शनिबार, बैशाख १९, २०८३

जागीरसँगै कृषिमा रमाउँदै लक्ष्मीप्रसाद

बाँके। नेपालगञ्ज उपमहानगरपालिका–२० मनिकापुरस्थित थपुवाका लक्ष्मीप्रसाद शर्मा सामाजिक कार्यकर्ताका रुपमा चिनिनुहुन्छ ।

चौध वर्षअघि सामाजिक सेवामा संलग्न शर्मा हाल बाँकेकै एक गैरसरकारी संस्थामा वरिष्ठ कार्यक्रम सुपरभाइजरका रुपमा कार्यरत हुनुहुन्छ । गाउँदेखि शहरसम्म उहाँ सामाजिक कार्यकर्ता कै रूपमा चिनिनुहुन्छ ।

स्नातक तह उत्तीर्ण शर्माले सामाजिक अभियानका क्रममा विशेषगरी शैक्षिक विकासका क्षेत्रमा आफ्नो समय खर्चिदै आउनुभएको छ । चौध वर्षदेखि शैक्षिक विकासका लागि हुँदै आएका विभिन्न गोष्ठी, छलफल, कार्यशाला गोष्ठी र ¥यालीमा उहाँको उपस्थिति नियमित थियो । जसरी भए पनि ती कार्यक्रममा सहभागी हुनुपर्ने र शैक्षिक विकासका लागि आफ्ना विचार व्यक्त गर्नुपर्छ भन्ने शर्मा आफैलाई पनि लाग्ने गर्दथ्यो ।

उहाँलाई जसले पनि सामाजिक कार्यकर्ताकै रुपमा चिन्छन् । धेरैलाई थाहा छैन, शर्माको अर्को पेशा । उहाँ सामाजिक कार्यकर्तासँगै विगत आठ वर्षदेखि पशुपालन र तरकारी एकसाथ गर्दै आउनुभएको छ । शर्मालाई बुझ्नेले सामाजिक कार्यकर्ता भने पनि उहाँ सफल कृषक पनि हुनुहुन्छ भन्ने कुरा कमैलाई मात्र थाहा छ । दिउस गैरसरकारी संस्थाको जागिरे भए पनि साँझ बिहान कृषकको भूमिकामा देखिनुहुन्छ शर्मा ।

“जागीरले चिनाउँछ, चिनाएको पनि छ । कृषि पेशाले उचाइँमा पु¥याउँछ”, उहाँले भन्नुभयो, “जागीरले सामाजिक प्रतिष्ठा र सबैसँग चिनजान गराएको छ, कृषि पेशाले मेरो पारिवारिक जिम्मेवारी र आम्दानीसमेत बढाएको छ ।” उहाँलाई उहाँकी श्रीमती गीताले सघाउँदै आउनुभएको छ । श्रीमान् जागिरमा जाँदा कृषि जिम्मेवारी गीताले सम्हाल्दै आउनुभएको छ । “श्रीमान्ले अँगालेका दुवै पेशाप्रति म खुशी छु”, गीताले भन्नुभयो ।

शर्माको गोठमा चार उन्नत जातका गाई र एउटा भैँसी छन् । चार गाईमध्ये अहिले दुई दुहुना छन्, अर्को दुई गाई व्याउने भएका छन्् । दुई गाई र एउटा भैँसीको दूधले अहिले आम्दानी दिइरहेको छ । उहाँका अनुसार अहिले करीब ३० लिटर दूध बिक्री हुन्छ । जसबाट मासिक करीब रु ४५ हजार आम्दानी भइरहेको छ । “बाँकी दुई गाई ब्याए भने मेरो आम्दानी दोब्बरले बढ्छ”, कृषि पेशामा रमाउनुभएका शर्माले भन्नुभयो ।

फुर्सदमा पशुपालन र तरकारी खेती गरेर राम्रै आम्दानी गरिरहेकामा उहाँले सन्तुष्टि व्यक्त गर्दै रासससँगको कुराकानीमा भन्नुभयो, “गैरसरकारी संस्थाको जागिर त कार्यक्रम हुँदासम्म हो, कार्यक्रम सकिएपछिको जागिर यही कृषि पेशा त हो नि ? यसलाई बेवास्ता गर्ने कुरै भएन ।” आफ्नो एक्लो प्रयासमा मात्रै नभएर श्रीमती गीताको सहयोगले सामाजिक र पारिवारिकरुपमा आफूलाई सफलता मिलेको उहाँको भनाइ थियो ।

पशुपालनसँगै तरकारी खेतीलाई पनि सँगसँगै अघि बढाउनुभएका उहाँले पाँच कट्ठामा काउली, बन्दा, मुला, आलु, टमाटरलगायत तरकारी लगाउनुभएको छ । “तरकारीले पनि राम्रै आम्दानी दिइरहेको छ”, शर्माले भन्नुभयो, “मौसममा रु दुई लाखसम्म आम्दानी हुन्छ ।” पशुपालन र तरकारी खेतीले उहाँको जीवनस्तरलाई व्यवस्थित र आर्थिकरुपमा दरिलो बनाएको छ ।

दूध र तरकारी बिक्रीका लागि पनि उहाँलाई कुनै समस्या छैन । स्थानीय बिमानस्थल र राझा बजारमै तरकारी खपत हुन्छ । उत्पादित तरकारीले कहिलेकाहीँ मूल्य नपाए पनि त्यो खासै समस्याका रुपमा नरहेको उहाँको भनाइ थियो । “कहिलेकाहीँ मूल्य तल झर्दा बिक्रीमा समस्या हुने भए पनि घाटा नै भइहाल्ने भन्ने हुँदैन । अरुबेला बढेको मूल्यले त्यसलाई समायोजन गरिहाल्छ”, शर्माले भन्नुभयो ।

लामो समयदेखि पशुपालन र तरकारी खेती गर्दै आए पनि हालसम्म कसैको सहयोग नलिएको उहाँले बताउनुभयो । सम्बन्धित सरकारी तथा गैरसरकारी निकायसँग सहयोगका लागि आग्रह गरे पनि सहयोग नपाएको उहाँको गुनासो थियो । “धेरै ठाउँमा आग्रह गरियो, पहुँच नहुँदा सहयोग नपाइने रहेछ । मैले पहुँच बढाउन सकिन, त्यसैले होला अहिलेसम्म कहीँकतैबाट सहयोग पाइएको पनि छैन”, शर्माले भन्नुभयो ।

उहाँले भन्नुभयो, “विदेशमा गएर लाखौँ रकम कमाउने सपना देखिरहन्छौँ ।” लाखौँ रकम कमाउन विदेशमै जानैपर्छ भन्ने छैन । विदेशमा खर्चिनुपर्ने श्रम र समय पनि यहाँ खर्चिनुपर्दैन ज्ञान र सीप भयो भने स्वदेशमै मनग्य आम्दानी गर्न सकिन्छ । स्वदेशमै केही ग¥यौँभने कमाउन सकिन्छ भन्ने भावना नभएकै कारण नेपाली युवा विदेशिनुपरेको हो ।”