आइतबार, साउन १०, २०८३

मन्थलीलाई ‘उत्कृष्ट नगरपालिका पुरस्कार २०८२’ प्रदान

रामेछाप । नेपाल नगरपालिका संघले रामेछापको मन्थली नगरपालिकालाई ‘उत्कृष्ट नगरपालिका’ घोषणा गरी पुरस्कृत गरेको छ।
नगरपालिका संघको ३३ औं स्थापना दिवसको अवसरमा बिहीबार काठमाडौँमा आयोजित कार्यक्रममा आर्थिक वर्ष २०८१/८२ मा स्थानीय आर्थिक विकास क्षेत्रमा उल्लेख्य कार्यसम्पादन गरेको आधारमा बागमती प्रदेशको मन्थली नगरपालिकालाई ‘उत्कृष्ट नगरपालिका पुरस्कार २०८२’ प्रदान गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी)अर्यालले मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठलाई सम्मान-पत्र तथा दोसल्लाले सम्मान गरेका थिए । सम्मान-पत्रमा स्थानीय आर्थिक विकास, सुशासन तथा प्रभावकारी सेवा प्रवाहमा मन्थली नगरपालिकाले हासिल गरेको उपलब्धिको उच्च मूल्याङ्कन गरिएको उल्लेख छ।

देशभरका नगरपालिकाहरूको अध्ययन, सर्वेक्षण तथा मूल्याङ्कन पश्चात् संघले स्थानीय आर्थिक विकास क्षेत्रमा उल्लेख्य कार्यसम्पादन गरेको भन्दै उत्कृष्ट नगरका रूपमा छनोट गरेको हो ।
उक्त सम्मानले मन्थली नगरपालिकाको विकास प्रयासलाई राष्ट्रिय स्तरमा स्थापित गर्न थप सहयोग पुगेको नगर प्रमुख श्रेष्ठले बताए।