मङ्गलबार, माघ १४, २०८२

उत्तर-कोरियाद्वारा पूर्वी सागरतर्फ दुई शक्तिशाली क्षेप्यास्त्र प्रहार, जापानद्वारा कडा निन्दा

टोकियो । उत्तर कोरियाले आइतबार सन् २०२६ को पहिलो ब्यालिस्टिक क्षेप्यास्त्र प्रक्षेपण गर्दै पूर्वी सागर (जापानको सागर)तर्फ दुईवटा क्षेप्यास्त्र प्रहार गरेको छ।
यो प्रक्षेपणले कोरियाली प्रायद्वीपसहित विश्वभर सुरक्षा चासो बढाएको छ।
रोयटर्सका अनुसार यो क्षेप्यास्त्र परीक्षण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले भेनेजुएलामाथि आक्रमण गरेको समयसँगै भएको हो। त्यस्तै, दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङ चीनको राजकीय भ्रमणमा रहेको दिनमै उत्तर कोरियाले क्षेप्यास्त्र प्रहार गरेको जनाइएको छ। ली जे म्युङ बेइजिङमा चिनियाँ राष्ट्रपति सी जिनपिङ सँग शिखर सम्मेलन गर्ने कार्यक्रम रहेको छ, जहाँ कोरियाली प्रायद्वीपमा शान्ति लगायतका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
दक्षिण कोरियाली सेनाका अनुसार प्रक्षेपित क्षेप्यास्त्रहरूले करिब ९०० किलोमिटर दूरी उडान भरेका थिए। जापानले भने दुई क्षेप्यास्त्र क्रमशः करिब ९०० र ९५० किलोमिटर उडेको जनाएको छ। प्रारम्भिक चरणमा यसलाई ‘संदिग्ध ब्यालिस्टिक क्षेप्यास्त्र प्रक्षेपण’ भनेर मूल्यांकन गरिएको थियो।
यस घटनापछि सियोल र टोकियो दुवैले उत्तर कोरियाको कदमको कडा आलोचना गरेका छन्।
जापानी रक्षामन्त्री शिन्जिरो कोइजुमी ले उत्तर कोरियाको क्षेप्यास्त्र प्रक्षेपणले छिमेकी देश, क्षेत्रीय स्थायित्व र अन्तर्राष्ट्रिय समुदायको शान्ति तथा सुरक्षामा गम्भीर खतरा उत्पन्न गर्ने बताएका छन्।