सोमबार, बैशाख २१, २०८३

म स्वयमको पनि प्रदेश नं ३ को मुख्यमन्त्रीमा दावी छ : श्रेष्ठ

नेकपा एमालेका वैकल्पिक पोलिटब्युरो सदस्य तथा उपत्यका इन्चार्ज सानुकुमार श्रेष्ठ काठमाण्डौं क्षेत्र न. २ (क) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । २०३४ सालयता काठमाण्डौं उपत्यकालाई आधारभूमि बनाएर राजनीतिमा सक्रिय श्रेष्ठ एमाले उपत्यकाको राजनीतिमा प्रभावशाली मानिन्छन् । देशैभरी वामगठबन्धनको राम्रो नजिता आइरहँदा उपत्यकामा भने किन त्यति धेरै उत्साहजनक नतिजा आउन सकेन ? प्रदेश नम्बर–३ मा अब कसको र कस्तो सरकार बन्छ ? श्रेष्ठसँग गरेको कुराकानी :

सानुकुमार श्रेष्ठ
काठमाण्डौं क्षेत्र न. २(क) बाट प्रदेशसभा सदस्य  
तथा नेकपा एमालेका वैकल्पिक पोलिटब्युरो सदस्य 
देशैभरी वाम गठवन्धनले ‘क्लिन स्विप’ गरिरहेका बेला काठमाण्डौं उपत्यकामा भने त्यति सन्तोषजनक परिणाम आउन सकेन् नि ? यो नतिजा अपेक्षित थियो वा अनपेक्षित थियो ?

म एमालेको उपत्यका इन्चार्च भएको नाताले यो नतिजा तपाईले भने भन्दा विपरीत छ । उपत्यकामा वाम गठबन्धनको स्थिति निकै मजबुत र बलियो छ । हामी अत्यधिक बहुमतले विजयी भएका छौं । ललितपुरमा शतप्रतिशतले जितेका छौं । काठमाण्डौंमा प्रतिनिधिसभाका ६० प्रतिशत र प्रदेशमा ८० प्रतिशत सिट जितेका छौं । काठमाण्डौंका १० क्षेत्रमा ४ वटा मात्र हारेको हौं । यस्तै प्रदेशसभाका २० सिटमा एमाले एक्लैले १६ सिट जितेको छौं । भक्तपुरमा प्रतिनिधिसभाको २ सिटमा १ सिट जितेको छौं भने ४ वटामा ३ वटा एमालेले जितेको छ । उपत्यका वाम गठबन्धनले कब्जा जमाएको छ ।

काठमाण्डौं क्षेत्र नम्बर–१, ४, ६ र १० मा पराजय भोग्नु पर्‍यो । खास कारण कांग्रेस बलियो भएर नै हो ?
यो नतिजा नेपाली कांग्रेस बलियो भएकै कारण हो भन्ने मलाई चाहीं लाग्दैन । उम्मेद्वार छनौट प्रक्रिया नमिलेको हो भन्ने लागेको छ । काठमाण्डौंका ४ वटामध्ये ३ स्थान माओवादीलाई दिइएको थियो । टेक्निकल रुपमा केन्द्रका उम्मेद्वारहरु सबै बाहिरबाट आएको-ल्याएको भन्ने पनि रह्यो । दोस्रो, एमाले वाम गठवन्धनको लहर चलिरहेका बेला खासै धेरै अन्तरले पनि हार्नु भएको छैन् । जस्तो राजन भट्टराईले हार्नुको कारण बमकाण्ड हुनसक्छ । गगन थापाले नक्कली नै किन नहोस् घाइते भएको बहाना गरेर जनताको सहानुभूति बटुल्न सपोर्ट मिल्यो । सरसर्ती हेर्दा परिणाम सोचेको जस्तै राम्रो भएको हो । भक्तपुरमा प्रदेशमा–४ मा ३ जित्नु, ललितपुरमा सबै हारिरहेको अवस्थामा शतप्रतिशत जित्नु, काठमाण्डौंमा पनि प्रदेशमा ८० प्रतिशत जित्नु ‘डिक्सटिनसन’ आउनु हो ।

प्रदेश नम्बर–३ वाम गठवन्धनले नै सरकार बनाउँछ होला नि ?

यहाँ वाम गठबन्धनले दुई तिहाइ जितेको छ । जसमा ११० मा ५८ सिट जितेको एमालेको मात्रै पनि बहुमत छ । निश्चित रुप वामगठबन्धनको सरकार बन्छ ।

मुख्यमन्त्री चाहीं कसको हुन्छ त ?

यहाँ खासगरी वाम गठबन्धनमा एमालेको मात्र पनि बहुमत भएका कारण एमालेकै उम्मेद्वार मुख्यमन्त्री हुन्छ भन्ने कुरामा निश्चित छ । खासमा पार्टीको स्थायी कमिटी, केन्द्रीय कमिटीले तोकेको व्यक्ति जो पनि हुन सक्ने भयो । पार्टीको निर्देशनका आधारमा चल्ने हो । तर संसदीय अभ्यासको हिसाबले प्रतिनिधिसभामा जस्तै प्रदेशसभाका निर्वाचनबाट नेता चुन्ने स्थिति रहँदाखेरी, म स्वयम् पनि उम्मेद्वार हुँ । नेकपा एमाले उपत्यका इन्चार्च, प्रदेशको सचिवालय सदस्य, २०३४-०३५ सालतिर भूमिगतकालदेखि नै उपत्यमा पार्टीको काममा निरन्तर रहेकाले म आफैलाई सशक्त उम्मेद्वारका रुपमा लिएको छु । म ०४९ सालमा महासचिव क. मदन भण्डारी हुँदाकै पार्टी केन्द्रीय कमिटी सदस्य पनि हुँ । र अहिले मुख्यमन्त्रीमा दावी गरिरहेको कुनै पनि व्यक्तिहरु भन्दा क्षमता, क्रियाशिलता दुबै हिसाबले म कमजोर छैन ।

मुख्यमन्त्रीमा तपाईको दाबेदारी त छ, तर सम्भावना चाहीं कतिको देखिरहनु भएको छ ?

निश्चित रुपमा म मुख्यमन्त्रीको दाबेदार हुँ । सम्भावनाको कुरामा गर्दा पार्टीले माथिबाटै फैसला गरेको खण्डमा कसलाई गर्छ भन्ने मात्र हो । निर्वाचनबाट दलको नेता चुन्दाखेरी ५८ जनामा ३० जनाले त काठमाण्डौं उपत्यकामा मात्रै जितेका छन् । भनेपछि स्वभाविक रुपमा अहिलेको यो क्षेत्र ताम्सालिङ–नेवाः प्रदेश आन्दोलनमा पनि रहिरहेको र उपत्यका पनि अत्याधिक जितेको हिसाबले निश्चित रुपमा जित्छु भन्ने लागेको छ ।

प्रदेश नम्बर–३ मा त एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री बन्ने पक्का जस्तै छ होइन र ?
क्षमता र योग्यता पुगेका व्यक्तिहरुले इच्छा राख्नु स्वभाविक हो । केशव स्थापितले पनि मै हुँ भनेर इच्छा राखेर हिंडेकै छन् । यस्तै राजेन्द्र पाण्डे, पशुपति चौलागाईलगायतका व्यक्तिहरु मुख्यमन्त्री मै हुँ भनेर हिंडिरहेका छन् । तर दलको नेता चुन्ने स्थितिमा पुग्दा मात्र कसले जित्न सक्छ भन्ने अनुमान गर्न सकिन्छ ।

यदि तपाई मुख्यमन्त्री हुनु भएन भने चर्चाका नाममध्ये कुन उपयुक्त हुन सक्छ ?

को उपयुक्त ? भन्दा पनि पार्टीले कसलाई निर्णय गर्छ भन्ने कुरा रहन्छ । पार्टीको केन्द्रीय कमिटी वा स्थायी कमिटीले जसलाई निर्णय गर्छ, उ नै मुख्यमन्त्री हुन्छ । हामी एउटा अनुशासित कार्यकर्ताको रुपमा निर्णय मान्छौं ।

निर्वाचनका क्रममा नतिजा आउँदै गर्दा कार्यकर्तामा ठूलो उत्साहमा थियो तर, सरकार गठनको हल्लासँगै अलि निरासा छाउन लाग्यो नि ?

अहिले राष्ट्रिय–अन्तर्राष्ट्रिय रुपमा कतिपय शक्तिहरु वाम गठबन्धन पार्टी एकताको स्थितिसम्म नै नपुगोस् भनेर धुप बालेर बसिरहेका पनि छन् । त्यसैले कति ठाउँमा मिडियाबाजी पनि भएका छन् । तर, यी सबले हामीलाई असर गर्दैन । सरकार निर्माण भईसकेपछि पार्टी एकीकरण हुन्छ । निर्वाचन प्रक्रियामा गईसकेपछि, संबिधान मान्ने स्थितिमा गईसकेपछि, संघीय गणतन्त्र नेपाल निर्माण भईसकेपछि एमाले र माओवादीका एजेण्डा खासै फरक छैनन् । फरक नभएपछि दुईटा पार्टी बनाई राख्नु पर्छ भन्ने छैन् । पार्टी एकीकरण हुँदै गर्दा कतिपय सैद्धान्तिक र वैचारिक कुराहरु मिलाउनु पर्छ । उहाँहरुले माक्र्सवाद, लेलिनवाद र माओवाद भनिराख्नु भएको छ, हामीले माक्र्सवाद, लेलिनवाद मानिरहेका छौं । गाइडेन्स प्रिन्सिपलका कुरा, नीतिका कुराहरु, कार्यक्रमका कुराहरु पनि हुन्छन् । यी सबै कुराहरु मिलाएर जानुपर्ने भएकाले पार्टीको केन्द्रीय नेतृत्वदेखि प्रारम्भिक कमिटीसम्म एकीकरण गर्नुपर्ने भएकाले पार्टीको मोडालिटीका विषयमा छलफल हुन समय लाग्नु स्वभाविक हो ।

तपाई एमालेको उपत्यका इन्चार्ज हुनुहुन्छ, काठमाण्डौं महानगरमा तपाईहरुकै नेतृत्व छ । सामाजिक सञ्जालमा तपाईहरुले केही गर्न सक्नु भएन भन्ने जनताको आलोचना छ । यतिका समय बितिसक्दा पनि किन केही काम भएनन् ?

खास गरी सिस्टमेटिक ढङ्गमा सञ्चालन हुन ‘सिस्टम’ नबसी हुन्न । मुखले बोलेर मात्र सबै कुरा हुने पनि होइन् । त्यसलाई कार्यान्वयन तहमा ‘एक्सन ओरियन्टेड गर्नुपर्ने हुन्छ । म जनता भन्न चाहन्छु–सरकारी तथ्याङ्क अनुसार चक्रपथ वरिपरी १० लाख भन्दा बढी गाडी गुड्छन् । यी गाडीको चाप व्यवस्थापन आवश्यक छ । यहाँ गाडी कति चाहिन्ने हो ? धुवाँ–धूलो व्यवस्थापनका लागि, सडकले थेग्छ–ठेग्दैन ? सबै कुरालाई ख्याल राख्नु पर्ने हुन्छ । मलाई के लाग्छ भने–त्रिभुवन राजपथबाट आउने यातायातलाई चन्द्रागिरी नगरपालिकामै पार्किङको व्यवस्था गर्नुपर्छ । जस्तोः रात्रिबस, ट्रकहरुलाई व्यवस्थापन गरेर लोकल बस मात्र चलाउने स्थिति भयो भने उपत्यकामा ट्राफिक समस्या धेरै हल हुन सक्छ । यस्तै अरनिको हाइवेको भक्तपुर क्षेत्रमै पार्किङ गर्दा राम्रो हुन्छ । त्यस्तै वाम गठवन्धनको घोषणा–पत्र अनुसार चक्रपथमा मेट्रो रेल चलाउने स्थिति बन्दा धेरै साना–तिना यातायातका साधन विस्थापित हुन्छन् । प्रदूषण नियन्त्रण पनि हुन्छ । यस्तै मेलम्ची खानेपानी आयोजनाको काम यथाशीघ्र पूरा गर्नुपर्छ । यसले उपत्यकालाई थप व्यवस्थित बनाउँछ ।

अहिले काठमाण्डौंका मेयरले काम मै गर्न सकेनन् भनेर तीव्र आलोचना भईरहेको छ नि ?

कोही मान्छे बोल्छन्, केही गर्दैनन् । कोही बोल्छन् तर, काम गर्छन् । हाम्रो काठमाण्डौंका मेयरको कुरा गर्दा मेरो काठमाण्डौं क्षेत्र नम्बर–२ का धेरै ठाउँहरुमा कालोपत्रे (पिच) भईसकेको छ । हिजोका दिनमा त्यहाँ खाल्डाखुल्डी मात्रै बढी थियो । यस्तै अहिले अरु वडाहरुमा पनि काम भईरहेका छन् । महानगरपालिकालाई आरोप लगाउन चाहीं सहि हो । तर महानगर क्षेत्रमा काम कति भएको छ मेयरले भनिहाल्नु हुन्छ । जस्तो ८ मिटर भन्दामाथिका सबै सडक सडक विभाग अन्तर्गत पर्छन् । त्यो कुरा जनतालाई थाहा छैन् । तर सबै काठमाण्डौं महानगरपालिकाले काम गर्नुपर्छ भन्ने सोच्छन् । गर्नुपर्ने केन्द्रीय सरकारको काम हो । जहाँ नेपाली कांग्रेस छ । केन्द्र सरकारमा बसेको नेपाली कांग्रेसले काम भएन भनेर गुनासो गरेको सुनिंदैन । दायित्व केन्द्र सरकारमा छ तर गाली चाहीं स्थानीयको अन्यत्रै छ । जनताको अपेक्षा र बुझाइमा फरक आएकाले पनि यस्तो भएको हो । अब केन्द्र, प्रदेश पनि वाम गठवन्धनको बनेमा ती समस्या तुरुन्त समाधान गर्नेछौं । वास्तवमा महानगरको मेयरको जिम्मेवारी र अपेक्षाप्रति नागरिकको बुझाई फरक भयो ।

@नयाँ पेज