सोमबार, बैशाख २१, २०८३

लोग्नेका काँधमा चढेर राजनीति गर्ने कुनै स्वास्नी मान्छेलाई हार्दिकता दिन सकिन्न

ज्वाला संगौला,टोकियो, 
लोग्नेका काँधमा चढेर राजनीति गर्ने कुनै कुनै नेताका ओथारा बसेका स्वास्नीहरुपनि यसपालीको निर्बाचनमा नराम्रोसँग गुल्टिए । म त एकदम खुसी छु ।
महिला भएर महिलाकै बिरुद्द बोली नभन्नुहोला महोदय, राजनीति कुनै ब्यापार होइन जहाँ लोग्ने सामान बेच्छ र स्वास्नी काउन्टरमा बसेर पैसा गन्छे।यस्तै परिवारबादले नेपाली राजनीति ध्वस्त भएको हो ।

जनताले पनि कति बोक्नु मन्त्री र साँसदका दर्जनौ स्वास्नी  के नै योगदान गरे र तिनीहरुले राजनीतिमा आएर रुकति महिला बिदेशमा बेचिए, कति ज्युँदै जलाइए , कति बलात्कारका शिकार भए, ती नेताका स्वास्नीले यि पीडितहरुलाई आख़िर के न्याय दिलाएरु उल्टै पापीहरुलाई राजनैतिक सँरक्षणको अँध्यारोमा लुकाउन पोइका कान भर्ने काम गरे।सरकारको बैंक लुटेर लोग्ने बिदेश जाँदा आफू अघिअघि लाग्दै घाँटीमा सुनको भारी लादेर नाइलनको सारी घिसार्ने लोभी आइमाइहरु राजनीतिमा आउनु भनेको नै बाँकी महिलाहरुको योग्यता र इमानलाई लात हान्नु हो।। सक्षम , इमानदार ,पढेलेखेका दुरदर्शी र भद्र महिलाहरु धेरै छन् , जो पार्लियामेन्टमा गएर पुरुष सरह आँखामा आँखा जुधाएर देश निर्माणका बिषयमा बहस गर्न सक्ने क्षमता राख्छन् ।हो, त्यस्ताहरु आउनु पर्छ राजनीतिमा। सम्पतिको दम्भले पुल्पुलिएर मोटाएका र लोग्नेमाथी चढेर दुनिया देखेकाहरुलाई जनताले यसपाली हराएर दरो चड्कन दिए, राम्रो भो ,
वास्तवमा हामी महिलाहरुले कसैकी श्रीमती , छोरी या बुहारीका रुपमा आफूलाई टेकाउने होइन, आफैं उभिने हिम्मत राख्नु पर्छ। आफ्नो क्षमतामा बिश्वास गरौँ, समाज बुझौं , शहरका सुकिलामुकिला महिलाहरुले गाउँको भत्किएको घर टाल्दै गरेका , घाँसका भारीसँगै बच्चा डोर्र्याउँदै गरेका तथा छाउपडी गोठमा चिसो भात र कालो रातसँग जीबनको औंठाछाप ठोकेका महिला हरुसँग मित्रता बढ़ाऔं।उनीहरुलाई स्वास्थ्य , शिक्षा तथा आफ्नो शरीरको अधिकारका बारेमा समेत सचेत गराऔं। पुरुषहरुलाई आफ्नो पति , रक्षक र भगवान होईन, एक असल जीवनसाथीको रुपमा स्वीकार गरौँ । पति भन्ने शब्द मालिक हो । त्यो अर्थमा पति मालिक र पत्नी नोकर हो। सुन्दा राम्रो लाग्ने यो पति शब्दको अर्थ निक्कै गहिरो छ।

धनपति धनको मालिक,राष्ट्रपति राष्ट्रको मालिक करोड़पति करोडको मालिक अनि पति चाहिँ आईमाईको मालिक । यसरी बुझ्नुस् त अर्थ आफैं पत्ता लाग्छ।महिला र पुरुष एकै रथका दुईपाङ्ग्रा भन्दै गर्दा एउटा पाङ्ग्रो माटाको र अर्को पाङ्ग्रो फलामको नबनाऔं ।
महिला र पुरुष दुबै समान छन्। प्रकृतिले फरक फरक शारीरिक सँरचनाको निर्माण गरेपनि पुरुष महान् र नारी कमजोर भनेर प्रकृतिले कुनै नियम बनाएको छैन । जे बनायो समाजले बनायो। हामी पुरुषप्रधान मानसिकताको यति सिकार भयौं की आफू को हौं, त्यो नै भुल्यौं । हामी महिलाहरु बिहे गर्ने बेला आफू भन्दा पढेको, दुईचार बर्ष जेठो पुरुष खोज्छौं। के आफूभन्दा कम पढेको केटोसँग बिहे गर्नु हुन्नरु आफूभन्दा एकदुई बर्ष कान्छो आफ्नोलागि योग्य हुन्नरु समाजले तल्लो जात भनेर दर्जा दिएको केटो मान्छे नै होईनरु आफूभन्दा गरीब केटाको आफ्नो स्वाभिमान नै हुन्नरु यस्ता प्रश्नहरुको ठेलीबिच एउटा ड्रार्क फेमिनिजम बर्षौंदेखि अलपत्र छ। हामीले आफू सक्षम हुनुपर्छ भन्ने कुरालाई बिर्सेर पुरुषहरुकै आडमा जीबन बितायौं । हेर्नुस् त बिचरा पुरुषहरु आफूभन्दा कम पढेकी केटीलाई स्वीकारे, सम्पति कम भएकी र कम उमेरकीलाई केहि नभनि अँगाले त्याग त पुरुषहरुले पो गरेका छन् त बरु हामीले आफूभन्दा माथिल्लो स्तरको लोग्ने खोज्यौं र जुठाभाँडा र बच्चाहरुका सिंगानसँगै आफ्नो भाग्य कोर्यौं र बेलाबेला पोईको रामधुलाई पनि भेट्यौं ।

अझै नचेतेर ठूला कुरा किन गर्ने हामीले रु कति बोक्नु पुरुषले मात्र परिवार पाल्ने बोझरु हामी पनि बराबरी हैसियतमा परिवार हाँक्न सक्छौ।देश हाँक्न पनि लोग्नेका बुई चढेर होईन,बराबरी हैसियत बनाएर राजनीति गरौँ।काम गर्न लिँगले कसैलाई पनि छ्क्दैन। छेक्ने भनेको मान्छेको सोच हो। यो सोच बदलौं, युग बदल्न समय लाग्दैन मित्रहरु।