बिहिबार, चैत १५, २०८०

दीर्घकालीन विकल्प छैन काठमाडौँ फोहर व्यवस्थापन

काठमाडौँ । एक सातापछि सोमबारदेखि फोहर सङ्कलन शुरु गरिए पनि काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनको दीर्घकालीन विकल्प देखिएको छैन । ककनी गाउँपालिकास्थित सिसडोलमा स्थानीयवासीले विभिन्न माग राखेर समयसमयमा अवरोध सिर्जना गरिरहेका छन् भने अर्कातिर बञ्चरेडाँडामा निर्माण गरिने भनिएको ‘ल्याण्डफिल साइट’ निर्माण सम्पन्न हुन तीन वर्ष लाग्ने भनिएको छ । अहिले उपत्यकाका सबै स्थानबाट कुहिने र नकुहिने फोहर एकै ठाउँमा राखेर सङ्कलन भइरहेको छ । फोहरको वर्गीकरण हुन नसक्नु नै फोहर व्यवस्थापनको मुख्य समस्याका रुपमा देखिएको महानगर वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठले बताउनुभयो । अझै पनि यहाँको फोहर वर्गीकरण नगर्ने हो भने सिसडोल, बञ्चरेडाँडा वा अरू कुनै फोहर विसर्जनस्थल छोटो समयका लागि मात्रै हुने उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “हामीले बञ्चरेडाँडामा फोहर केही वर्ष फाल्छौँ फेरि यही अवस्था आइहाल्छ ।”

वर्गीकरण गरेर नकुहिने र पुनः प्रयोग नहुने फोहर मात्रै ल्याण्डफिल साइटमा पठाउँदा मात्रै फोहर व्यवस्थापनको समस्या नहुने प्रमुख श्रेष्ठको भनाइ छ । महानगरवासीले कुहिने फोहर र नकुहिने फोहर छुट्टाछुट्टै राख्नुपर्नेमा जोड दिँदै उहाँले थोरै भए पनि करेसाबारी भएकाले तरकारी र फलफूलका खेर गएका भागबाट आफूलाई चाहिने मल तयार गर्न सक्ने बताउनुभयो ।

उपत्यकामा उत्पादन हुने फोहरको आधा फोहर कुहिने फोहर भएको बताउँदै उहाँले तीबाहेक पनि कागज, प्लास्टिकलगायत फोहर घरघरमै लिन आउनेलाई पठाउने र त्यसबाहेकको फोहर मात्रै फोहर सङ्कलन गर्ने गाडीमा पठाउनुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “यसले गर्दा एकातिर फोहरको मात्रा ज्यादै कम हुन्छ भने अर्कातिर कम्पोष्ट मलको उत्पादन हुन्छ ।”

भविष्यमा महानगर आफैँले प्राङ्गारिक मल उत्पादनको योजना बनाएको प्रमुख श्रेष्ठले बताउनुभयो । सङ्कलित फोहर वर्गीकरण गरे कुहिनेबाट कम्पोष्ट मल बनाउने योजना बनाइएको छ । सडक छेउमा फोहर फाल्ने भाडा राखे पनि उपत्यकावासीको जथाभावी फोहर फाल्ने बानीमा सुधार नआएको उहाँले बताउनुभयो । प्रमुख श्रेष्ठले भन्नुभयो, “यहाँका कर्मचारीले बिहानभर सफा गरेको सडक दिउँसोसम्म कागज र प्लास्टिकले भरिसक्छ ।”

काठमाडौँ मात्रै नभएर उपत्यकाका अधिकांश पालिकाले सिसडोलमा नै फोहर विसर्जन गर्दै आएका छन् । उपत्यकाका काठमाडौँ, ललितपुर र भक्तपुरमा स्थानीय तह र निजी कम्पनीले दैनिक आ–आफ्नै तरिकाले फोहर सङ्कलन तथा व्यवस्थापन गरिरहेका छन् । फोहर सङ्कलन गर्ने निजी कम्पनी अहिलेसम्म दर्ता प्रक्रियामा नआएकाले तिनलाई प्रक्रियामा ल्याउन पहल भइरहेको पनि श्रेष्ठले जानकारी दिनुभयो । निजी कम्पनीले घरघरबाट र स्थानीय तहले सडकमा थुपारिएका तथा सार्वजनिकस्थल र केही पुराना बस्तीका फोहर सङ्कलन गर्ने गरेका छन् । स्थानीय तह र निजी कम्पनी दुवैले आ–आफ्नै टिप्परमार्फत नुवाकोटस्थित सिसडोलमा व्यवस्थापन गर्दै आएका छन् ।

उपत्यकाका २१ पालिकामध्ये दुई महानगरपालिका, १६ नगरपालिका र तीन गाउँपालिका छन् । त्यसमध्ये १८ स्थानीय तहको फोहर सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ । उपत्यकामा फोहर सङ्कलन गर्ने ४६ निजी कम्पनी छन् । निजी कम्पनीमा सफाइ मजदूर, चालक र अन्य प्रशासनिक गरी दुई हजार ६०० कर्मचारी कार्यरत छन् ।

निजी कम्पनीले दैनिक ८० देखि १०० टिप्पर फोहर सिसडोलमा विसर्जन गर्दै आएका छन् । उनीहरुले त्यसरी विसर्जन गरेको फोहरबापत काठमाडौँ महानगरपालिकालाई प्रतिटिप्परको रु ३५० बुझाउने गरेको श्रेष्ठले जानकारी दिनुभयो ।

उपत्यकामा स्थानीय तहले आफैँ पनि फोहर सङ्कलन गर्ने गरेका छन् । काठमाडौँ महानगरपालिकाले दैनिक ३५० मेट्रिक टन फोहर आफैँ सङ्कलन गरेर सिसडोलमा व्यवस्थापन गर्दै आएको प्रमुख श्रेष्ठले जानकारी दिनुभयो । सो कार्यका लागि महानगरपालिकासँग आफ्नै २१ टिप्पर छन् । ललितपुर महानगरपालिकाले दैनिक आठ टिप्परमार्फत आफैँ दैनिक ४० देखि ५० मेट्रिक टन फोहर सङ्कलन गर्ने गरेको छ ।

शहरी विकास मन्त्रालयले नुवाकोटको बञ्चरेडाँडामा करीब रु ३८ करोडको लागतमा दीर्घकालीन रूपमा फोहर व्यवस्थापनका लागि ल्याण्डफिल साइट निर्माण थालेको छ ।

सरकारले उपत्यकाको फोहरमैला व्यवस्थापन गर्न बञ्चरेडाँडामा निर्माण गर्नुपर्ने करीब १५ मिटर अग्लो बाँध र अन्य पूर्वाधारसहितको सो ल्याडफिल साइट सिसडोलभन्दा दुई किलोमिटर टाढा रहेको छ । हाल काठमाडौँ उपत्यकाबाट दैनिक करीब एक हजार मेट्रिक टन फोहर निस्कन्छ । काठमाडौँ उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहरमध्ये करीब ७५ प्रतिशत फोहर सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ ।

विसं २०६२ देखि कामपाले सिसडोलमा फोहर विसर्जन गर्दै आएको छ । कामपापछि अरू स्थानीय तहले समेत सङ्कलित फोहर सिसडोल नै लैजाने गरेका छन् । दुई वर्षका लागि भनेर शुरु भएकामा अहिले १३ वर्ष बित्दा पनि सिसडोलमै फोहर विसर्जन भइरहेको हो । फोहरका कारण दुर्गन्ध फैलिएको र स्वास्थ्यमा असर पुगेको भन्दै स्थानीयवासीले पटकपटक अवरोध गर्दै आएका छन् ।