काठमाडौं । यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते भएका छन् । तीमध्ये १४ जना उपचारपछि आफ्नो काममा फर्किसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
परराष्ट्र मन्त्रालयले आज बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका सहसचिव रामजी खड्काले इरानले प्रहार गरेको मिसाइल तथा ड्रोन आक्रमणममा परेर हालसम्म १५ नेपाली सामान्य घाइते भएको बताए ।
तीमध्ये एक जना उपचार क्रममा रहेको र उनको अवस्था समेत सामान्य रहेको सहसचिव खड्काले बताए । इजरायल(अमेरिका र इरानबीच आक्रमण(प्रत्याक्रमण भइरहेको छ । इरानले खाडी तथा पश्चिम एसियाका देशहरूमा रहेका अमेरिकी सैन्य बेशक्याम्पमा ड्रोन तथा मिसाइल आक्रमण गर्दै आएको छ ।
ड्रोन आक्रमण क्रममा गोरखाका विवेक श्रेष्ठको यूएईमा मृत्युु भएको थियो । उनको शव नेपाल ल्याएर अन्त्येष्टि समेत गरिसकिएको छ । उनको क्षतिपूर्तिका लागि यूएईस्थित नेपाली दूतावास मार्फत पहल भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । तीबाहेक अन्य क्षेत्रमा रहेका नेपाली भने सुरक्षित रहेको मन्त्रालयले जनाएको छ।
उद्धार गर्न सरकारको चासो
परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले मध्यपूर्वी देशमा रहेका नेपालीको उद्धार गर्न सरकार सक्षम रहेको बताएका छन् ।
इजरायल–अमेरिका र इरानबीचको युद्धका कारण मध्यपूर्वी देशमा रहेका नेपालीहरूको उद्धारका लागि सरकार तयार रहेको बताएका हुन् । बुधबार पत्रकार सम्मेलनमा बोल्दै सचिव राईले ती देशमा समस्यामा परेका नेपालीको उद्धारका लागि सबै सयन्त्र परिचालन गरिने बताए ।

