किन मनाइन्छ दशैं : यस्तो छ वैज्ञानिक पक्ष ?

काठमाडौँ । १५ दिनसम्म मनाईने महान पर्व विजयादशमी पर्व घटस्थापनासँगै सुरु भईसकेको छ भने पूणिर्माको दिन यसको बिधिवत रुपमा अन्त्य हुन्छ ।

यसमध्ये पनि दशैंको पहिलो १० दिनको महत्व एकदमै धेरै रहेको छ । प्राचीनकालदेखि मनाईँदै आएको यो दशैंको धार्मिक, सांस्कृतिक, ऐतिहासिक र सामाजिक लगायत यावत महत्व रहेको छ ।

दशैंको धार्मिक महत्वलाई हेर्दा यो दैवी शक्तिमाथि आसुरी शक्तिको पराजय भएको उपलक्ष्यमा मनाउने गरिन्छ । त्यस्तै, यो पर्वको पौराणिक कहानीमाथि पनि प्रतीकात्मक अर्थको खोजी गर्ने हो भने यो भित्र पनि वैज्ञानिकता लुकेको पाईन्छ । नौ दिनसम्म देवी र महिषासुरको युद्धमा महिषासुरको पराजय भएको स्मरणमा विभिन्न किसिमका देवीहरुको पूजा गर्ने गरिन्छ । हामीले दशैंको नौ दिनसम्म पूजा गर्ने देवीको स्वरुपको आधारमा पनि हामी दशैंको धार्मिक महत्व पत्ता लगाउन सक्दछौं ।

नव दुर्गाको पूजा र त्यसको अर्थ : दशैंको पहिलो दिन सुख-समृद्धि र ऐश्वर्यको प्रतीक मानिने कलश स्थापना गरेर घटस्थापना गरिन्छ । घटलाई सुख-समृद्धि र ऐश्वर्यदायक तथा मंगलकारी मान्ने गरिएको छ । यहीदिन घटको पूजा गर्नुले घरको सबै विपददायक तरंगहरु नष्ट भएर सुख शान्ति र समृद्धि आउने धार्मिक विश्वास छ । दशैंको पहिलो दिन हामी दुर्गाको शैलपुत्री स्वरुपको पूजा गर्ने गर्दछौं ।

दोस्रो दिन हामीले नवदुर्गा मध्येकी दोस्री देवी ब्रहृमचारिणीको पूजा गर्छौं । भक्तहरुलाई सिद्ध र अनन्त फल दिने देवीको रुपमा ब्रहृमचारिणी देवीलाई मान्ने गरिएको छ । पहिलो दिन सुख, शान्ति र समृद्धिको कामना सहित गरिएको तपको भोलिपल्ट हामीले त्यो तपलाई सिद्ध गर्नको लागि ब्रहृमचारिणी स्वरुपको ध्यान गर्ने गरेका छौं ।

त्यस्तै, तेस्रो दिन हामी अस्तव्यस्त मनलाई एकाग्र हुन सिकाउने तेस्री दुर्गा चन्द्रघण्टाको पूजा गर्ने गर्दछौं । पहिलो दिनदेखि सुरु भएको साधनामा अन्यत्र मन नजाओस् भन्नको लागि यस्तो पूजा गर्ने गरिन्छ ।

त्यस्तै, चौथो दिन मृत्यु, रोग र कमजोरीबाट मुक्ति दिने देवी कुष्माण्डाको पूजा गरिन्छ । नवरात्रिकी पाँचौं दिन पूजा देवी स्कन्दमाताको पूजा ज्ञान र विद्वताको लागि गर्ने गरिन्छ । दशैंको छैटौं दिन गुप्त रहस्यकी प्रतीक कात्यायनी देवीको पूजा गरिन्छ । सातौं दिन उग्रस्वरुपकी सुख दायिनी देवीको पूजा गरिन्छ । नवरात्रको आठौं दिन सौन्दर्य र करुणामयी देवी महागौरीको पूजा गरिन्छ भने नवरात्रको नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ ।

यसरी कुनैपनि व्यक्ति भित्र रहेको अशान्ति, मनको अस्तव्यस्तता, अज्ञानता, रोग, कष्ट आदिलाई नौ दिनसम्मको साधनाबाट आफ्नो शरीरबाट छुटाउने पर्वको रुपमा यसलाई व्याख्या गर्ने गरिएको छ । पहिले जुनसुकै कुरालाई पनि धर्मसँग जोडेर व्याख्या गर्दा त्यसले स्थायित्व पाउने र धर्मकै डरले पनि त्यस्ता परम्पराहरुले निरन्तरता पाउने भएकोले यस्ता विषयहरुलाई धार्मिक घटनासँग जोड्ने गरिएको थियो ।

अर्काे तर्फ शारदीय शुक्ल पक्ष र वसन्तीय शुक्लपक्षको १५ दिने दुर्गाको स्मरण र पूजाको हिसाबले शुभ मानिन्छ । त्यसैले पनि यो समयमा दुर्गा पूजा गर्ने गरिएको हो । त्यसैले धार्मिक एवं आध्यात्मिक महत्वको आधारमा हेर्दा नौ दिनसम्मको साधनापछि हामी टीकाको दिन मान्यजनबाट आशीर्वाद लिएर नयाँ सुखी र समृद्ध जीवनको सु?वात गर्ने पर्व हो दशैं ।

दशैंको वैज्ञानिक पक्ष : दशैंमा नवदुर्गाको पूजा गर्नुकोपछि प्रतीकात्मक एवं वैज्ञानिक महत्व पनि कम छैन । दशैंमा लगाउने टीकाको वैज्ञानिक पक्ष, बलिको बैज्ञानिक पक्ष, जमराको महत्व आदि पनि रहेका हुन्छन् । हामीले दशैंमा राख्ने जमरालाई सांस्कृतिक दृष्टिले दीर्घायूको प्रतीक मानिन्छ । तर, जमराको वैज्ञानिकता खोज्दा बिहान शारीरिक व्यायाम गरेपछि जौं र गहुँको जमराबाट बनेको जुस पिउँने हो भने रोगसँग लड्ने क्षमताको वृद्धि हुन्छ र धेरै रोगको निको समेत हुने कुरा वैज्ञानिक रुपमा पुष्टि समेत भईसकेको छ ।

जमराको जुसले क्यान्सर, रक्तचाप, महिलामा हुने महिनावारी गड्बडी, थाइराईड, नसासम्बन्धी रोगका बिरामीलाई फाइदा गर्दछ । त्यस्तै, क्यान्सर, डाइविटिजलगायतका रोगीले यस्तो जुस पिउँदा फाइदा हुने बताईएको छ । जौं र गहुँको जमराबाट बनाएको जुसमा रोगसँग लड्ने क्षमता बढी हुने हुँदा विभिन्न किसिमका बाथ रोग, चिनी रोगलगायत बहुसंख्यक रोगबाट बच्न पनि नियमित यसको सेवन गर्न सकिन्छ ।

मानव शरीरमा रहेका सबै नाडीहरुमध्ये इडा, पिङ्गला र सुषुम्नालाई मुख्य मानिन्छन् । सुषुम्ना मस्तिष्कको मध्यभागबाट निधारतर्फ निस्केको हुन्छ । सुषुम्नालाई ज्ञानको प्रवाहक मानिन्छ । त्यसैले सुषुम्नामा पर्ने गरी नै टीका लगाइन्छ ।

निधारमा लगाइएको चन्दनले मानिसका विकारयुक्त किटाणुको नाश गर्ने, विचार शुद्ध राख्ने, वीर्य संरक्षण गर्ने मान्यता रहेको छ । चन्दन लगाउँदा मन शीतल हुन्छ भन्ने मान्यता समेत रहेको छ । मस्तिष्कको तातोपनालाई सन्तुलित राख्न पनि चन्दन टीका लगाउने गरिन्छ । यस्तै हरेक परम्पराको वैज्ञानिक महत्व रहेको पाईन्छ ।

दशैंको ऐतिहासिक पक्ष : अर्काे तर्फ दशैंको ऐतिहासिक महत्व पनि उस्तै छ । ऐतिहासिक रुपमा यो पर्व यही मितिदेखि सुरु भयो भनेर त अहिलेसम्म पत्ता लागिसकेको छैन । तर, यो आजभन्दा ६ हजार वर्ष पहिलेदेखि नै सुरु भएको अनुमान गरिएको छ ।

प्राचीन पूर्वीय सभ्यता सिन्धुघाँटीको सभ्यताको समयदेखि नै यसको सुरु भएको अनुमान गर्ने गरिएको छ । त्यसपछिको वैदिककालमा देवी र शक्तिको पूजा गर्ने प्रचलन पनि रहेकोले वैदिककाल भन्दा अघि नै यसको सुरुवात भएको मान्न सकिने आधार रहेको छ । त्यसैले सबैभन्दा पुरानो सभ्यताको समयदेखि चलेको यो चार्डको ऐतिहासिक महत्व पनि निकै रहेको मान्न सकिन्छ ।

सामाजिक महत्व तर्फ यो चार्ड भातृत्व र एकताको पर्व हो । विभिन्न कारणले परिवारबाट छुटेकाहरुले एकैठाउँमा भेला भएर एक आपसमा खुशी साँट्ने गर्दछन् । त्यसैले यो पर्वको महत्व निकै धेरै रहेको छ । वर्षमा एक पटक भएपनि राम्रो लगाउने र मिठो खाने गरिन्छ । यसले गर्दा सधैंभरीको पीडालाई केही दिन भनेपनि भुलाउन मद्दत गर्दछ । त्यस्तै, अर्काेतर्फ यसमा प्रयोग गरिने कुपिण्डो, जमरा जस्ता औषधिमूलक फलफूलहरु समेत दशैंसँगै आउने गर्दछ । यसले चिकित्साको क्षेत्रमा पनि निकै महत्व दिने गरेको छ । त्यस्तै, आर्थिक महत्व अन्तर्गत् खेती गरेर खेती भित्र्याईसकेका वा भित्र्याउने बेला नभएर फुर्सद भएको बेलामा यस्तो पर्व मनाईन्छ । यो पर्वमा निकै आर्थिक चहलपहल हुने भएकोले आर्थिक क्षेत्रमा पनि यसको महत्व निकै रहेको मान्न सकिन्छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया