जापान । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. बलराम श्रेष्ठले विदेशमा रहेका नेपालीको अधिकार संरक्षण, लगानी परिचालन, सीप तथा प्रविधि हस्तान्तरण र राष्ट्रिय विकासमा उनीहरूको सहभागिता सुनिश्चित गर्न छुट्टै ‘एनआरएन मन्त्रालय’ गठन गर्नुपर्ने प्रस्ताव पार्टीको केन्द्रीय समितिमा प्रस्तुत गर्नुभएको छ।
कांग्रेस केन्द्रीय समितिको तेस्रो बैठकका लागि लिखित धारणा तथा सुझाव प्रस्तुत गर्दै डा. श्रेष्ठले विदेशमा रहेका नेपालीलाई केवल रेमिट्यान्स पठाउने स्रोतका रूपमा नभई देशका लगानीकर्ता, उद्यमी, विज्ञ, प्राविधिक र विकासका महत्वपूर्ण साझेदारका रूपमा स्थापित गर्नुपर्ने धारणा राख्नुभएको हो।
१५औँ महाधिवेशनबाट अत्यधिक मतसहित केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएकोमा महाधिवेशन प्रतिनिधि तथा पार्टीका सम्पूर्ण सदस्यप्रति आभार व्यक्त गर्दै उहाँले भौगोलिक दूरीका कारण बैठकमा भौतिक रूपमा उपस्थित हुन नसके पनि राष्ट्र र पार्टीको हितमा आफ्ना सुझाव लिखित रूपमा प्रस्तुत गर्नुभएको छ।
डा. श्रेष्ठका ६ प्रमुख नीतिगत सुझाव
१. ‘हामी तयार छौँ’ संगठनात्मक अभियान: कांग्रेसलाई समयानुकूल, जनमुखी, पारदर्शी र जवाफदेही बनाउन केन्द्रदेखि वडा तहसम्म संगठन सुदृढीकरण, युवा तथा महिला नेतृत्व विकास, डिजिटल कांग्रेस र वैचारिक प्रशिक्षणलाई प्राथमिकता दिनुपर्ने।
२. विपद् प्रभावित क्षेत्रको पुनर्निर्माण: भोटेकोशी र बूढीगण्डकी क्षेत्रका प्रभावित नागरिकलाई सुरक्षित आवास, रोजगारी, शिक्षा, स्वास्थ्य र पूर्वाधारसहित दीर्घकालीन पुनःस्थापना गर्न पारदर्शी राष्ट्रिय पुनर्निर्माण कार्यक्रम ल्याउनुपर्ने।
३. सुकुम्बासी तथा विस्थापित नागरिकको सम्मानजनक पुनःस्थापना: वास्तविक भूमिहीनको पहिचान गरी वैकल्पिक आवास, रोजगारी, सामाजिक सुरक्षा र कानुनी अधिकार सुनिश्चित गर्न राष्ट्रिय सुकुम्बासी तथा विस्थापित नागरिक पुनःस्थापना अभियान सञ्चालन गर्नुपर्ने।
४. सरकारलाई रचनात्मक खबरदारी: प्रेस स्वतन्त्रता, न्यायपालिकाको स्वतन्त्रता, सुशासन, भ्रष्टाचार नियन्त्रण, महँगी, रोजगारी र नागरिक अधिकारका विषयमा सरकारलाई तथ्य र प्रमाणका आधारमा जवाफदेही बनाउँदै जनताका समस्याको व्यावहारिक विकल्प प्रस्तुत गर्नुपर्ने।
५. स्थानीय निर्वाचनको पूर्वतयारी: ७५३ वटै स्थानीय तहमा संगठनको अवस्था मूल्याङ्कन, योग्य तथा इमानदार उम्मेदवार छनोटको पारदर्शी मापदण्ड, स्थानीय विकास दृष्टिपत्र र युवा तथा महिलाको सहभागिता सुनिश्चित गर्नुपर्ने।
६. डायस्पोराको सहभागिता र एनआरएन मन्त्रालय गठन: विदेशमा रहेका नेपालीको श्रम, अधिकार, लगानी, ज्ञान, सीप र प्रविधिलाई व्यवस्थित रूपमा राष्ट्र विकाससँग जोड्न छुट्टै एनआरएन मन्त्रालय गठन गर्नुपर्ने। साथै, प्रत्येक स्थानीय तहमा डायस्पोरा लगानी तथा उद्यम विकास डेस्क स्थापना र वार्षिक नेपाल–डायस्पोरा लगानी तथा ज्ञान सम्मेलन आयोजना गर्नुपर्ने।
प्रवासी नेपालीको लगानीबाट समृद्ध नेपाल निर्माण सम्भव
डा. श्रेष्ठले नेपालको गरिबी न्यूनीकरण, रोजगारी सिर्जना र आर्थिक विकासमा प्रवासी नेपालीको योगदानलाई संस्थागत गर्नुपर्नेमा विशेष जोड दिनुभएको छ। उहाँका अनुसार विदेशमा रहेका नेपालीको पुँजी मात्र होइन, अन्तर्राष्ट्रिय अनुभव, व्यावसायिक दक्षता, आधुनिक प्रविधि र उद्यमशीलतालाई पनि नेपालको उत्पादनमूलक क्षेत्रमा परिचालन गर्न सकिए आगामी दशकमा गरिबी उल्लेख्य रूपमा घटाउन र मुलुकलाई विकसित राष्ट्रको दिशामा अघि बढाउन सकिन्छ।
उहाँले नेपालका ७५३ वटै स्थानीय तहमा सम्भाव्यताका आधारमा कृषि, पर्यटन, उद्योग, शिक्षा, स्वास्थ्य र सूचना प्रविधिमा डायस्पोरा लगानी भित्र्याउने नीति आवश्यक रहेको औँल्याउनुभएको छ।
त्यसैगरी विदेशमा रहेका नेपालीका श्रम, तलब, भिसा, दुर्घटना, मृत्यु, कानुनी समस्या तथा कन्सुलर सेवासम्बन्धी समस्याको समाधानका लागि एकीकृत प्रवासी नेपाली सहायता प्रणाली स्थापना गर्नुपर्ने प्रस्ताव पनि गर्नुभएको छ।
‘प्रवासीको सीप, पुँजी र ज्ञान — समृद्ध नेपालको अभियान’
डा. श्रेष्ठको प्रस्तावको मूल सन्देश विदेशमा रहेका नेपालीलाई नेपालको विकास प्रक्रियामा नीतिगत, आर्थिक र प्राविधिक रूपमा जोड्नु हो। उहाँले प्रवासी नेपालीलाई देशको समृद्धि र राष्ट्र निर्माणको साझेदार बनाउने अवधारणालाई नेपाली कांग्रेसको आगामी राष्ट्रिय नीति तथा कार्यक्रममै समेट्नुपर्ने सुझाव दिनुभएको छ।
उहाँको धारणा छ— कांग्रेसको भविष्य निर्वाचन जित्ने रणनीतिमा मात्र सीमित हुनु हुँदैन। संगठन सुधार, जनताको समस्या समाधान, लोकतान्त्रिक मूल्यको संरक्षण र राष्ट्रको आर्थिक समृद्धिका लागि ठोस कार्ययोजना आवश्यक छ।
डा. बलराम श्रेष्ठको प्रस्तावले प्रवासी नेपालीलाई रेमिट्यान्सको स्रोतबाट माथि उठाएर राष्ट्र निर्माणको संस्थागत साझेदार बनाउने, विदेशमा रहेका नेपालीको अधिकार संरक्षण गर्ने र उनीहरूको ज्ञान, सीप, पुँजी तथा प्रविधिलाई नेपालको विकाससँग जोड्ने दीर्घकालीन नीतिगत बहसलाई अगाडि सारेको छ।
विश्वभरका नेपाली राजदूतावास तथा कूटनीतिक नियोगको सेवा प्रभावकारी बनाउन प्रस्ताव
डा. श्रेष्ठले विश्वका विभिन्न देशमा रहेका नेपाली राजदूतावास तथा कूटनीतिक नियोगबाट प्रवासी नेपालीले भोग्नुपरेका सेवा ढिलासुस्ती, प्रशासनिक झन्झट र अनावश्यक दुःखलाई अन्त्य गर्न विशेष संयन्त्र निर्माण गर्नुपर्ने सुझाव पनि दिनुभएको छ।
उहाँले राहदानी, यात्रा अनुमतिपत्र, कन्सुलर सेवा, श्रमसम्बन्धी समस्या, कानुनी सहायता, दुर्घटना तथा आपत्कालीन उद्धारलगायत सेवाहरू छिटो, सरल, पारदर्शी र नागरिकमैत्री बनाउनुपर्ने धारणा राख्नुभएको छ।
यसका लागि निम्न व्यवस्था गर्न उहाँले प्रस्ताव गर्नुभएको छ।
- विश्वभरका नेपाली राजदूतावास तथा नियोगमा प्रवासी नेपाली सहायता तथा सेवा सहजीकरण केन्द्र स्थापना गर्ने।
- सेवाका लागि स्पष्ट समयसीमा तोकी तोकिएको समयमा सेवा उपलब्ध गराउने व्यवस्था गर्ने।
- अनलाइन आवेदन, डिजिटल सेवा र सेवा अवस्थाको जानकारी प्राप्त गर्न सकिने प्रणाली विकास गर्ने।
- सेवामा हुने ढिलासुस्ती, अनावश्यक झन्झट वा गैरजिम्मेवारीबारे गुनासो सुन्न स्वतन्त्र अनुगमन तथा उजुरी संयन्त्र स्थापना गर्ने।
- प्रत्येक राजदूतावास तथा नियोगको सेवा गुणस्तर, नागरिक सन्तुष्टि र कार्यसम्पादनको नियमित मूल्याङ्कन गर्ने।
- आपत्कालीन अवस्थामा २४ घण्टा सम्पर्क गर्न सकिने सहायता सेवा सञ्चालन गर्ने।

