Nepali date


आइतवार, साउन ५, २०७६

जनवर्गीय संगठन एकताले पार्टी जीवनमा नयाँ रक्तसञ्चार : लामिछाने

नेकपाको विद्यार्थी तथा युवा लगायतका प्रभावशाली जनवर्गीय संगठन एकता अझै हुन सकिरहेको छैन । प्रस्तुत छः नेकपाको विद्यार्थी संगठन अनेरास्ववियु र अखिल क्रान्तिकारीबीच एकतामा भइरहेको ढिलाई, नेता कार्यकर्तामा उत्पन्न निरासा र एकता प्रक्रियामा भइरहेका छलफल तथा बहसमा केन्द्रित रहेर अनेरास्ववियुका सचिव आरसी लामिछानेसँगको कुराकानी :-

नेकपाले जिल्ला नेतृत्व टुंगो लगायो तर जनवर्गीय संगठन एकताबारे चासो दिएन, किन ?
चासो नदिएको भन्ने अर्थमा नबुझौँ । पार्टीको नर्सरीको रुपमा हेरिने जनवर्गीय संगठनको एकता साँच्चिकै हार्दिकताका साथ सम्पन्न गर्न बरु पार्टी चिन्तित छ भन्ने लाग्छ । आगामी जेठ मसान्तभित्रै जनवर्गीय संगठन एकता टुंगिने गरी छलफल भइरहेको छ । जसरी जिल्ला कमिटी एकताले पार्टीमा उत्साह देखाएको छ, त्यसैगरी जनवर्गीय संगठन एकताले पार्टी जीवनमा नयाँ रक्तसञ्चार गराउने छ ।

जनवर्गीय संगठन एकता कसरी टुंगिन्छ ? जिल्ला कमिटी टुंग्याउन लागु गरिएको मापदण्डलाई आधार बनाइन्छ वा नयाँ विधि अपनाइन्छ ?
पार्टी जिल्ला कमिटी नेतृत्व टुंगिएको विषयले पार्टी र कार्यकर्ता पंक्ति उत्साहित छ तर जसरी त्यो निर्णय आयो, त्यसले नयाँ कार्यकर्ता र खासगरी युवामा नैरास्यता उत्पन्न गराएको छ । यसलाई पश्चगामी निर्णय भनेर कसैले आलोचना गर्यो भने पनि त्यसमा केही न केही तथ्यले काम गरेको छ । एउटै व्यक्ति जो सांसद छ, मन्त्री छ वा पहिले पनि जिल्ला अध्यक्ष भएर काम गरिसकेको छ, उसैलाई पार्टी जिल्ला कमिटीमै फर्केर काम गर भन्नु कति अग्रगामी निर्णय हुनसक्ला ? तल पार्टीको नेतृत्व लिन तम्तयारलाई निरास बनाएर देशको खाका कोर्न अर्काे बाटो हिँडिरहेकालाई फेरि पार्टी चलाउन दिइँदा उनीहरुलाई पनि अफ्ठ्यारो पारेको छ । त्यसकारण यस्तो पार्टीको एकता शैली र मापदण्डकै आधारमा जनवर्गीय संगठन एकता कल्पनासमेत गर्न सकिँदैन ।

हाम्रा केही साथीहरुको आत्मकेन्द्रित मानसिकताका कारण हामीले समयमै अधिवेशन गर्न सकेनौँ । यही कारण धेरै साथीहरुको नेतृत्व क्षमतामाथि पनि बलात हमला भएको छ । यो हामीसहितको वर्तमान नेतृत्वको कमजोरी पनि हो ।

जिल्ला कमिटीमा जस्तै अखिलमा पनि वर्तमान नेतृत्व दोहोरिने सम्भावना कति छ ?

अनेरास्ववियुमा मात्रै होइन युवासंघ वा वाइसिएलको वर्तमान नेतृत्व फेरि पनि संगठनको नेतृत्वमा आउनुपर्ने कुनै आवश्यकता छैन । जसरी पार्टीको जिल्ला कमिटीका पूर्वअध्यक्षहरु फेरि अध्यक्ष बनाइए । उहाँहरुलाई अन्यत्र व्यवस्थापन गरिदिनुपर्छ । विद्यार्थी र युवा आन्दोलनलाई अगाडि बढाउन अब नयाँ साथीहरुले जिम्मा लिनुपर्छ । उदारहणका लागि संघीय संसद रहनुभएकी अनेरास्ववियुकी वर्तमान अध्यक्ष नवीना लामा एक वर्ष अघिदेखि नै राजीनामा खल्तीमा हालेर बसिरहनुभएको छ । विद्यार्थी आन्दोलन भन्दा पनि उहाँ अब संघीय संसदमा महत्वपूर्ण भूमिका खेल्न लालयित र क्रियाशील हुनुहुन्छ । आफ्नो असल उत्तराधिकारी खोजी गरिरहँदा आइपरेका केही समस्याका कारणले मात्रै उहाँले अध्यक्षको रुपमा काम गरिरहनुपरेको हो । उहाँ आफैँले अखिलबाट बिदा हुने कुरा धेरै अघि सोच्नु भएको थियो । एउटा भीमकाय विद्यार्थी संगठनको अध्यक्ष बनेर काम गरिसक्नुभएका अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जीत तामाङका हकमा पनि फेरि नेतृत्वमा आउनु हिजोको आफ्नो नेतृत्वलाई कम आँक्नु मात्रै हो । हाम्रा केही साथीहरुको आत्मकेन्द्रित मानसिकताका कारण हामीले समयमै अधिवेशन गर्न सकेनौँ । यही कारण धेरै साथीहरुको नेतृत्व क्षमतामाथि पनि बलात हमला भएको छ । यो हामीसहितको वर्तमान नेतृत्वको कमजोरी पनि हो ।

एकतापछि अखिलको संरचना कस्तो बन्छ ? छलफल कसरी चलिरहेको छ ?
यसमा हाम्रो बीचमा छलफल चल्ने भन्दा पनि लामो अनुभवबाट नेतृत्वमा पुगेका नेताका बीचमा यो विषयलाई कसरी टुंग्याउने भनेर संवाद भइरहेको होला । हामीले पनि पार्टी नेतृत्वलाई आआफ्ना सुझाव दिइरहेका छौँ । व्यक्तिको विगतको योगदान र क्षमताको आधारमा पार्टी नेतृत्व चुक्दैन भन्नेमा विश्वस्त छु । आम कार्यकर्तामा नयाँ उत्साह भर्ने गरी एकता गरिनुपर्छ । एकतापछिको संरचनाबारे अनेरास्ववियुका तत्कालीन इञ्चार्ज दिवंगत नेता रवीन्द्र अधिकारीको नेतृत्वमा भएको छलफलले टुंग्याएअनुरुप नै नयाँ कमिटी निर्माण हुने सम्भावना देखिन्छ । समस्या संरचनामा भन्दा पनि नेतृत्व चयनमै हो ।

प्रसंग बदलौँ, पछिल्लो समय अनेरास्ववियुले आफ्नो प्रतिपक्षीय भूमिका बिर्सँदै गएको, स्ववियु निर्वाचन गराउन नसकेको, सरकारका गलत कामविरुद्ध बोल्न छोडेको र विद्यार्थी आन्दोलनका नयाँ कार्यभार पक्रिन नसकेको हो ?
तपाईंको कुरामा आंशिक सत्यता छ । तर कतिपय विषयबस्तु समीक्षा गरेर अगाडि बढ्नुपर्छ । आजकै शैलीबाट नेपालको विद्यार्थी आन्दोलन अघि बढ्न सक्दैन । हाम्रा कार्यशैली बदल्न जरुरी छ । विद्यार्थी आन्दोलनमा लागेका हरेकका क्रियाकलाप पारदर्शी हुन जरुरी छ । स्ववियु निर्वाचन गर्न न्वारनदेखिको बल लगाएर लागेका अखिल र क्रान्तिकारी नै हुन् । स्ववियु निर्वाचन हुन नदिने भूमिकामा नेविसंघ र अझ खासगरी कांग्रेस सभापति मुख्य जिम्मेवार हुनुहुन्छ । त्यस्तै, भूमिकाको कुरा गर्दा विद्यार्थी आन्दोलनले सदैव रत्नपार्कमै केन्द्रित हुनुपर्छ र टायर नै बालेर नारा उरालिरहेको हुनुपर्छ भन्ने मानसिकता अब परिवर्तन गरिनुपर्छ । हाम्रो आन्दोलनको देनबाट नेतृत्वमा पुग्नुभएका नेताहरु सही कर्ममा हुनुहुन्छ साथ दिने, कुकर्ममा हुनुहुन्छ साथ नदिने र सच्चिन अनुरोध गर्ने त हामीले गरिरहेकै छौँ नि ? सँगै विद्यार्थी आन्दोलन कहिल्यै पनि सत्तापक्षीय हुँदैन भन्ने तथ्य ख्याल गरिनुपर्छ ।

एकथरिले विद्यार्थी आन्दोलनले समयानुकुल गति लिन नसकेकोे दाबी गरिरहेका छन् नि ?
विद्यार्थी आन्दोलनले परिवर्तित परिवेशमा आफूलाई अपडेट गर्न नसकेको सत्य हो । तर अपडेट भएन भनेर समग्र विद्यार्थी आन्दोलनकै सान्दर्भिकता सकियो भन्ने अर्थ लगाउनु गलत हुन्छ । हामीले हिजो जनताका छोराछोरीले पढ्न पाउनुपर्छ भनेर उनीहरुलाई स्कुलसम्म पुर्याउन नारा उराल्यौँ । पढ्न पाउने वातावरण तयार भयो । आज पढ्न पाउने मात्रै होइन गुणस्तरीय शिक्षा चाहियो भनिरहेका छौँ । अझ हामीले आज त विद्यार्थीले प्राप्त गरेको सर्टिफिकेट धितो राखेर ऋण पाउनुपर्छ भन्ने नयाँ एजेन्डा स्थापित गर्न खोजिरहेका छौँ । साथै आजको विद्यार्थी आन्दोलनले राज्यको नीति निर्माण गर्ने काममा पनि आफूलाई उभ्याउनुपर्ने अवस्था आएको छ ।

विद्यमान विद्यार्थी आन्दोलन सैद्धान्तिक, वैचारिक र हिजोको आदर्शबाट च्युत हुँदै पुँजिवादी चरित्र प्रदर्शन गरिरहेको आरोप छ, तपाईंलाई के लाग्छ ?
यो विद्यार्थीमा मात्र होइन, सबैतिर उस्तै छ । मुलुकमा समाजवाद स्थापनाको ध्येय बोकेको कम्युनिष्ट पार्टीले आफ्नो जनाधार बढाएर निवार्चन जित्न हिजो सबै तप्काका मान्छेलाई पार्टीमा प्रवेश खुला गर्नुपरेकाले यस्तो अवस्था आयो भन्ने लाग्छ । अब निर्वाचनमा जित हासिल गरिसकेपछि यसमा करेक्सन आवश्यक छ र पार्टीले आफ्नो मूल्य, मान्यता र आदर्शको खिलाफमा जाने कार्यकर्तालाई संगठनबाट बिदा गर्नसक्नुपर्छ । पार्टीका नीति, कार्यक्रम र सिद्धान्त बोक्न सक्ने व्यक्तिलाई उम्मेदवार बनाउने र राजनीतिक एजेण्डामा प्रष्ट भएका मान्छेलाई मात्र पार्टी सदस्यता दिने हो भने यो समस्या आफैँ समाधान हुनेछ । विनोद चौधरीहरुबाट अब पाठ नसिके कहिले सिक्ने ? अनेरास्ववियुको हकमा पनि यही हो । अब संगठनभित्र दलालीकरणको सम्भावना रोक्नैपर्छ ।

अन्त्यमा, तपाइँ हाल अखिलको सचिव हुनुहुन्छ, एकतापछि संगठनमा तपाईंको भूमिका के हुन्छ ?
मेराे स्कुल जिवनको सक्रियताका अलवा २०५४ देखि उपत्यकामा समेत अनवरत अखिलमा क्रियाशील रहँदा मैले कहिल्यै पनि पद खोजिनँ । कामका दौरान प्राप्त भएका जिम्मेवारी बहन गर्दै आइरहेको छु । बरु मेरो चिन्ता आफ्नो भन्दा पनि कहिले अधिवेशन नभएर त कहिले एकतामा लामो समय बितेका कारण संगठनमा आफ्नो ऊर्जावान समय व्यतित गरेका इमानदार र क्षमतावान साथीहरुमाथि अन्याय हुने हो कि भन्ने मात्र हो । एक वर्ष अघि हुन्थ्यो भने परिस्थिति अर्कै हुन्थ्यो होला । तर अब अखिलको महत्वपूर्ण जिम्मेवारीमा रहेर काम गरिसकेका साथीहरुलाई अन्यत्र व्यवस्थापन गरेर पार्टी नेतृत्वले मलाई महत्वपूर्ण भारी बोकाउनेछ भन्ने कुरामा विश्वस्त छु ।
@जनतासमाचार डटकम/नरेश न्यौपाने

Loading...

फेसबुकबाट तपाइको प्रतिक्रिया