काठमाडौँ । निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि दर्ता भएका १ सय १४ राजनीतिक दललाई निर्वाचन चिन्ह प्रदान गरेको छ । दल दर्ता तथा उम्मेदवारी प्रक्रियामा प्राप्त निवेदनको जाँचबुझपछि आयोगले निर्वाचन चिन्ह प्रदान गरेको हो ।
आयोगका अनुसार हालसम्म १ सय ४३ दल दर्ता रहेका छन् । तर, निर्वाचनमा भाग लिन १ सय २० दलले निवेदन दिएका थिए । छानबिनपछि १ सय १४ दल मात्रै चुनावी प्रतिस्पर्धाका लागि योग्य ठहरिएका छन् ।
आगामी निर्वाचनमा १ सय २ दलले आफ्नै निर्वाचन चिन्ह प्रयोग गर्दै प्रतिस्पर्धा गर्नेछन् । पाँच समूहमा रहेका १२ दल भने संयुक्त (एकल) निर्वाचन चिन्ह लिएर चुनावमा उत्रिनेछन् ।
मतपत्रमा यस पटक कुल १ सय ७ वटा निर्वाचन चिन्ह समावेश हुने आयोगले जनाएको छ । निवेदन दिएका मध्ये १३ दलका निवेदन विभिन्न कारणले खारेज वा फिर्ता भएका छन् ।
आयोगले २०७९ को समानुपातिक निर्वाचनमा प्राप्त मतका आधारमा ११ दलको क्रमसंख्या तोकेको छ । यी ११ दलका क्रमसंख्या अघिल्लो चुनावमा प्राप्त मतकै आधारमा स्वचालित रूपमा निर्धारण गरिएको हो ।
१ नम्बरः नेकपा (एमाले) – सूर्य
२ नम्बरः नेपाली काँग्रेस – रूख
३ नम्बरः नेपाली कम्युनिष्ट पार्टी – पाँचकुने तारा
४ नम्बरः राष्ट्रिय स्वतन्त्र पार्टी – घण्टी
५ नम्बरः राप्रपा – हलो
६ नम्बरः जसपा – ढल्केको छाता
७ नम्बरः जनमत पार्टी – लाउडस्पिकर
८ नम्बरः नागरिक उन्मुक्ति पार्टी – ढकिया
९ नम्बरः लोसपा – साइकल
१० नम्बरः नेपाल मजदुर किसान पार्टी – मादल
११ नम्बरः राष्ट्रिय जनमोर्चा – गिलास
१२ नम्बरदेखि नयाँ दलका चिन्ह, १०० नम्बरमा हाम्रो नेपाल पार्टीको लाइक चिन्ह
सबैभन्दा पहिले १२ नम्बरमा देश विकास पार्टीको लौरो रहेको छ भने १३ नम्बरमा प्रगतिशील लोकतान्त्रिक पार्टीको खुलेको एकल आँखा रहेको छ ।
दर्ता भएका नयाँ चर्चित दलमा ३३ नम्बरमा जेनजी आन्दोलनका खुट्टा गुमाएका राजेश पोर्तेल नेतृत्वको राष्ट्रिय परिवर्तन पार्टीको बासुरी, ५१ औँ नम्बरमा धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई नेतृत्वको श्रम संस्कृति पार्टीको अँजुलीमा रहेको माटो, ५७ औँ नम्बरमा नेत्रबहादुर चन्द नेतृत्वको नेकपा (माओवादी) रहेका छन् ।
यस्तै ६४ नम्बरमा अन्तरिम सरकारका उर्जामन्त्री कुलमान घिसिंग संरक्षक रहेको उज्यालो नेपाल पार्टीको बलिरहेको बिजुलीको चिम, ९१ नम्बरमा पूर्व प्रहरी महानिरीक्षक सवेन्द्र खनाल नेतृत्वको समुन्नत नेपाल पार्टीको हात मिलाएको महिला र पुरुष (समानता), १०० नम्बरमा खगेन्द्र सुनार नेतृत्वको हाम्रो नेपाल पार्टीको गोलाकारभित्र बुढी औला उठाएको लाइक आकृति र अन्तिम तथा १ सय ७ नम्बरमा जनता लोकतान्त्रिक पार्टी नेपालको भैँसी निर्वाचन चिन्ह रहेको छ ।

