काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी(नेकपा) सहसंयोजक माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलनभित्र देखिएको समस्याको गम्भीर आत्मसमीक्षा गर्न आवश्यक रहेको बताएका छन् ।
जननेता मदन भण्डारीको ७५ औँ जन्मजयन्तीको अवसरमा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले सबै कम्युनिस्ट घटकहरूले आ–आफ्नो पार्टीभित्र आत्ममन्थन र आत्मचिन्तन गर्न आवश्यक रहेको बताएका हुन् ।
उनले आत्मचिन्तन र आत्ममन्थन विना एकताको कुरा गर्नु व्यर्थ हुने बताए । उनले भने, ‘नेपालका जति पनि कम्युनिस्ट घटकहरू छन्, ती सबैले आ–आफ्नो पार्टीभित्र आत्ममन्थन गर्नुपर्छ, आत्मचिन्तन गर्नुपर्छ । त्यो आत्ममन्थन गरेर सही निष्कर्षमा पुग्न सक्यौँ भने बल्ल कम्युनिस्टहरूलाई एक ठाउँमा ल्याउन सकिन्छ । नभए भावनाको कुरा गरेर मात्र हुँदैन ।’
उनले अहिलेको यथार्थताको धरातलमा टेकेर र सही ठाउँमा पुगेर व्यापक छलफल बहसहरू चलाएर मिल्न सकिने कुराहरूमा मिलेर अगाडि बढ्नुपर्ने बताए ।
मदन भण्डारीका खुबी र दुरदृष्टिको अनुसरण गर्न सक्नुपर्ने भन्दै उनले वास्तविकताको धरातलमा उभिएर कुनै पनि चुनौतीको सामना गर्न सक्नुपर्छ भन्ने मदनको वास्तविक विशेषतालाई आत्मसात् गरेर अघि बढे कम्युनिस्टहरू एक ठाउँमा उभिनसक्ने बताए ।
उनले वर्तमान सरकारको गतिविधि सन्देहास्पद भएको भन्दै गणतन्त्र र लोकतन्त्र जोगाउन कम्युनिस्टहरूले अग्रसरता लिनुपर्ने बताए । उनले भने, ‘राष्ट्रियतामा ठुलो चुनौती छ । देशभक्त शक्तिहरूलाई पनि एकताबद्ध गर्नुपर्छ । विदेशीले हाम्रो देशमा हालीमुहाली गर्नबाट हामी सतर्क हुनुपर्छ ।’

