सोमबार, माघ ०६, २०८२

प्रधानमन्त्री बनेर गोरुजस्तै जोतिएर देशको सेवा गर्ने मन छ : विप्लव

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव नेत्रविक्रम चन्दले देशको प्रधानमन्त्री भइ देशको सेवा गर्ने चाहना रहेको बताएका छन् ।

काठमाडौंमा शनिबार आयोजित जेन–जीसँग अन्तरक्रिया कार्यक्रममा उनले आगामी निर्वाचनमा नेकपा माओवादीले पनि भाग लिने र जनताले विश्वास गरेमा देशको कार्यकारी भएर काम गर्ने चाहना भएको जिकिर गरे । तर तोकिएकै समय (फागुन २१) मा नेपालमा निर्वाचन हुनेमा उनले आशंका जनाए ।

‘यो देशलाई राम्रो बनाउने हाम्रो सपना छ । हामीले बन्दुक पनि बोक्यौं, जेल पनि गयौँ, किताव पनि पढ्यौँ । अहिले नयाँ उद्योगधन्दा पनि चलाउँछौँ, काम गर्छौँ । यदी नेपालका किसान, मजदुर, बद्धिजिवी, व्यापारी, मध्यम वर्गले, शहरले, गाउँले हामीलाई मौका दिनुहुन्छ भने तिमिहरु एक चोटी गरेर देखाउ न भनेर तपाईंहरूले जिम्मा दिनुहुन्छ भने एकचोटी यो देशको प्रधानमन्त्री भएर, कार्यकारी प्रमुख भएर गोरू जस्तो जोतिएर देशको सेवा गर्ने चाहना पनि नेकपा माओवादीको छ, यो हामी गर्छौं,’ विप्लवले भने ।

सुशीला कार्की नेतृत्वको सरकारले निर्वाचन गर्नेकुरा कसैले नपत्याएको समेत उनको भनाइ छ । प्रहरी, कर्मचारीको मनोबल गिरेको, लुटिएका हतियार फिर्ता नभएको, निर्वाचनको लागि आवश्यक रकम नभएको कारण उल्लेख गर्दै उनले निर्वाचन हुनेमा शंका व्यक्त गरे ।

‘नेपालमा चुनाव हुन्छ कि हुन्न, एउटा शंका छ, सबैलाई । सुशीला कार्कीको सरकारको चुनावको कुरा पनि मान्छेले पत्याईरहेका छैनन् । पुलिसहरुको हतियार कति लुटियो भन्दाखेरी लगभग १६ सय हतियार लुटियो भन्नेछ । त्यो १६ सय हतियारहरु फिर्ता भएको छैन । प्रहरी साथीहरुसँग भेट हुँदा के भन्नुहुन्छ भने, चुनाव गर्न सक्नेगरि प्रहरीको मनोबल उठेको छैन,’ उनले भने ।

सर्वपक्षीय अन्तरिम सरकार गठन गरेर अगाडी बढ्नुपर्नेमा पनि उनले जोड दिए ।