्गमा अघि बढ्नुपर्ने आवश्यकता औल्याए ।

समाजवादी पार्टी नेपालका संयोजक डाक्टर बाबुराम भट्टराईले लोकतन्त्रको सवालमा आफुहरु सधै कांग्रेससंग सहकार्य गर्न तयार रहेको बताए ।