बुधबार, साउन ०६, २०८३

एफएनजे ग्लोबल मिडिया सम्मेलन: केन्द्रीय अध्यक्ष शर्मा जापानमा

टोकियो। नेपाल पत्रकार महासंघ (एफएनजे) को आयोजनामा जापानमा हुन लागेको एफएनजे ग्लोबल मिडिया सम्मेलनमा सहभागी हुन महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्मा जापान आइपुगेकी छन्।

केन्द्रीय अध्यक्ष शर्मालाई नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार महासंघ जापान शाखाका अध्यक्ष रवीन्द्र श्रेष्ठ, उपाध्यक्ष मनीषा चम्लागाई, सदस्य विनोद ढकाल तथा पत्रकार दीपक गौतम लगायतले स्वागत गरेका हुन्।
विश्वभर छरिएर रहेका नेपाली पत्रकारहरूलाई एकै थलोमा जोड्ने उद्देश्यले आयोजना गरिएको ग्लोबल मिडिया सम्मेलनले प्रवासी पत्रकारिताका चुनौती, अवसर, डिजिटल सञ्चार, प्रेस स्वतन्त्रता तथा अन्तर्राष्ट्रिय सहकार्यका विषयमा गहन छलफल गर्ने अपेक्षा गरिएको छ।
नेपाल पत्रकार महासंघ जापान शाखाले सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। सम्मेलनमा अहिलेसम्म केन्द्रीय अध्यक्ष शर्मा सहित केन्द्रीय सदस्य रामेश्वर कार्की, अर्जुन पन्त जापान आईसक्नू भएको छ भने विभिन्न देशबाट नेपाली पत्रकार, सञ्चारकर्मी तथा सञ्चार क्षेत्रसँग सम्बन्धित ५० भन्दा बढ़ी व्यक्तिहरूको  उल्लेखनीय सहभागिता रहने आयोजकले जनाएको छ।

सम्मेलनले विश्वभर रहेका नेपाली पत्रकारबीच अनुभव आदानप्रदान, पेशागत एकता, केन्द्रीय निर्वाचनमा वैदेशिक शाखालाई मताधिकार र सहकार्यलाई थप मजबुत बनाउने विश्वास गरिएको छ।

यसमा तपाईको प्रतिक्रिया