काठमाडौँ । जेनजी प्रदर्शनको क्रममा भदौ २४ मा उच्छृङ्खल गतिविधि गरेको आरोपमा पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर गरिएको छ ।
गृहमन्त्री ओमप्रकाश अर्यालको निर्देशन अनुसार प्रहरी प्रधान कार्यालयले देशभरका प्रहरी कार्यालयहरूमा थुनामा रहेकाहरूलाई ‘हाजिर जमानी’मा रिहा गर्न सर्कुलर गरेको हो । गृह मन्त्रालयका एकजना उच्च अधिकृतका अनुसार आरोपीहरूलाई छाड्न ‘गोप्य सर्कुलर’ जारी गरिएको छ ।
भदौ २४ मा भएको उच्छृङ्खल गतिविधिमा संलग्न आरोपमा अहिलेसम्म ८७२ जना पक्राउ परेका छन् । पक्राउ परेकाहरू विरुद्ध ३९५ थान मुद्दा दर्ता भएको छ ।
काठमाडौँको महाराजगञ्ज र कोटेश्वरमा प्रहरीको हत्यामा संलग्न बाहेक अरूलाई छाड्न सर्कुलर आएको उपत्यका प्रहरी कार्यालयका एकजना अधिकृतले बताए । ती अधिकृतले भने, ‘हत्यामा संलग्न बाहेक अरूलाई रिहा गर्न भनिएको छ ।’
मङ्सिर २४ मा जेनजी अगुवा र सरकारको बिचमा १० बुँदै सम्झौता भएको थियो । सम्झौताको २ नम्बर बुँदामा आन्दोलनमा सहभागी भएकै कारण अनुसन्धान र अभियोजन गरिएका व्यक्तिबारे उजुरी लिएर उच्च स्तरीय जाँचबुझ आयोगले स्क्रिनिङ गर्ने उल्लेख गरिएको थियो ।

