शुक्रबार, साउन २२, २०८३

निर्वाचन सुरक्षा प्रहरीबारे मन्त्रालयमा छलफल गरेर टुंग्याउने तयारी

काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि भर्ना गर्न लागिएको निर्वाचन सुरक्षा प्रहरीबारे गृह मन्त्रालयमा अन्तिम छलफल गरेर टुंग्याउने तयारी अघि बढाइएको छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीले छुट्टा छुट्टै भर्ना गर्ने भन्दै माग गरिएको संख्यामा सोमबार मन्त्रालयले अन्तिम छलफल गरेर टुंगो लगाउने तयारी गरेको मन्त्रालय स्रोतले बतायो ।

दुवै सुरक्षा निकायबाट निर्वाचन सुरक्षा प्रहरी भर्नाबारेको खाकासहितको प्रस्ताव आएको छ ।

निर्वाचन प्रहरीको भर्ना, तिनको संख्या, काम, कर्तव्य, अधिकारसहितको निर्देशिका तयार पारेर दुवै प्रहरी संगठनले मन्त्रालयमा यसअघि नै पेश गरेका छन् । अन्तिम छलफल गरेर टुंगो लगाउने तयारी गरिएको छ । त्यसपछि निर्वाचन प्रहरी भर्नाका लागि दरखास्त आह्वान गर्ने तयारी गरिएको छ ।

यसअघि नेपाल प्रहरीले करिब १ लाख ३२ हजार निर्वाचन प्रहरी भर्ना गर्नुपर्ने माग राखेको थियो ।