काठमाडौ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्ष पदमा उम्मेद्वारी घोषणा गरेका छन् ।
लामो वक्तव्य जारी गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले एघारौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदको उम्मेद्वार बन्ने घोषणा गरेका हुन् । महाधिवेशनमा पार्टी अध्यक्ष पदको उम्मेदवारको रूपमा प्रस्तुत हुने निष्कर्षमा पुगेको छु,’ पोखरेलले भनेका छन्, ‘पार्टी पुनर्गठन र रूपान्तरणका लागि देशभरीका साथीहरूले गर्नुभएको आग्रह र सुझावलाई स्वीकार गरेर अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको हुँ ।’
नेतृत्वमा दाबी गरिरहँदा पोखरेलले आफ्नो पृष्ठभूमि र योगदान सम्झिएका छन् । सामाजिक रूपान्तरण, व्यवस्था परिवर्तन र पार्टी निर्माणका क्रममा लामो र कठोर भूमिगत जीवन बिताएको छु । जेलनेल भोगेको छु, यातना सहेको छु,’ वक्तव्यमा भनिएको छ, ‘संसदीय र राजकीय जिम्मेवारी सम्हालेको अनुभव छ ।
पोखरेलले शक्तिमा नभएर सामूहिकतामा विश्वास गर्ने आधार प्रस्तुत गरेका छन् । राष्ट्र, जनता र पार्टीलाई सदैव शीरमा राखेको छु । जीवनका उचारचढाबहरूमा इमान र निष्ठालाई कहिल्यै डगमगाउन दिएको छैन । यो नै मैले आर्जन गरेको नैतिक बल हो,’ उनको प्रतिबद्धता छ, ‘शक्तिमा होइन । विधि, समन्वय, सामूहिकता र सहकार्यमा म विश्वास राख्छु ।
एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई पार्टीमा फर्किने वातावरण बनाएरै छाड्ने बताएका छन्। एमालेका अध्यक्षमा उम्मेदारी घोषणा गर्दै पोखरेलले उक्त घोषणा गरेका हुन ।

