काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनमा भाग लिन १७ राजनीतिक दलले निर्वाचन आयोगमा दर्ता गराएका छन् । आयोगले सोमबारबाट निर्वाचन प्रयोजनका लागि दल दर्ता सुरु गरेकोमा दोस्रो दिन मङ्गलवार उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा)सहित ५ दल दर्ता भएका हुन् ।
मङ्गलवार दर्ता हुने दलमा हुकुमबहादुर लामा नेतृत्वको नेपाल जनता संरक्षण पार्टी, चन्द्रप्रकाश (सीपी) मैनाली नेतृत्वको नेकपा (माले), उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा), त्रिभुवननाथ पाठक नेतृत्वको नेपाल जनता पार्टी र विजयप्रकाश निषाद नेतृत्वको राष्ट्रिय समता पार्टी नेपाल दर्ता भएका आयोगका सहसचिव एवम प्रवक्ता नारायणप्रसाद भट्टराईले नेपाल प्रेसलाई जानकारी दिए । उनका अनुसार सोमबार पहिलो दिन पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपासहित १२ दल दर्ता भएका थिए ।
यसैबीच आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि दर्ता भएको दलको संख्या ४ पुगेको छ ।
सोमबार ३ दल दर्ता भएकोमा मङ्गलवार उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा) थपिएपछि दर्ता हुनेको संख्या ४ पुगेको हो । राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गरिसक्नुपर्ने अन्तिम मिति मंसिर ७ गते तोकिएको छ ।

