काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीको औपचारिक निमन्त्रणामा चिनियाँ राष्ट्रपति सी चिनफिङ काठमाडौँ आइपुगेका छन् ।
राष्ट्रपति सी दुई दिने राजकीय भ्रमणका लागि शनिबार साँझ साढे ४ बजेर १० मिनेट जाँदा विशेष विमानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।
शुक्रबार राष्ट्रपति सी, विदेशमन्त्री वाङ यी र स्टेट काउन्सिलर याङ जिएछीसहितका ९० सदस्यीय टोली भारत भ्रमणमा आएको थियो। शनिबार दिउँसो २ बजे उक्त टोली भारतको चेन्नईबाट नेपाल प्रस्थान गरेको हो।
नेपाल आउनुअघि राष्ट्रपति सीले भारतको तमिल नाडुस्थित मामल्लपुरममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग करिब ४० मिनेट छलफल गरेका थिए।
चिनियाँ राष्ट्रपति सी विमानस्थलमा उत्रेलगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले विमानस्थलमै स्वागत गरेकी छन्।
राष्ट्रपति सी को स्वागतका लागि उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओलीलगायत मन्त्रीहरु, कूटनीतिक नियोगका प्रमुख, संवैधानिक अंगका प्रमुखहरुसमेत विमानस्थल पुगेका छन्।
स्वागत लगत्तै राष्ट्रपति सीको सम्मानमा नेपाली सेनाबाट विमानस्थलमै सम्मानगारत (गार्ड अफ अनर) अर्पण गर्ने कार्यक्रम रहेको छ।
राष्ट्रपति सीको भ्रमणलाई विशेष स्वागत र सम्मानको सन्देश दिन विमानस्थलमै गार्ड अफ अनरको कार्यक्रम राखेर त्यहीं कार्यकारी प्रधानमन्त्रीसहितको टोली उपस्थित भएको हो।
चीनका तर्फबाट यो २३ वर्षपछि भएको शीर्ष नेतृत्वको भ्रमण हो। यसअघि सन् १९९६ मा चिनियाँ राष्ट्रपति जियाङ जेमिनले नेपालको राजकीय भ्रमण गरेका थिए।

