Nepali date


आइतवार, साउन ५, २०७६

बारी बारीमा केरा !

बलेवा। जैमिनी नगरपालिका–१ कुश्मीशेरा, खौरका सूर्य पौडेल डोकोभरि केरा बोकेर बागलुङ कुश्मीशेरा सडकखण्डमा हरेक दिन ओहोरदोहोर गर्ने गर्छन् । उनी दिनमा हजारौं रुपैयाँको केराको कारोबार गर्छन् । दर्जनमा हिसाब हुने गाउँघरमा सूर्यले किसानको बारीबाट नै केरा उठाएर डोको भर्छन् र बजार लग्छन् । आफ्नै बारीको केरा पनि दैनिकी धान्ने उनको अर्को स्रोत हो ।

प्राथमिक स्वास्थ्य केन्द्र कुश्मीशेरा नजीकै रहेको उनको सानो किराना पसलमा नून, तेल, चिनी, चियापत्तीभन्दा दोब्बर केराको कारोबार हुन्छ । उनले बिक्री गर्ने केराका लागि कहिल्यै बाहिरबाट आयात गर्नु परेन । बरु उनले आफ्नो सम्पर्कमा रहेका किसानको बारीमा फलेका केरा सेरा बजारभन्दा बाहिर निर्यात गर्ने गरेका छन् ।

पौडेलको घर साविकको कुश्मीशेरा गाविस वडा नं २ मा पर्छ । वरिपरि बारी मात्रै रहेको गाउँ अहिले केराको बगान जस्तै देखिन्छ । उनको तीन मुरी कोदो फल्ने बारीमा केराको बगान छ । वर्षात्को समयमा मात्रै कोदो र मकै फल्ने बारीलाई सदुपयोग गरेर पौडेलले वर्षमा झण्डै तीन लाख रुपैयाँको केरा बिक्री गर्दैआएका छन् । “मकै र कोदोको मूल्य हिसाब गर्दा वर्षमा १८ हजार रुपैयाँ कमाइ हुन्थ्यो, लगाउने गोड्ने दुःख त कति हो कति,” पौडेलले भने – “समयमा पानी र मल दिए राम्रो फल्ने केराले अहिले मेरो दैनिकी नै बदलिदिएको छ ।” सुख्खा रातो माटो रहेको खौर, किसेकको डाँडामा वर्षात्को समयमा मात्रै खेती हुने गरेको थियो । पछिल्लो समय उक्त गाउँका किसानहरुले परम्परागत खेतीलाई परिवर्तन गरेर केराखेती थालेका छन् ।

सूर्यको जस्तै खौरका ऋषिराम शर्माले चार रोपनी बारीमा केराखेती गरेका छन् । अहिले भने हिउँद बर्खा दुबै याममा राम्रो फसल दिएकाले उनी केरा खेतीप्रति सन्तुष्ट छन् । शर्माले केराका लागि आवश्यक मलको जोहो गर्न गाईभैंसी पालेका छन् । खानेपानीका लागि प्रयोग भैरहेको पानीलाई बचत गरेर केरामा सिँचाइ गर्ने गरिएको छ ।

किसेकका अग्नीधर शर्मा पेशाले शिक्षक हुन् । उनको चार रोपनी घरबारीमा केराखेती छ । केराको बोटभित्र उनले कफीको खेती गरेका छन् । तीन मुरी कोदो र चार मुरी मकै फल्ने बारीमा लगाएको कफी र केराबाट शर्माले वार्षिक पाँच लाख रुपैयाँभन्दा धेरै आम्दानी गर्ने गरेका छन् । कोदो, मकै लगायतका परम्म्परागत खेती गर्दा मेहनत धेरै र उत्पादन कम हुने भएकाले खौर र किसेकका किसानहरु केराखेतीतर्फ आकर्षित भएका हुन् । केही वर्ष पहिलेसम्म रातो डाँडो देखिने उक्त गाउँ पछिल्लो समय केराको बगानले हरियाली बनेको छ । खौर किसेकका किसानले मात्रै होइन हरेक पेशा व्यवसायमा रहेका व्यक्तिहरुले धेरै थोरै आफ्नो जमीनमा केराखेती गर्दैआएका छन् ।

“पहिले रातो डाँडो देखिने हाम्रो गाउँ हरियाली बनेको छ,” जैमिनी–१ कुश्मीशेराका वडा सदस्य रुद्रनाथ शर्माले भने – “केही वर्ष पहिलेदेखि नै हाम्रा दाजुभाइले केराखेती गर्दैआएका छन् । प्रतिफल राम्रो पाएकाले सबैमा सन्तुष्टि पनि छ ।” खौर किसेकमा रहेका १५ देखि २० परिवारको घरखर्च चलाउने गतिलो माध्यम केराखेती बनेको छ । “केराबाट भएको आम्दानीले हामीले घर खर्च मात्रै चलाएका छैनौं, छोराछोरी पनि पढाउँछौं ।”

अर्का किसान थानेश्वर पौडेलको बारीमा रामरेखे लोकल र चिनियाँ चम्पा जातको अग्लो केराका बोटहरु छन् । अन्य जातभन्दा यी दुई जातका केराबाट धरै वर्षसम्म निरन्तर उत्पादन लिन सकिने जैमिनी नगरपालिकाका कृषि प्रविधिज्ञ रवीन्द्र शर्माले बताए ।

बारीमै आउँछन् व्यापारी

खौर र किसेकमा उत्पादन भएको केराका लागि बजारको समस्या नभएको किसानहरु बताउँछन् । स्थानीय कुश्मीशेरा बजार र जिल्ला सदरमुकामसम्म यहाँको केरा बिक्री हुने गरेको छ । छिमेकी जिल्ला पर्वत सदरमुकाममा समेत केरा बिक्री हुने गरेको किसान गंगाराम पौडेलले बताए । केरा खरिद गर्न व्यापारीहरु उनीहरुकै बारीमा आउने गरेका छन् । उनका अनुसार काँचो केराको चार रुपैयाँ प्रतिगोटा र पाकेको केराको पाँच रुपैयाँ प्रतिगोटा बारीबाटै बिक्री हुने गरेको छ ।

“बारीमै नगद गनेर जान्छन्, बजारको समस्या छैन,” पौडेलले भने – “प्रायः एउटै व्यापारी पटक पटक केरा खरिदका लागि आउने गरेका छन् ।” स्थानीय जातको केराको बजारमा माग समेत अत्यधिक छ । अर्गानिक र स्वादिलो पनि भएकाले केराको माग उच्च रहेको स्थानीयवासी प्रेम पौडेलले बताए ।

खौर र किसेका किसानहरुले एकापसमा मिलेर केराको उत्पादन गरिरहेका छन् । पानीको चर्को समस्या रहेको उक्त ठाउँमा किसानले खानेपानीका लागि ल्याइएको पानीलाई बचाएर सिँचाइ गर्दैआएका छन् । वर्षाको समयमा पानी पर्याप्त हुने भए पनि हिउँदमा पानीको अभाव हुने गरेको छ । घरायसी कामका लागि प्रयोग भएको पानीलाई केरा बारीमा पु¥याएर उनीहरुले सिँचाइको जोहो गर्दैआएका छन् ।

लगाइएका केरा एकै किसिमको भए पनि राम्रो बिरुवा कुनै एक किसानको बारीमा उत्पादन भए अर्काे किसानको बारीमा परीक्षणका लागि त्यसलाई सार्ने गरिएको छ ।

– तारानाथ आचार्य/रासस

Loading...

फेसबुकबाट तपाइको प्रतिक्रिया