गोरखा । नेकपा (माओवादी केन्द्र) को महाधिवेशन आयोजक कमिटीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेनजी पुस्ताले उठाएका विषयहरू माओवादी आन्दोलनकै निरन्तरता भएको भन्दै ती मुद्दा पूरा गर्न पार्टी प्रतिबद्ध रहेको बताएका छन् ।
आइतबार गोरखामा पार्टीको गोरखा जिल्लास्तरीय कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा प्रचण्डले जेनजी आन्दोलनले उठाएका मुद्दा हामीले विगत संविधानसभा चुनावदेखि उठाउँदै आएको बताएका हुन् ।
उनले भने, ‘जेनजी आन्दोलनले उठाएका मुद्दा हामीले विगत संविधानसभा चुनावदेखि नै उठाउँदै आएका हौँ। अब ती मुद्दा पूरा गर्न हाम्रो पहल र जोड हुनेछ ।’
प्रचण्डले हालको सरकारलाई समर्थन जनाउने निर्णय संविधानसम्मत प्रक्रियामार्फत भएको उल्लेख गरे । उनले भने, ‘केपी ओलीको सिफारिसमा राष्ट्रपतिले बनाएको अन्तरिम सरकारप्रति हामीले समर्थन जनाएका थियौँ, तर हाम्रो मत संसदबाट अनुमोदन गरेर र संविधान संशोधन गरेर मात्र संसद विघटन गरौँ भन्ने थियो ।’
उनले सबै राजनीतिक दललाई निर्वाचन तयारीमा जुट्न आग्रह गरे । उनले भने, ‘अब चुनाव घोषणा भइसकेको अवस्थामा चुनाव सफल पार्नु नै हाम्रो पहिलो कार्यभार हो । सरकारलाई निष्पक्ष निर्वाचनको वातावरण बनाउन आग्रह गर्दछु । चुनाव हुनेछ कि हुँदैन भन्ने होइन, अब चुनावमा लाग्नु बाहेक कुनै विकल्प छैन ।’

