बुधबार, बैशाख ०९, २०८३

पत्रकार महासंघ दक्षिण कोरिया शाखाको निर्वाचन कार्यक्रम सार्वजनिक

जापान । नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाको आठौँ अधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक भएको छ।
निर्वाचन समितिले आगामी जनवरी ११,२०२६ मा अधिवेशन र मतदान सम्पन्न गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको हो।

निर्वाचन समितिका अनुसार आगामी तीन वर्षे कार्यकाल (२०२६/२०२९) का लागि नयाँ नेतृत्व चयन गर्न जनवरी ५ देखि ७ सम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ। उम्मेदवारको प्रारम्भिक नामावली जनवरी ८ मा प्रकाशन गरिनेछ भने दाबी–विरोध र फिर्ताका लागि जनवरी ९ को समय दिइएको छ। निर्वाचन समितिले जनवरी १० मा उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गर्नेछ।

निर्वाचनका लागि विभिन्न पदमा उम्मेदवारी शुल्क समेत निर्धारण गरिएको छ। अध्यक्ष पदका लागि ५ लाख कोरियन वन शुल्क तोकिएको छ भने वरिष्ठ उपाध्यक्षका लागि ३ लाख, उपाध्यक्ष र महासचिवका लागि २–२ लाख वन तोकिएको छ। यस्तै सचिव र कोषाध्यक्षका लागि १ लाख ५० हजार, सदस्यका लागि १ लाख र केन्द्रीय परिषद् सदस्यका लागि ३ लाख कोरियन वन शुल्क बुझाउनुपर्नेछ।

सहभागी हुन चाहने उम्मेदवारले महासङ्घको सदस्यता कार्ड, कोरियाको आइडी कार्ड र शुल्क बुझाएको भौचर अनिवार्य रूपमा बुझाउनुपर्नेछ।
कोरिया शाखाका पूर्व अध्यक्ष अशोकप्रसाद मैनाली संयोजक रहेको निर्वाचन समितिले निर्वाचन प्रक्रियालाई निष्पक्ष र पारदर्शी बनाउन आफूहरू प्रतिबद्ध रहेको जनाएको छ। उम्मेदवारी फाराम र आवश्यक कागजात इमेलमार्फत पठाउन सकिने व्यवस्था मिलाइएको छ।