पथरी । १ नम्बर प्रदेश सरकार, राष्ट्रिय युवा परिषद र मोरङ उर्लाबारीमा मुख्य कार्यालय रहेको मदन भण्डारी स्मृती प्रतिष्ठानको साझेदारीमा युवा नवप्रवर्तन केन्द्रको स्थापना भएको छ ।
व्यवसायिक सोच भएका युवाहरुलाई तालिम, लगानी र उत्पादित सामाग्रीको बिक्री वितरणसम्म गर्न सहयोग गर्ने उदेश्यले युवा नवप्रवर्तन केन्द्रको स्थापना गर्दै त्री पक्षीय समझदारी भएको हो ।
प्रदेश सरकार, प्रतिष्ठान र युवा परिषदवीच सोमबार समझदारी पत्रमा हस्ताक्षर भएको थियो । १ नम्बर प्रदेश सरकारको सामाजिक विकास मन्त्री जीवन घिमिरे, राष्ट्रिय युवा परिषदको कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुङ्गेल र प्रतिष्ठानको अध्यक्ष गुरु बरालको रोहोबरमा समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
व्यवसाय गर्न चाहने युवाहरुलाई उस्को रुचि र दक्षता अनुसारको तालिम, लगानी जुटाइदिने र उनिहरुले उत्पादन गरेको सामाग्रीहरुलाई बजारीकरणसम्म युवा नवप्रर्तन केन्द्रले गर्ने मदन भण्डारी स्मृति प्रतिष्ठानको अध्यक्ष गुरु बरालले बताए ।
सो प्रयोजनको लागि राष्ट्रिय युवा परिषदबाट ६५ लाख र प्रदेश सरकारबाट एक करोड व्यवस्थापन गर्ने सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताए । प्रदेश सरकारले चाँडै नियमावली बनाएर कार्यक्रम सुरु गर्ने समेत बताए । संघीय सरकारले युवालाई युगान्तकारी परिवर्तन गराउन १५ औं योजनामा युवा नवप्रर्तन केन्द्रको स्थापनाको लक्ष र वर्तमान सरकारको नीति तथा कार्यक्रम अनुसार यो योजना नेपालमै पहिलो पटक लागू गर्ने प्रयास भएको युवा परिषदको उपाध्यक्ष माधवप्रसाद धुङ्गेलले बताए ।
तीन पेजमा रहेको समझदारी पत्रमा युवा परिषदले समन्वयत्मक भूमिका खेल्ने, प्रदेशको सामाजिक मन्त्रालयले नीति निर्मान र श्रोत व्यवस्थापन गर्ने र प्रतिष्ठानले कार्यान्वयनको योजना निर्माण, मानव संसाधनको व्यवस्थापन र व्यवसायिक युवाहरुलाई परामर्श तथा कार्यन्वयनको पाटो जिम्मा लिने उल्लेख छ । आगामी २५ बर्षसम्म लागूहुने समझदारी पत्रमा प्रतिष्ठानको तर्फबाट कार्यकारी निर्देशक विनोद अर्याल, परिषदको प्रशासकिय अधिकृत डा।बाबुराम ढुङ्गाना, मन्त्रालयको उपसचिव दामोदर फुयलले हस्ताक्षर गरेको हो ।
समझदारीपछी मन्त्री जीवन घिमिरेले युवाहरुको पहलमा नेपालमा राजनीतिक परिवर्तन भएको उल्लेख गर्दै अब देशलाई संमृड्दीको लागि युवाहरु व्यावसायिक बन्नु पर्ने पताए ।

