बुधबार, असार २४, २०८३

संविधानको विरोध गर्दै आएको भारतका राष्ट्रपतिले दिए शुभकामना, प्रधानमन्त्री मौन

काठमाडौं। नेपालको संविधान जारी भएदेखि नै विरोध गर्दै आएको भारतका राष्ट्रपति रामनाथ कोविन्दले नेपालको चौथो संविधान दिवसका दिन शुभकामना दिएपछि कुटनैतिक वृत्तमा तरंग आएको छ । नेपालले यसअघि ३ पटक संविधान दिवस मनाइसक्दा भारतको तर्फबाट कहिल्यै शुभकामना नआएकोमा चौथो दिवसमा राष्ट्रपतिले नै शुभकामना दिएपछि यसको अर्थ खोज्न थालिएको छ ।

राष्ट्रपति कोविन्दले आज नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई शुभकामना सन्देश पठाएका हुन् । राष्ट्रपतिले शुभकामना सन्देश पठाए पनि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी भने अझैसम्म मौन छन् । भारतको तर्फबाट यसअघि भने कहिल्यै शुभकामना आएको थिएन र भारतले नेपालकोसंविधान जारी हुँदा त्यसको स्वागत पनि गरेको थिएन ।

नेपालमा संविधान जारी भए लगत्तै भारतले नेपालमा अघोषित नाकाबन्दी लगाएको थियो । भारतले नाकाबन्दी लगाउँदै नेपाललाई संविधान संशोधन गर्न दबाब दिएको थियो । तर, तत्कालीन सरकार नझुकेपछि अन्ततः भारत झुक्न बाध्य भएको थियो । संविधान जारी हुनु २ दिन अघि पनि भारतले आफ्ना दूत पठाएर नेपालका शीर्ष नेतालाई संविधान जारी नगर्न दबाब दिएको थियो । यद्यपि त्यतिबेला नेपालका नेताहरु झुकेनन् । भारतले अहिले पनि नेपालको संविधान संशोधन हुनुपर्ने मत राख्दै आएको छ ।