शुक्रबार, साउन २२, २०८३

अहिलेसम्म आफूले कमाएको प्रतिष्ठा दाउमा राखरै पार्टी खोले: घिसिङ

चितवन । उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले अहिलेसम्म आफूले कमाएको प्रतिष्ठा दाउमा राखरै भए पनि पार्टी खोलेर अगाडि बढेको बताएका छन् ।

उज्यालो नेपाल पार्टीको चितवन भेलालाई आज भरतपुरमा सम्बोधन गर्दै कुलमानले कतिपय मान्छेले आफूलाई राजनीति नगर्न सुझाव दिएको भए पनि राजनीति पार्टीबाट नै देशलाई अगाडि बढाउने सोचले राजनीतिमा होमिएको बताए ।

उनले विद्युत् प्राधिकरणमा बसेर आर्जन गरेको ख्याती राजनीति गर्दा गुम्न सक्ने भन्दै आफ्ना शुभेच्छुकले राजनीति नगर्न सम्झाएको स्मरण गरे ।

‘अब मैंले के गर्ने कि त धार्मिक संस्थामा जोडिएर काम गर्न पर्‍यो कि त अरु सामाजिक संघसंस्थामा बसेर काम गर्नुपर्‍यो’, कुलमानले भने, ‘ती संस्थामा बसेर देशमा ठोस परिवर्तन गर्न सकिँदैन भनेर राजनीतिमा लागेँ ।’

उनले देशमा ठूला भनिएका राजनीतिक पार्टीले परिवर्तनमा भूमिका खेले पनि सुशासन र भष्ट्राचार नियन्त्रणमा भूमिका खेल्न नसक्दा जनतामा आक्रोश आएको बताए ।