काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी कठिन समय पार गर्दै पुनः सशक्त रूपमा अघि बढेको दाबी गर्नुभएको छ। पार्टीको एघारौँ महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले एमाले खरानीबाट उठेर अजम्बर पार्टी बनेको बताउनुभयो।
अध्यक्ष ओलीले महाधिवेशनमा देखिएको नेताकार्यकर्ताको उपस्थितिलाई महासागरको एउटा थोपा मात्र भएको उल्लेख गर्दै देशभर यस्तै हजारौँ “थोपा” एमाले रहेको दाबी गर्नुभयो। उहाँले पार्टीको संगठन र जनआधार अझै बलियो रहेको बताउनुभयो ।
सम्बोधनका क्रममा ओलीले केही समयअघिको परिस्थितिको स्मरण गर्दै भन्नुभयो, ‘ती दिनहरू काला थिए, देश युद्धभूमि जस्तै देखिन्थ्यो, पुराना पार्टीहरू सकिए, नेताहरू गए, एमालेको सान्दर्भिकता सकियो भन्ने प्रचार गरियो तर, धुवाँ, खरानी र निषेधको अवस्थालाई चिर्दै एमाले अघि बढेको छ, नेकपा एमाले अजम्बर छ ।’
उहाँले एघारौँ महाधिवेशनले पार्टीलाई अझ एकताबद्ध र सशक्त बनाउने विश्वास व्यक्त गर्नुभयो ।
भव्य र्यालीमा पनि भएन जाम
दसौं हजारको जुलुशमा पनि राजमार्ग खासै अवरुद्ध भएन । रयाली राजमार्गको सर्भिस ट्याकबाट आयो । अनि विच भागको मुख्य सडक सवारीसाधनकै लागि भयो । यही अर्थमा पनि खासै जाम भएन । यसमाथि स्वयमसेवकहरुले रयालीमा जाम हुन नदिनमा विशेष भूमिका निभाए । यही कारण पनि जाम भएन । यस अर्थमा पनि एमाले महाधिवेशन सफल भएको मानेका छन् धेरैले ।
महाधिवेशन अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको सल्लाघारीसँगैको नेपाल टष्टको नाममा भएको एक सय ८ रोपनीको खुल्ला चौरमा भएको थियो । यसअघि पूर्वतिरबाट भक्तपुरको जगाती र पश्चिमतिरबाट भक्तपुरको मध्यपुर थिमि गठाघरबाट भव्य रयाली सुरु भएको थियो । कार्यक्रमस्थलबाट दुईदुई किलोमिटर दुरीमा पूर्व र पश्चिममा रहेका दुबै ठाउँबाट भव्य रयाली सल्लाघारीमा पुगेर उदघाटन सत्रमा पुगेको थियो ।
कार्यक्रममा सहभागी पार्टी कार्यकर्ता हीरा श्रेष्ठले झण्डै डेढदेखि दुई लाख कार्यकर्ताहरु उपस्थित भएको कार्यक्रम पनि सभ्य र भव्य रुपमा सम्पन्न भएको खुशी व्यक्त गरिन् ।


