सोमबार, बैशाख ०७, २०८३

भेनेजुएलाका राष्ट्रपति मादुरोलाई अमेरिकी अदालतमा,आरोप अस्वीकार

काठमाडौं । भेनेजुएलाका अपदस्थ राष्ट्रपति निकोलस मादुरोलाई पहिलोपटक अमेरिकी अदालतमा उपस्थित गराइएको छ । संघीय लागूऔषध तस्करी तथा ‘नार्को–टेररिज्म’ सम्बन्धी आरोपमा अदालतमा पेश गरिएका मादुरोले सबै आरोप अस्वीकार गर्दै आफू निर्दोष रहेको बताएको बीबीसीले जनाएको छ ।

उनले न्यायाधीश समक्ष अहिले पनि आफू नै भेनुजुएलाको राष्ट्रपति रहेको बताएका छन् । अदालतमा मादुरोले न्यायाधीशसमक्ष भने, ‘म निर्दोष छु । म दोषी होइन । म राम्रो मान्छे हुँ र आफ्नो देशको राष्ट्रपति हुँ ।’ त्यसपछि अदालतले मादुरोको मुद्दामा मार्च १७ मा अर्को सुनुवाइ हुने जनाएको छ ।

लागूऔषध तस्करी गरेको आरोपमा अमेरिकी सेनाले भेनेजुएलाको राजधानी काराकासबाट पक्राउ गरेर मादुरोलाई न्यूयोर्क ल्याइएको थियो । सोमबार नीलो जेल पोशाकमा मादुरो र उनकी पत्नीलाई अदालतमा उपस्थित गराइएको थियो ।

यो प्रारम्भिक कानुनी प्रक्रिया भए पनि यसले मादुरोमाथि अमेरिकामै मुद्दा चलाउन मिल्छ कि मिल्दैन भन्ने विषयमा लामो कानुनी लडाइँ सुरु हुने संकेत गरेको बीबीसीले जनाएको छ ।