बुधबार, असार २४, २०८३

भ्रमण वर्ष २०२०’ को अवसर सेनाले पर्यटकीय गतिविधि संचालन गर्ने

काठमाडौं । ‘नेपाल भ्रमण वर्ष २०२०’ को अवसर पारेर मुलुकको पर्यटन प्रवर्द्धनका लागि नेपाली सेनाले साहसिक तथा पर्यटकीय गतिविधि संचालन गर्ने भएको छ ।

उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईको उपस्थितिमा नेपाली सेनाले बिहीबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी विदेशी पर्यटकहरुको सहभागिता हुने गरी माउन्ट एभरेष्ट एक्पिडिशन, नेपाल म्याराथुन लगायतका प्रतियोगितात्मक साहसिक खेलकुद कार्यक्रम तथा पर्यटकीय गतिविधि संचालन गर्न लागिएको जानकारी गराएको हो ।

 

‘नेपाल भ्रमण वर्ष २०२०’ लाई सफल बनाउन नेपाली सेनाले पनि माउन्ट एभरेष्ट एक्पिडिशनलगायतका साहसिक खेलकुद कार्यक्रम घोषणा गरेको नेपाली सेनाका बलाधिकृत रथी सरद गिरीले जानकारी दिए ।

भ्रमण वर्षका अवसर नेपाली सेनाले नेपाली म्याराथन दौड, जंगली सफारी, माउन्ट एभरेष्ट पदयात्रा, बहुराष्ट्रिय संयुक्त सैनिक सगरमाथा आरोहणलगातका नौं वटा कार्यक्रम आयोजना गर्न लागेको गिरीले जानकारी दिए । कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री पोखरेलले मुलुकले लिएको लक्ष्य प्राप्तीका लागि नेपाली सेनाले अघि सारेको जस्तो कार्यक्रम अन्य क्षेत्रले पनि अघि बढाउनुपर्ने जरुरी रहेको बताए ।

नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाएर नेपालको पर्यटन क्षेत्रको विकास गर्न सरकारले सक्दो पहल गरिरहेको पनि बताए ।