शुक्रबार, साउन २२, २०८३

मधेशका मुख्यमन्त्री यादवले पाए सिंगो सदनबाट विश्वासको मत

जनकपुरधाम । मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले सिंगो सदनबाट विश्वासको मत पाएका छन् । आज बसेको प्रदेशसभा बैठकमा उनलाई  सदनमा रहेका १० वटै दलका उपस्थित ९२ सांसदले विश्वासको मत दिएका हुन् ।

सत्तापक्षीय सम्पूर्ण दल र प्रमुख‍ प्रतिपक्षी नेकपा एमाले सहितका दलले यादवलाई विश्वासका मत दिएका छन् ।

उपसभामुखको आसनमा बसेर सभा सञ्चालन गरेकी उपसभामुख बबिता राउत इशरले यादवले विश्वासको मत पाएको घोषणा गरिन् ।

नेपाली कांग्रेस नेतृत्वको सातदलीय गठबन्धन घटक जसपा नेपाल, जनमत नेकपा माओवादी केन्द्र, लोसपा, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीले यादवलाई विश्वासको मत दिए ।

यस्तै प्रमुख प्रतिपक्षी एमालेबाहेक सत्ता बाहिर रहेका एक–एक सिटको राप्रपा नेपाल र नेपाल संघीय समाजवादी पार्टी समेतले विश्वासको मत दिए ।

गत मंसिर १९ गते ७ दलीय गठबन्धनको समर्थनमा नेपाली कांग्रेस संसदीय दलका नेता यादव मुख्यमन्त्री नियुक्त भएका थिए ।

उनले गत मंसिर २१ गते पद तथा गोपनियताका शपथ लिएका थिए । उनले सोहीले दिन नेपाली कांग्रेस, जनमत र नेकपा एकीकृत समाजवादीबाट तीन मन्त्री नियुक्त गरेका थिए ।

गत मंसिर २९ गते उनले पुनर्गठन गर्दै नेकपा माओवादी केन्द्र र लोसपालाई समेत सरकारमा सहभागी गराएका थिए । अहिले उनको मन्त्रिमण्डल उनी लगायत ६ सदस्य छन् । ६ वटा मन्त्रालयले पूर्णता पाउन बाँकी छ । विश्वासको पाएसँगै मुख्यमन्त्री यादवले संसदीय गठबन्धनमा भागबण्डा मिलाएर मन्त्रिपरिषद् विस्तार गर्ने छन् ।

१०७ सदस्य मधेश प्रदेशसभामा सरकारको विश्वासको मतको लागि ५४ मत आवश्यक पर्छ । प्रदेश सभामा हाल नेकपा एमालेका २४, नेपाली कांग्रेसका २२, जसपा नेपालका १८, जनमतका १३, नेकपा माओवादी केन्द्रका ९, लोसपाका ८, नेकपा एकीकृत समाजवादीका ७ सांसद छन् । यस्तै राप्रपा नेपाल, नागरिक उन्मुक्ति पार्टी र नेपाल सङ्घीय समाजवादी पार्टीको एक–एक सिट रहेको छ ।